मानव अधिकार उल्लंघनमा दोषी ठहरिएकालाई दिइएन सजाय

मानव अधिकार प्रतिवेदन २०२४ नेपाल

मानव अधिकार उल्लंघनमा दोषी ठहरिएकालाई दिइएन सजाय
सुन्नुहोस्

काठमाडौं : नेपाल सरकारले मानव अधिकार उल्लंघन गर्ने अधिकारीहरूको अनुसन्धान गर्न विश्वसनीय कदम चाले तापनि दोषी ठहरिएकालाई निरन्तर सजाय नदिएको मानव अधिकार प्रतिवेदनले जनाएको छ । 

अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको नेपालको २०२४ को मानव अधिकारको अवस्थाबारे एक प्रतिवेदनले उक्त अवस्था औंल्याएको हो । गत वर्षभरि नेपालको मानव अधिकारको अवस्थामा कुनै उल्लेखनीय परिवर्तन नआएको रिपोर्टमा उल्लेख छ । 

मानव अधिकार प्रतिवेदनले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मानव अधिकार र कामदार अधिकारको स्थितिलाई समेट्छ । अमेरिकी विदेश मन्त्रालयले सन् १९६१ को विदेशी सहायता ऐन र सन् १९७४ को व्यापार ऐनअनुसार सहयोग प्राप्त गर्ने सबै देशहरू र संयुक्त राष्ट्र संघका 

सबै सदस्य राष्ट्रहरूको प्रतिवेदन अमेरिकी कांग्रेसलाई बुझाउँछ । 

प्रतिवेदनले महत्वपूर्ण मानव अधिकार मुद्दाहरूमा स्वेच्छाचारी वा गैरकानुनी हत्या, यातना, क्रूर, अमानवीय वा अपमानजनक व्यवहार, सजाय, स्वेच्छाचारी नजरबन्द, अभिव्यक्ति स्वतन्त्रता र मिडिया स्वतन्त्रता, पत्रकारहरूविरुद्ध हिंसा र अनुचित गिरफ्तारी, मानव बेचबिखन, बालविवाहलगायतका विषयलाई समेटेको छ । कारागार अधिकारीहरूद्वारा कथित स्वेच्छाचारी र गैरकानुनी हत्या गरिएको रिपोर्टहरू केही नागरिक समाजले गरेका थिए । यद्यपि ती घटनाहरूको आधिकारिक अनुसन्धान भइरहेको जनाइएको छ । सरकारी अधिकारीहरूबाट जबरजस्ती गर्भपतनको कुनै रिपोर्ट नआएको प्रतिवेदनमा उल्लेख छ । 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता
सरकारले मिडियाको सुरक्षा र स्वतन्त्रता जोगाउन पर्याप्त प्रयास नगरेको प्रतिवेदनमा उल्लेख छ । नेपालको संविधान र कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको व्यवस्था गरेकोमा सरकारले सामान्यतया उक्त अधिकारको सम्मान गरे पनि संविधान र कानुन दुवै अस्पष्ट भएकाले सरकारले अभिव्यक्ति स्वतन्त्रता र प्रेसमाथि प्रतिबन्ध लगाउने अधिकार पाएको जनाइएको छ ।

सरकारले तिब्बतीहरूलाई सांस्कृतिक रूपमा महत्वपूर्ण कार्यक्रमहरू मनाउनबाट रोक्ने प्रयास स्वरूप देशमा रहेका तिब्बती समुदायका सदस्यहरूको अभिव्यक्ति स्वतन्त्रता सीमित गरेको प्रतिवेदनमा उल्लेख छ । भ्रष्टाचारको बारेमा रिपोर्ट गर्ने पत्रकारहरूमाथि धम्की र आक्रमणका धेरै घटनाहरू भएका पनि जनाइएको छ । 

कामदार अधिकार
सरकारले सार्वजनिक क्षेत्रमा लागू हुने श्रम कानुनहरू प्रभावकारी रूपमा लागू गरे पनि निजी क्षेत्रमा नगरेको प्रतिवेदनमा उल्लेख छ । निजी क्षेत्र त्यसमा पनि विशेष गरी अनौपचारिक अर्थतन्त्रमा, सरकारले प्रायः कानुन र नियमहरू लागू गर्न असफल भएको जनाइएको छ । सरकारले न्यूनतम ज्याला, ओभरटाइम, र व्यावसायिक सुरक्षा र स्वास्थ्यसम्बन्धी कानुनहरू प्रभावकारी रूपमा लागू नगरेको जनाइएको छ । 

नेपालको न्यूनतम ज्याला विश्व बैंकको २०२२ को अन्तर्राष्ट्रिय गरिबी रेखाभन्दा धेरै कम रहेको जनाइएको छ । आइएलओको प्रतिवेदनहरूले बाल श्रम र पूर्व बधुँवा मजदुरहरूमाझ निरन्तर ज्यालाका मापदण्ड उल्लंघनहरू गरिएको पाइएको रिपोर्टले संकेत गरेको छ । सरकारसँग व्यावसायिक सुरक्षा र स्वास्थ्यसम्बन्धी प्रावधानहरू लागू गर्न कुनै नियामक निकाय वा प्रशासनिक संरचना नभएको उल्लेख छ ।
कार्यस्थलमा सुरक्षा मापदण्डहरूको कार्यान्वयन न्यूनतम रहेको र अनुगमन कमजोर रहेको रिपोर्टले औंल्याएको छ । । कार्यस्थलमा हुने मृत्यु र दुर्घटनाहरूको सही तथ्यांक उपलब्ध नभएको उल्लेख छ ।

सरकारले अत्यावश्यक सेवाहरूमा हडतालहरू प्रतिबन्धित गरे तापनि, अस्पताल, शिक्षा सेवाहरू र यातायात क्षेत्रका कामदारहरूले कहिलेकाहीँ हडतालहरू गरेका र उनीहरूले कुनै कानुनी दण्डको सामना नगरेका प्रतिवेदनमा उल्लेख छ । धेरैजसो युनियनहरू राजनीतिक दलहरूसँग नजिकको सम्बन्ध भए पनि उनीहरूले कामदारहरूको अधिकारलाई अगाडि बढाउन प्रभावकारी रूपमा काम गरेको जनाइएको छ । सरकारले कामदार संगठनहरूको काममा हस्तक्षेप नगरेको र युनियन नेताहरूलाई पनि धम्की नदिएको उल्लेख छ ।

जनसंख्याको ७० प्रतिशतभन्दा बढी अनौपचारिक अर्थतन्त्रमा संलग्न रहेका र ९० प्रतिशतभन्दा बढी महिला घरेलु कामसहित अनौपचारिक क्षेत्रमा कार्यरत रहेको पाइयो । यद्यपि अनौपचारिक क्षेत्रमा श्रम कानुनको कार्यान्वयन न्यूनतम रहेको र अनुगमन पनि उत्तिकै कमजार रहेको प्रतिवेदनमा उल्लेख छ ।

बेपत्ता र अपहरण
यस वर्ष सरकारी अधिकारीहरूद्वारा वा उनीहरूको तर्फबाट जबरजस्ती बेपत्ता पारिएको कुनै रिपोर्ट नआएको जनाइएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयले देशमा द्वन्द्वको क्रममा १३,००० व्यक्ति मारिएको र १,३०० बेपत्ता पारिएको अनुमान गरेको भए पनि यसमध्ये धेरैको विवरण नभएको रिपोर्टमा उल्लेख छ । कानुनले स्वेच्छाचारी गिरफ्तारी र थुनामा राख्न निषेध गरे तापनि सरकारले पालना नगरेको जनाइएको छ । 

बालविवाह
कानुनले २० वर्ष नपुगेका पुरष र महिला दुवैका लागि विवाह निषेध गरेको छ । तर देशमा बालविवाह र बालविवाहपछि बच्चा जन्माउने उच्च दर रहेको रिपोर्टले जनाएको छ । प्रतिवेदनका अनुसार सामाजिक, आर्थिक र सांस्कृतिक मूल्यमान्यताहरूले बाल विवाह र जबरजस्ती विवाहको प्रचलनलाई बढावा दिएको छ ।

जुन विशेष गरी दलित र मधेसी समुदायहरूमा बढी देखिन्छ । बाल विवाह र जबरजस्ती विवाहको अभ्यासले शिक्षामा छात्राको पहुँच सीमित गरेको जनाइएको छ । यसले गर्दा यौनकार्यका लागि बेचबिखन सहित घरेलु हिंसा र यौन दुव्र्यवहारको संवेदनशीलता पनि बढाएको रिपोर्टमा उल्लेख छ । अभिभावकको जानकारी वा सहमति बिना नै बालबालिका र युवाहरूले पनि सानै उमेरमा विवाह गर्ने प्रवृत्ति बढ्दै गएको प्रतिवेदनले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.