वीरगन्जको मेनरोडमा आजदेखि फेरि चल्यो डोजर
वीरगन्ज : त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगन्जको मेन रोड (मुख्य सडक)को क्षेत्रमा रहेका संरचनाहरूमाथि शुक्रबारदेखि फेरि डोजर चलेको छ।पहिलो चरणमा गत वैशाख ६ र ७ गते डोजर चलाएपछि करिब अढाई महिनादेखि अलपत्र परेको मेनरोड विस्तारको काम शुक्रबारदेखि फेरि सुरु गरिएको हो।
गत वैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ-बायाँ २५/२५ मिटर) पर्ने घर, भवन लगायतका संरचना डोजर लगाएर भत्काएको थियो। त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र खाली गर्न अनुरोध गर्दा पनि सम्बन्धित घरजग्गा धनीहरूले खाली नगरेपछि सडक विभागले शुक्रबारदेखि फेरि डोजर लगाएर बाँकी संरचनाहरु हटाउन सुरु गरेको हो।
शुक्रबारदेखि वीरगन्जको गण्डक चोकदेखि फेरि डोजर लगाएर सडक क्षेत्रभित्र परेका संरचनाहरू हटाउन थालिएको सडक डिभिजन हेटौंडाका प्रमुख किरण कार्कीले जानकारी दिए। यसअघि असार २ गते सडक विभाग मातहतको सडक डिभिजन हेटौंडाले सूचना जारी गर्दै ५ दिनभित्रमा घरजग्गा धनीहरू आफैले सडक सीमा क्षेत्रमा पर्ने संरचनाहरू खाली नगरे सडक विभागले सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्यअन्तर्गत सडक सीमा क्षेत्रभित्र रहेका बाँकी संरचनाहरू हटाउने जानकारी गराएको थियो।
त्रिभुवन राजपथको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोक सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ बायाँ २५/२५ मिटर सडक सीमा संरक्षण कार्य गत बैशाख ६ गतेबाट प्रारम्भ गरेकोमा उक्त कार्यपश्चात् पनि क्षतिग्रस्त भवनहरू घरधनी आफैले नहटाएकाले सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्य अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाहरू शुक्रबारदेखि फेरि हटाउन थालिएको कार्कीले बताए।
गत वैशाख ६ र ७ गते सडक विभागले गण्डक चोकदेखि मितेरी पुलसम्मको मेनरोड क्षेत्रमा दायाँ-बायाँ २५/२५ मिटर सीमामा पर्ने करिब १ हजार २०० घर र भवनमा डोजर चलाएर आंशिक रूपमा भत्काएको थियो। त्यसपछि केही घरधनी आफैले २५/२५ मिटर क्षेत्रमा पर्ने घरहरू भत्काएका थिए। तर, घण्टाघरदेखि माईस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मको मेनरोड क्षेत्रका अधिकांश घर र भवनहरू भने घरधनीहरूले भत्काएका छैनन्।
यता वैशाख ६ र ७ गते सडक विभागले डोजर चलाएपछि मेनरोड क्षेत्रका घरधनीहरूले सडक विस्तार कार्य रोक्न माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन्। सडक विस्तार कार्य रोक्नुपर्ने र मेनरोडलाई शहरी मार्ग कायम गर्नुपर्ने उनीहरूको माग छ।
बिहीबार मात्रै पर्सा-१ का सांसद हरि पन्तसहित वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीको टोलीले काठमाडौंमा रास्वपाका सभापति रवि लामिछानेलाई भेटेर मेनरोडलाई शहरी मार्ग घोषणा गरेर १५/१५ मिटरमात्रै विस्तार गर्न माग गरेको थियो।
प्रतिक्रिया दिनुहोस !