खोटाङको च्यास्मिटारमा पहिरो : सयौं यात्रु र सवारी साधन अलपत्र
खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मिटारमा पहिरोले सडक पुरेपछि खोटाङ- भोजपुरबाट काठमाडौं जाने यातायात प्रभावित भएका छन् । सोमबार बिहान पहिरोले सडक पुरेपछि खोटाङ देखि काठमाडौं,धरान- विराटनगर जाने यातायातका साधन बिचबाटोमै अलपत्र परेका छन् ।
पहिरोले मध्यपाहाडी लोकमार्गअन्तर्गतको दिक्तेल-जयरामघाट सडको च्यास्मिटार सडकखण्ड पुरेका कारण यातायातका साधन सञ्चालनमा अवरोध पुगेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन खोटाङका सचिव रन्जन खडकाले बताए । सडक नखुलेका कारण सयौं यातायातका साधन बिचबाटोमा अलपत्र परेको उनले बताए ।
विभिन्न जिल्ला र भारतबाट हलेसी महादेव मन्दिरको दर्शन गर्न आएका तिर्थयात्री पनि घर फर्कन पाएका छैनन् । पहिरोले भोपुरबाट काठमाडौं जाँदै गरेका यातायातका साधन पनि अलपत्र परेका छन् । दिक्तेलबाट काठमाडौं उपचारका लागि हिँडेका जेष्ठ नागरिक डिल्लिप्रसाद आचार्यले आफू समस्यामा परेको बताए। उनले तत्काल पहिरो पन्छाउन माग गरे।
पहिरो पन्साउन दुईवटा जेसीभी प्रयोग गरिएको भएपनि पन्छाउन सकिएको छैन । सडकमा ठूल्ठूला ढुंगा खसेका कारण पहिरो पन्साउन समस्या भएको इलाका प्रहरी कार्यालय हलेसिका प्रहरी निरीक्षक हेमन्त राईले बताएका छन । उनले पहिरो पन्साउन जेसिभीसहित प्रहरी परिचालन गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस !