एससीओको सदस्यता दिलाउन चीनसँग प्रधानमन्त्री ओलीको आग्रह

एससीओको सदस्यता दिलाउन चीनसँग प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनको तियान्जिन शहरमा चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटवार्तामा दुवै नेताले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षबारे विचार–विनिमय गर्दै आपसी लाभ हुने सहकार्यलाई आगामी दिनमा अझ प्रगाढ बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।  

प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासहरूमा चीनले दिएको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै पाँच सिद्धान्तका आधारमा रहेका नेपाल–चीन सम्बन्ध विगतदेखि  समस्यामुक्त रहेको बताएको चीनस्थित नेपाली दूतावासले जनाएको छ।  

दूतावासका अनुसार प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ)को सदस्यता दिलाउन चीनसँग आग्रह गरेका छन्। 

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ,ʻप्रधानमन्त्री ओलीले पहिल्यै सहमति भएका परियोजनाहरू, विशेषगरी बिआरआईअन्तर्गत रहेका योजनाहरू छिट्टै कार्यान्वयन गर्न आशा व्यक्त गर्दै मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु अनुकूलता तथा जनस्तरबीचको सम्पर्कलगायत क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो।ʼ

यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसमक्ष भारत–चीनबीच हालै लिपुलेक मार्ग हुँदै सीमा व्यापार सम्बन्धी भएको समझदारीको प्रसङ्ग उठाएका छन्।  प्रधानमन्त्री ओलीले सो भूभाग नेपालको क्षेत्रभित्र पर्ने उल्लेख गर्दै यस विषयमा नेपाल सरकारले कडा आपत्ति जनाएको जानकारी दिए।

राष्ट्रपति सी चिनफिङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न चीनले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघ तथा एससीओसहित बहुपक्षीय मञ्चमा पनि नेपालसँग सहकार्य गर्ने उल्लेख गरे। 

राष्ट्रपति सीले  ‘एक–चाइना नीतिप्रति’ नेपालले देखाउँदै आएको दृढताप्रति आभार व्यक्त गरे। यस्तै दुवै देशबीच सहमति भएका उच्चस्तरीय बेल्ट एन्ड रोड इनिसियटिभ परियोजना कार्यान्वयन गर्ने विषयमा निरन्तर समर्थन रहने बताए।

प्रधानमन्त्री ओली आज दिउँसो तियान्जिन बिनहाई अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा चीनको जनरल प्रशासन अफ कस्टम्सकी मन्त्री तथा पार्टी सचिव सुन्न मेइजुन, तियान्जिन पीपल्स कांग्रेसका अध्यक्ष यु युनलिन तथा चीनस्थित नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले उनलाई स्वागत गरे।

प्रधानमन्त्री ओलीले भोलिदेखि सुरु हुने एससीओ सम्मेलनका अवसरमा विभिन्न मुलुकका नेताहरूसँग भेटवार्ता गर्नेछन्। यस्तै राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेंग लियुआनद्वारा आयोजना गरिने स्वागत भोज तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.