किताब बेचेर महावीरले जुटाए १६ करोड ३५ लाख, बन्द कृषि कारखाना पुनः सञ्चालन गर्ने

किताब बेचेर महावीरले जुटाए १६ करोड ३५ लाख, बन्द कृषि कारखाना पुनः सञ्चालन गर्ने
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नै आत्मकथाको पुस्तक बेचेर अहिलेसम्म १६ करोडभन्दा बढी रकम  जुटाएका छन् । दुई दशकदेखि बन्द वीरगन्ज कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आवश्यक रकम सरकारले सम्झौता गरेर पनि दिएन । त्यसपछि आविष्कार केन्द्रका अध्यक्ष पुन आफैंले आफ्नो आत्मकथा लेखेर पुस्तक बेच्न सुुरु गरे ।

हालसम्म ४३ जिल्लामा पुगेर पुस्तक बेचेका पुनले बिक्रीबाटै अहिलेसम्म  १६ करोड ३५ लाख रुपैयाँ संकलन गरिसकेको जानकारी दिए । उनले हालसम्म २ लाख  १८ हजार थान पुस्तक बेचिसकेको बताए । उनका अनुसार एउटा पुस्तकको मूल्य ७ सय ५० रुपैयाँ तोकिएको छ । 

२०८० पुसदेखि पुस्तक बिक्री गर्न देश दौडाहा सुरु गरेका पुनले गत असारसम्म ४३ जिल्लामा पुगेर २ लाख १८ हजार थान बिक्री गरिसकेको बताए । अब बाँकी रहेका ३४ जिल्लामा पनि पुग्ने योजना रहेको उनले सुनाए । सोभियत संघ रुसको सहयोगमा २०२१ सालमा स्थापित सरकारी स्वामित्वको वीरगन्ज कृषि औजार कारखाना निरन्तर घाटामा गएको भन्दै सरकारले २०५९ सालमा पूर्ण रूपमा बन्द गरिदिएको थियो । 

दुई दशकदेखि बन्द उक्त कारखाना पुनः चलाउन  भन्दै संघ सरकारले २०७९ भदौ ३१ मा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय गरेपछि आविष्कार केन्द्र र अर्थ मन्त्रालयबीच २०७९ असोज ११ गते सम्झौता भएको थियो । उक्त सम्झौतापत्रमा कारखानाको मर्मतसम्भारलगायत कामका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले आविष्कार केन्द्रलाई उपलब्ध गराउनुपर्ने उल्लेख थियो । कारखाना पुनः सञ्चालनका लागि विकल्प सुझाउन कृषि मन्त्रालयले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा कारखाना मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउन ३० करोड रुपैयाँ आवश्यक पर्ने उल्लेख गरिएको थियो । तर, अर्थ मन्त्रालयले आवश्यक बजेट दिन चासो नै नलिएपछि आविष्कार केन्द्रका अध्यक्ष पुनले आवश्यक रकमको जोहो गर्न आफैं अगाडि सर्दै आफ्नो आत्मकथाको पुस्तक बेच्न २०८० पुसदेखि देश दौडाहा अभियान सुरु गरेका हुन् । 

केन्द्रले कारखानाको मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याइसकेको छ । कारखानाले हाल कृषि औजार र उपकरणहरू उत्पादन गरेर बिक्री पनि गर्दै आइरहेको छ । कारखाना सञ्चालनको जिम्मा लिएको राष्ट्रिय आविष्कार केन्द्रका  इन्जिनियर रितेश देवले कारखानामा जेठ पहिलो सातादेखि नै विभिन्न कृषि  औजार र उपकरणहरू उत्पादन गरेर बिक्री सुरु गरिएको बताए ।

उनका अनुसार  कारखानामा हाल धान रोप्ने उपकरण ‘राइस प्लान्टर’, धान रोप्ने हाते ट्याक्टर  चलाउन तथा हिलोको झारपात हटाउन उपयोगी हुने उपकरण ‘प्याडी विडर केज  ह्विल’, कोदो रोप्ने  मेसिन ‘मिलेट प्लान्टर’, माछा पालनमा उपयोगी हुने  ‘फिस इन्क्युवेटर’, ‘अक्सिजन टावर’लगायत उपकरण व्यावसायिक रूपमै उत्पादन गरेर   बिक्रीवितरण भइरहेको छ ।

‘प्याडी विडर केज हिल’ उपकरण हालसम्म १ सयभन्दा बढी नै बिक्री भइसकेको र थप ५ सय थानका लागि अर्डरसमेत आइसकेको उनले बताए । केन्द्रले उत्पादन गरी बिक्रीवितरण गरिरहेका यी उपकरणहरू हालसम्म नेपालमै पहिलोपटक  उत्पादन भएको पनि इन्जिनियर देवले बताए । यसअघि यी उपकरण भारत र चीनबाट  आयात  हुँदै आएको भन्दै देवले अब नेपालमै उत्पादन हुन थालेकाले विदेशीभन्दा  सस्तो र बलियो पनि रहेको दाबी गरे । 

कृषि औजार कारखानामा अहिले धान काट्ने रिपर, आलु खन्ने डिगर, आलु रोप्ने प्लान्टर, गोबर पेल्ने डङ्ग डिवाटरिङ, प्लास्टिक बनाउने मल्चर, सुक्खा घाँस काट्ने, धान गोड्ने, खन्ने आदि काम गर्ने विडर मेसिनको सफल परीक्षण उत्पादन गरिसकेको देवले बताए । 

यस्तै,  परम्परागत कृषि औजारहरू कुटो, कोदालो, चाप कटर आदि ससाना कृषि  उपकरण पनि उत्पादन गरिरहेको उनले सुनाए । उनका अनुसार केन्द्रले गत वैशाख  अन्तिम सातामा धातुको खिया सफा गर्ने, काट्ने र वेल्डिङ गरी तीनवटै काम  एकसाथ गर्ने लेजर वेल्डिङ मेसिन १८ लाख रुपैयाँमा चीनबाट खरिद गरेर कृषि  औजार कारखानामा ल्याइएको छ ।

यस्तै, केन्द्रले गत कात्तिक पहिलो साता ५०  लाख रुपैयाँमा ‘सीएनसी फाइबर लेजर सिट कटिङ’ मेसिन चीनबाटै खरिद गरेर  ल्याएको देवले जानकारी दिए । ‘कृषि औजार र उपकरणहरू उत्पादन गर्न आवश्यक  पर्ने फलामे पातालाई आवश्यकताअनुसार सहजै काट्न सक्ने यो मेसिन कारखानाका  लागि अत्यावश्यक नै थियो । त्यसैले यो मेसिन पनि चीनबाट किनेर ल्यायौं’,  उनले भने । 

इन्जिनियर देवले भने, ‘कारखाना मर्मत गरी पुनः सञ्चालनमा ल्याउन  लागेको सबै खर्च केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बिक्री  गरेर संकलन गरेको रकमबाटै जोहो भइरहेको छ ।’ देवका अनुसार कृषि  औजार कारखानामा हाल मेकानिकल, इन्डस्ट्रियल र इलेक्ट्रिकल इन्जिनियर, मेकानिकल  ओभरसियर र फेब्रिकेटर टेक्निसियन गरी ३७ जना जनशक्ति कार्यरत छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.