दसैंका लागि पोखरा भित्रिए हिमाली भेडाच्यांग्रा
पोखरा : दसैंका लागि पोखरामा हिमाली भेडा–च्यांग्रा भित्रिएका छन्। हिमालपारिका जिल्ला मुस्ताङ, डोल्पा, मुगु, हुम्ला जुम्लाबाट दसैंका लागि पोखरामा भेडा–च्यांग्रा ल्याइएका हुन्। हिमाली क्षेत्रका उच्च हिमाली क्षेत्रमा हुँर्केका भेडा–च्यांग्रा स्वास्थ्यवर्धक हुने विश्वासमा दसैंमा पोखरेलीले हिमाली च्यांग्रा
बढी खाने गर्छन्।
यसैले पोखरामा हिमाली क्षेत्रका विभिन्न जिल्लाबाट पोखरामा भेडा–च्यांग्रा आउने गर्दछ। पोखरामा गत वर्ष १८ हजार बढी भेडा–च्यांग्रा भित्रिएको र यो वर्ष आउने क्रम जारी रहेको भेटनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताए।
कास्कीमा छुट्टै क्वारेन्टाइन नभएकाले व्यवसायीसँग नै कति भेडा–च्यांग्रा, खसी बोका भित्रिए भन्ने तथ्यांक माग्ने गरिएको छ। यसैले पोखरामा यति नै भेडा–च्यांग्रा भित्रिन्छन् भन्ने एकिन तथ्यांक भने नरहेको पशु सेवा विज्ञ केन्द्रका अधिकारीले जनाएका छन्। पोखरामा भेडा–च्यांग्राका साथै खसी, बोका, माछा र कुखुरा पनि भित्रन्छन्।
मुस्ताङबाट बाहिरिए १४ हजार ६ सय ६८ भेडा–च्यांग्रा
हिमाली जिल्ला मुस्ताङबाट मंगलबार बिहानसम्म १४ हजार ६ सय ६८ भेडा–च्यांग्रा बाहिरिएका छन्। मुस्ताङलगायत हिमाली जिल्लाबाट बाहिरिने भेडा–च्यांग्रामा अधिकांश पोखरामा खपत हुने गर्दछ।
मुस्ताङ जिल्लामा डोल्पाबाट ५९ सय, मुगुबाट ५ सय, जुम्लाबाट ७ सय ७५, मुस्ताङबाट ६ हजार ९ सय ४३ र कोरला नाकाबाट ५ सय ५० वटा गरी १४ हजार ६ सय ६८ भेडा–च्यांग्रा व्यवसायीले ल्याएर बिक्रीका लागि जिल्लाबाट बाहिरिएको भेटनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र मुस्ताङका प्रमुख डा.लालमणि अर्यालले जानकारी दिए। मुस्ताङबाट १२ हजार ६ सय २५ च्यांग्रा र २ हजार ८ सय ७५ भेडा बाहिरिएको पनि अर्यालले जानकारी दिए।
अघिल्ला वर्षहरूमा तिब्बतबाट भेडा–च्यांग्रा ल्याउन रोकिएकोमा यस वर्ष कोरला नाकाबाट पनि भेडा–च्यांग्रा भित्रिएका हुन्। मुस्ताङमा विभिन्न हिमाली जिल्ला र तिब्बतबाट भित्रिने भेडा–च्यांग्राको स्वास्थ्य चेक जाँच गरी स्वस्थ्य भेडा–च्यांग्रा जिल्लाबाहिर पठाउने गरिएको पनि डा.अर्यालले बताए। पोखरामा गत वर्षभन्दा कम मूल्यमा भेडा–च्यांग्रा पाइएको उपभोक्ता सुजन अधिकारीले बताए। गत वर्ष उति नै साइजको च्यांग्रा ४५ हजारमा खरिद गरेकामा यस वर्ष ३८ हजामार किनेको पनि उनले सुनाए।
यस वर्ष तिब्बतबाट समेत भेडा–च्यांग्रा आएको भएर पनि केही सस्तो भएको हुन सक्ने उनले बताए। हुम्लाबाट ३०/३२ हजारमा च्यांग्रा किनेर ल्याएको र यहाँ ३५/४० हजारमा बिक्री गरिरहेको व्यवसायी धनमानले बताए। व्यवसायीले २५ हजारदेखि ३०, ३५ हजार रुपैयाँसमम्म तिरेर भेडा–च्यांग्रा ल्याएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !