अब उपचारमा अब्बल कर्णाली
एक समय थियो, कर्णालीमा सिटामोल पनि पाइन्नथे। जीवन जल नपाएर बिरामीको मृत्यु हुन्थ्यो। यहाँ डाक्टर आउनै मान्थेनन्। आइहाले पनि टिक्थेनन्। उपचारै नपाएर बिरामीले ज्यान गुमाउँथे। तर अहिले अवस्था फेरिएको छ। हिजो सिटामोलसमेत नपाउने कर्णालीले आज विशेषज्ञ डाक्टर उत्पादन गर्न थालेको छ।
केही वर्ष अघिसम्म कर्णालीवासीले बिरामी हुँदा उपचार पाउनै मुस्किल थियो। सामान्य रोगको उपचार पनि सम्भव थिएन। यहाँका बिरामी उपचारका लागि नेपालगन्ज, काठमाडौं र भारतको लखनउसम्म पुग्थे। उपचार नहुँदा नागरिकले हैरानी मात्र भोगेनन्, धेरैले उपचार अभावमा ज्यानै गुमाए। तर देशमा व्यवस्था फेरिएसँगै कर्णालीमा नागरिकको स्वास्थ्य अवस्था पनि बदलियो। अर्थात् हिजो उपचारका लागि डाक्टर पठाइदिन सिंहदरबारसँग हारगुहार गर्ने कर्णाली गणतन्त्र स्थापनापछि आज आफैंले विशेषज्ञ डाक्टर उत्पादन गरेर पठाउन थालेको छ।
गणतन्त्रको उपहारस्वरूप कर्णालीले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पायो। त्यसको बदलामा आज कर्णालीले देशलाई मात्र होइन, विदेशलाई समेत दक्ष चिकित्सक दिन थालेको छ। २०६८ सालमा जुम्लामा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल चिकित्सा शिक्षा पढाइ रहेको छ। प्रतिष्ठानमा डाक्टरी पढाइ हुन थालेपछि कर्णालीले झेल्दै आएको विशेषज्ञ चिकित्सकको अभाव टर्न थालेको छ। त्यतिमात्र होइन, हिजो उपचारका लागि औषधि र डाक्टर माग्ने कर्णाली आज विशेषज्ञ डाक्टर उत्पादन गरेर बाहिर पठाउन सफल भएको हो। रोग, भोक र अभावको बिम्ब बनेको कर्णालीको परिभाषा बदल्ने गरी प्रतिष्ठानले अहिले दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गरिरहेको छ। जसले गर्दा कर्णालीको स्वास्थ्य अवस्थामा समेत सुधार आउन थालेको छ।
जुनबेला जुम्लामा प्रतिष्ठान स्थापना भयो, त्यसबेला कर्णालीले सिंहदरबारसँग विशेषज्ञ डाक्टरका लागि हारगुहार नै गर्नुपर्ने अवस्था थियो। झाडापखाला र हैजाको महामारीमा पनि डाक्टर आउन मान्थेनन्। यसकारण पनि दुर्गमका बिरामीले उपचार नपाएर अकालमै ज्यान गुमाइरहेका थिए। यस्तो बेलामा कर्णालीमै डाक्टरी पढाइ हुन्छ भन्दा धेरैले पत्याएनन्। कतिपयले दुर्गममा डाक्टर पढाउने योजनालाई असम्भव भने। तर आज त्यही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ डाक्टर उत्पादन गरेर उपचारमा पठाउन सुरु गरेको छ। डाक्टरको अभाव झेल्दै आएका दुर्गमका जिल्लामा विशेषज्ञ डाक्टर खटाएर प्रतिष्ठानले बिरामीको ज्यान जोगाउन थालेको हो। यही प्रतिष्ठानले नै हाल ३ सय शय्याको शिक्षण अस्पताल सञ्चालन गरेर दुर्गमका नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा समेत दिइरहेको छ। जसले गर्दा आज सिंहदरबारसँग डाक्टरका लागि हारगुहार गर्नेपर्ने बाध्यतासमेत टरेको छ।
पहिलो चरणमा ५८ जना दीक्षित
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल शिक्षा सुरु गरेयता पहिलो चरणमा ५८ जना विद्यार्थी दीक्षित भएका छन्। प्रतिष्ठानमा अध्ययन गरेकामध्ये हालसम्म ५८ जनाले स्नातक र स्नातकोत्तर तहको अध्ययन पूरा गरेको प्रतिष्ठानले जनाएको छ। अध्ययन पूरा गरेको जनशक्तिले कामसमेत सुरु गरिसकेको प्रतिष्ठानको भनाइ छ।
अध्ययन पूरा गरेका विद्यार्थी गत कात्तिक २८ गते भएको दीक्षान्त समारोहमा दीक्षित भएका थिए। उनीहरूलाई प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित गरेका थिए। पहिलो पटक भएको दीक्षान्त समारोहबाट स्नातकोत्तर तहमा ५ जना र स्नातक तहमा ५३ जना गरी ५८ जना दीक्षित भएका हुन्। जसमा एमडीएमएसका ५, बीपीएचका ३८ र एमबीबीएसका १५ जना रहेका छन्। प्रतिष्ठानका रजिस्टार नृपेन्द्र महत भन्छन्, ‘पहिलो चरणमा ५८ जना दक्ष जनशक्ति उत्पादन भएको छ। उनीहरूले पढाइ सकेर दीक्षित भइसकेका छन्। बाँकी विद्यार्थी अध्ययनरत छन्, विस्तारै यहाँबाट उत्पादन हुने दक्ष स्वास्थ्य जनशक्ति बढ्दै जानेछ।’
साढे चार सय विद्यार्थी अध्ययनरत
कुनै बेला जुम्लामा मेडिकल कलेज चल्न सक्दैन भन्नेहरूका लागि प्रतिष्ठानले गतिलो जवाफ दिएको छ। दुर्गममा विद्यार्थी पढ्न आउँदैनन् भन्नेहरू थुप्रै थिए। तर प्रतिष्ठानमा हाल विद्यार्थीको कमी छैन। हाल यहाँ साढे चार सय विद्यार्थीले मेडिकल शिक्षा अध्ययन गरिरहेका छन्।
हाल प्रतिष्ठानमा चिकित्सा शिक्षाका चार वटा स्कुलमा स्नातक र स्नातकोत्तर तहमा पढाइ भइरहेको छ। जहाँ चारसय ६१ जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानको भनाइ छ। जसअन्तर्गत स्कुल अफ नर्सिङमा ११४, स्कुल अफ फार्मेसीमा ७१, स्कुल अफ पब्लिक हेल्थमा ७४ र स्कुल अफ मेडिसिनमा २०२ जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानका रजिस्टार नृपेन्द्र महतले जानकारी दिए। उनी भन्छन्, ‘विभिन्न कार्यक्रमअन्तर्गत विद्यार्थी अध्ययनरत छन्, केही नयाँ विद्यार्थी पनि थपिँदै छन्। प्रतिष्ठानले दुर्गममै विशेषज्ञ शिक्षा दिइरहेको छ, त्यसका लागि एक सय शिक्षक र प्राध्यापक खटिएका छन्।’
विदेशी विद्यार्थी पनि पढ्दै
प्रतिष्ठान स्थापना भएपछि कर्णालीका विद्यार्थीले आँगनमै कम खर्चमा मेडिकल शिक्षा पढ्न पाएका छन्। त्यतिमात्र होइन, स्वदेशका विद्यार्थीका लागि पनि सहज भएको छ। तर गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि प्रतिष्ठानमा विदेशी विद्यार्थीको पनि आकर्षण बढेको छ। दुर्गममा मेडिकल शिक्षा चल्दैन भन्ने भाष्यलाई चिर्दै विदेशबाट समेत यहाँ विद्यार्थीहरू पढ्न आएका हुन्।
हाल एमबीबीसमा तीन भारतीय विद्यार्थी अध्ययनरत छन्। जसमा २ छात्रा र एक छात्र छन्। दुवै जना छात्रा भारतको जम्बु काश्मिरका हुन्। यस्तै छात्र भने भारतको उत्तर प्रदेशको अल्लाहपुरका भएको प्रतिष्ठानले जनाएको छ। रजिस्टार महत भन्छन्, ‘सुरुवातमा त कसैले पनि पत्याएका थिएनन्, तर अहिले विदेशबाट पनि अध्ययनका लागि यहाँ विद्यार्थी आउन थालेका छन्। मुख्य त गुणस्तर नै हो, हामीले दुर्गममा भए पनि गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं।’ यस्तै प्रतिष्ठानले विदेशका मेडिकल शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूसँग पनि अनुभव आदानप्रदान गरिरहेको महतले जानकारी दिए।
तीन सय शय्याको अस्पताल
प्रतिष्ठानले हाल तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन गरिरहेको छ। जहाँ दुर्गमका बिरामीले उपचार पाइरहेका छन्। यो अस्पतालका कारण प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई अभ्यास गर्न सहज भएको छ भने त्यस क्षेत्रका बिरामीलाई उपचारमा सजिलो भएको हो।
यो अस्पतालमा विस्तारै विशेषज्ञ सेवाहरू थप हुँदै छन्। विगतमा सुर्खेत र नेपालगन्जमा उपचार गराउन बाध्य बिरामीले अहिले जुम्लामै उपचार पाउन थालेको प्रतिष्ठानले जनाएको छ। यो अस्पतालमा जुम्ला, मुगु, कालीकोट, हुम्ला र डोल्पाका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। प्रतिष्ठानका अनुसार यो अस्पतालमा बर्सेनि एक लाख बिरामीले उपचार सेवा लिने गरेका छन्। प्रतिष्ठानका रजिस्टार महत भन्छन्, ‘अब कर्णाली हिजोको जस्तो बिरामी छैन, उपचार नपाएर कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था छैन। हामीले यो अस्पतालबाटै विशेषज्ञ सेवा दिइरहेका छौं, प्रतिष्ठानले नै प्रदेशका अन्य जिल्लाका अस्पतालमा समेत विशेषज्ञ डाक्टर खटाएर बिरामीको उपचार गरिरहेको छ।’
उनका अनुसार प्रतिष्ठानले कर्णालीका दुर्गम जिल्लाका जिल्ला अस्पतालहरूमा विशेषज्ञ डाक्टर खटाएर उपचार गर्दै आएको छ। प्रतिष्ठानले नै सम्झौता गरेर जिल्लामा डाक्टर पठाउने गरेको हो। यसबाट पनि दुर्गमका बिरामीले उपचार पाउन थालेका हुन्। महत भन्छन्, ‘प्रतिष्ठान कर्णालीका लागि वरदान नै हो, स्वास्थ्य उपचारको पहुँच बढेसँगै कर्णालीबासीको औैसत आयु पनि बढेको छ। हिजोको जस्तो सुत्केरी र गर्भवतीले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था अब छैन, बाल मृत्युदर पनि घटेको छ।’
राकममा स्याटेलाइट
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दैलेखको राकम कर्णालीमा स्याटेलाइट अस्पताल सञ्चालन गर्दैछ। कर्णालीका कालीकोट, हुम्ला र दैलेख तथा सुदूरपश्चिमका अछाम, बाजुरा र बझाङका बिरामीलाई लक्षित गर्दै यो अस्पताल सञ्चालन गर्न लागिएको हो। अबको एक महिनाभित्र यो अस्पतालबाट विशेषज्ञ सेवा दिइने प्रतिष्ठानले जनाएको छ।
दैलेखको आठबिस नगरपालिकामा रहेको राकम कर्णालीमा संघीय सरकारले नयाँ सहरको योजना अगाडि सारेको छ। कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्ग यही स्थानबाट जान्छन्। मुख्यगरी कर्णाली राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेको तत्काल उपचार गर्न सजहताका लागि यो अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो। यो क्षेत्रमा अरू विशेषज्ञ अस्पताल छैनन्। राजमार्गमा भइरहने दुर्घटनाका कारण बर्सेनि धेरै यात्रुको उपचार अभावमा ज्यान जान्छ। यही कारण पनि प्रतिष्ठानले सवारी दुर्घटनाका घाइतेको तत्काल उपचार गर्नेगरी राकम कर्णालीमा यो अस्पताल सञ्चालन गर्न लागिएको जनाएको छ। हाल राकम कर्णालीमा रहेको आधारभूत अस्पताललाई नै स्तरोन्नति गरेर तत्कालका लागि ५० शय्याको सञ्चालन गर्न लागिएको हो। प्रतिष्ठानका रजिस्टार महतले भने, ‘अबको एक महिनाभित्रमा अस्पताल सञ्चालनमा आउँछ, मुख्यगरी राजमार्गमा हुने दुर्घटनाका घाइतेको तत्काल उपचार गर्न यो अस्पताल सञ्चालन गर्न लागेको हौं। यो क्षेत्रमा रहेका ९ लाख नागरिकका लागि यहाँबाट विशेषज्ञ सेवा उपलब्ध हुनेछ, गम्भीर बिरामीलाई सुर्खेत र जुम्ला लैजानुपर्ने बाध्यता अब अन्त्य हुनेछ।’ उनले यो अस्पताल सञ्चालनमा आएपछि प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थीका लागि पनि अभ्यास गर्न सजिलो हुने बताए।
मेडिकल शिक्षाको हब बन्दै कर्णाली
महामारी र झाडापखालाले बारम्बार थला पर्दै आएको कर्णाली अब मेडिकल शिक्षाको हब बन्न थालेको छ। कर्णालीको मुख्य समस्या स्वास्थ्य जनशक्तिको अभाव नै हो। यही समस्या समाधानका लागि कर्णाली सरकारले पनि मेडिकल कलेज सञ्चालनको तयारी थालेको छ। प्रदेश सरकारले यसका लागि उच्चस्तरीय अध्ययन समिति नै गठन गरेर मेडिकल कलेज सञ्चालनको योजना अगाडि सारेको हो। वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान् कोइराला नेतृत्वको उक्त अध्ययन समितिले प्रदेश अस्पताल सुर्खेतलाई स्तरोन्नति गरेर मेडिकल कलेज सञ्चालन गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ।
समितिको सुझावअनुसार कर्णालीमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्न मेडिकल शिक्षा पढाउने प्रदेश सरकारको तयारी छ। प्रदेश सरकारले मेडिकल कलेज सञ्चालन गरेमा कर्णालीमा चिकित्सा शिक्षा अध्ययनका लागि अर्को विकल्प खुला हुनेछ। यस्तै संघीय सरकारले पनि यसअघि नै सुर्खेत मेडिकल कलेज सञ्चालनका लागि वीरेन्द्रनगरमा आयोजना कार्यालय नै स्थापना गरिसकेको छ। उक्त कार्यालयले पनि मेडिकल कलेज स्थापनाका लागि आवश्यक पूर्वतयारीका काम गरिरहेको छ। मध्यपश्चिम विश्वविद्यालयले पनि सुर्खेतमा मेडिकल साइन्सका कार्यक्रम सञ्चालन गर्ने योजना बनाइरहेको छ। विश्वविद्यालयले पनि मेडिकल शिक्षा प्रदान गर्ने योजना बनाएकाले अब कर्णाली मेडिकल शिक्षाको हब बन्ने देखिन्छ। यसो भएको खण्डमा कुनैबेला सिटामोलको अभावमा मृत्यु भोग्न बाध्य कर्णाली अब डाक्टर उत्पादन गर्ने थलोको रूपमा विकास हुनेछ।
कर्णालीमै हुन्छ विशेषज्ञ उपचार
विशेषज्ञ उपकरणको उपलब्धता र चिकित्सकको सेवा प्राप्त हुन थालेपछि नागरिकले कर्णालीमै गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका छन्। कर्णाली स्वास्थ्य प्रतिष्ठानसँगै पछिल्लो ७–८ वर्षयता सुर्खेतमा रहेको प्रदेश अस्पतालले गुणस्तरीय र विशेषज्ञ सेवा दिन थालेपछि बिरामीहरू उपचारका लागि बाहिर जाने क्रम रोकिएको हो।
दुई वटा ठूला अस्पताल सञ्चालनमा आएसँगै कर्णालीबासीले मात्र होइन, सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बाजुरा र डोटीका नागरिकले पनि सेवा लिइरहेका छन्। ‘पहिले सामान्य समस्या देखिए पनि नेपालगञ्ज नै जान्थेँ’ जुम्लाका बलवीर रोकायाले भने, ‘हाम्रो ठाउँमा ठूला डाक्टर हुँन्थेनन्, उपचारका लागि ऋण गरेर सुर्खेत आउँदा पनि बाहिर जानुस् भनेर पठाउँथे। अचेल यतै राम्रो उपचार सुविधा मिलेको छ, कर्णालीमै रोग निको हुन थालेपछि उपचारका लागि बाहिर जानु परेको छैन।’
कुनै बेला सिटामोल पाउन कठिन हुने कर्णालीमा हाल प्रदेश अस्पतालले नै जटिल मानिने मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। त्यसैगरी अस्पतालले डायलाइसिस, आईसीयू, एनआईसीयू, म्यामोग्राफी, एमआरआई र सीटी स्क्यानजस्ता सेवा पनि दिइरहेको छ। हाडजोर्नी, न्युरोसर्जरी, युरो सर्जरी, नाक, कान, घाँटी र पत्थरीलगायतका शल्यक्रिया अस्पतालमा हुने भएकोले पनि कर्णालीवासीले आँगनमै विशेषज्ञ सेवा पाइरहेका हुन्। त्यस्तै मुटु रोगको उपचार सेवा, आँखाको शल्यक्रिया सेवा र अप्थाल्मोलोजी र स्पाइनल सर्जरी सेवा थप भएसँगै बिरामीले कर्णालीमै विशेषज्ञ उपचार पाउन थालेको प्रदेश अस्पताल सुर्खेतका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले बताए। सेवा विस्तारसँगै पछिल्लो समय अस्पतालमा छिमेकी प्रदेश लुम्बिनी र सुदूरपश्चिमसहित भारतबाटसमेत बिरामी आउन थालेको अस्पतालले जनाएको छ। यो अस्पताल कर्णालीवासीलाई सहज रूपमा उपचार सुविधा उपलब्ध गराउन अब पाँच सय शय्याको बनाउन लागिएको छ।
प्रतिक्रिया दिनुहोस !