जगतका विकृति, जीवनका विसंगति

जगतका विकृति, जीवनका विसंगति

किताबका कथामा राजनीतिक विकृति, विसंगति, निराशा, कुण्ठा, उदासीनता र वेदना बढीभन्दा बढी पाइन्छ।

नेपाली आख्यान क्षेत्रमा नवराज रिजालको कृति ‘लौ भन्नोस् त !’ थपिएको छ । कथाकृतिमा १९ कथा छन् । खासगरी उनका कथामा राजनीतिक समस्या, पारिवारिक र पुस्तौनी समस्या, सीमा समस्या, सामाजिक विकृति विसंगति, कोरोना महामारीको त्रासदी, सहरिया प्रवृत्ति, वर्गीय असमानता, मानवताको ह्रासलगायत नेपाली समाजका विविध समस्यालाई विषयवस्तुका रूपमा लिइएको पाइन्छ । रिजाल सामाजिक यथार्थवादी कथाकार हुन् भने उनका केही कथामा आञ्चालिकता, देशप्रेमको भावना साथै शाश्वत चिन्तनको पनि आभास पाउन सकिन्छ ।

राजनीतिक विकृतिमाथि प्रहार गरिएका उनका थुप्रै कथामध्ये अभिमन्यु पनि एक हो । जसमा वर्तमान राजनीतिक चक्रव्यूहमा अभिमन्युको उपस्थिति गराएर देशको बन्द, हडताल, श्रमिक वर्गमाथि भएको शोषणको पटाक्षेप गर्दै दुर्लभजस्तो पात्रको प्रवृत्तिमाथि प्रहार गरिएको छ । जुन कथामा कुरा र काम गराईमा पाइने तात्त्विक अन्तर प्रस्तुत भएको छ । पराकम्पन कथामा बेरोजगारी र बन्द हडतालको कथाव्यथा पाइन्छ । यो कथा समग्रमा सहर छिरेको बेरोजगारी पात्रको कथा हो । जसमा व्यथा, अभाव र पीडा, विद्रोहको पराकम्पन प्रस्तुत भएको छ । बागबजारको पृष्ठभूमिमा संरचित, अर्निङ र लर्निङको माइलस्टोन बनेको अर्को सशक्त कथा हो, बागबजार । बाजबजार नै कैयन्को भाग्यविधाता हो भने कैयन् व्यक्तिको भग्नावशेषको साक्षी पनि हो ।

अवाम् कथाले देशको वर्तमान परिस्थितिको संकेत गर्दै घरदेश नफर्कने र परदेश नजाने दुवै प्रवृत्तिको द्वन्द्व बोकेको छ । छोराछोरी विदेसिएका र स्वदेश नफर्किएका मृत्युपछि पनि नफर्कने परिस्थितिमा जगतरामले आफ्नो घर वृद्धाश्रमका रूपमा परिणत गराएको र यसप्रकारको प्रवृत्ति नेपाली समाजमा दिनानुदिन बढ्न सक्ने प्रवृत्तितर्फ लक्षित हुन युवावर्गको ध्यान आकृष्ट गराएका छन् यस कथामार्फत् कथाकारले । हामी, बागबजार र असहजता कथामा स्वदेशमा नै केही गर्नुपर्छ, स्वदेशमा नै पसिना बगाऔं भन्ने सन्देश बोकेका छन् ।

कथाकार नवराज रिजाल सामाजिक यथार्थवादी कथाकार हुन् भने उनका केही कथामा आञ्चालिकता, देशप्रेमको भावना साथै शाश्वत चिन्तनको पनि आभास पाउन सकिन्छ।

नेपाली सीमाको वास्तविकता र तितो यथार्थ सीमा कथामा पाइन्छ । तिलाठीजस्ता नेपालका सीमा गाउँमा त्यसै झडप भएको होइन, नेपालीहरूले आफ्नो सीमाका साथै आफ्नो पहिचान र अस्तित्वका लागि लडेको साक्षी हो त्यो । फलस्वरूप कथाकारले सीमावासीको पीडालाई हुबहुरूपमा कथामा उतारेका छन् । राजनीतिक नेतृत्वले सीमा समस्या समाधान गर्न पहल नगरेको र केवल आश्वासनमात्र बाँडेको यथार्थ यस कथामा पाइन्छ ।

यस्तै, विपर्यास कथामा पनि सीमा समस्यालाई नै विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । सीमा क्षेत्रका नागरिक देशका विनाबर्दीका सुरक्षाकर्मी हुन् (पृ. १००) भन्ने कथनमा वास्तविक सीमाका रक्षक त्यही सीमामा बस्नेहरू नै हुन् भन्न खोजिएको छ । पुस्तौंदेखि आफूले भोगचलन गर्दै आएको खेतबारी अर्कैले भोगचलन गरेको तीतो यथार्थ यसमा समेटिएको छ । सीमावासीले वर्षांैदेखि पीडा भोग्नुपर्दा पनि राज्य निरिह बनेको र नेतृत्व तहले केही गर्न नसकेको र सीमावासीले भोग्नुपरेको यथार्थसँगै देश नदुखेको पीडा कथामा पाइन्छ ।

खुसी कथाले वर्तमान सहरिया प्रवृत्तिले कतिको खुसी हरण गरेको छ । जसमा आधुनिक सहरिया नारीले खुसीका लागि कस्तो कदम पनि चाल्न सक्छिन् भन्ने यथार्थलाई घुमाउरो शैलीमा उल्लेख छ । आहत कथामा बन्दाबन्दीको समय र त्यसको पीडा चित्रण छ । कथाकारले धनीलाई भन्दा गरिबलाई आफ्नो माटोको माया बढी हुने धारणा प्रस्तुत गरेका छन् । माटोको माया किन सानालाई बढी लाग्छ ? के ठूलाको काम केवल कमाउनु मात्र हो (पृ. ९१) ? वर्तमान सहिन पल्टेको घाउ बोकेर बाँचिरहेछ (पृ. १२४) भन्ने मार्मिक अभिव्यक्ति अधैर्य कथामा पाइन्छ । जुन आदर्श बोकेको मान्छे हो त्यो नै अनार्दशमा परिणत भएपछि कस्तो हुन्छ ? त्यसैको मार्मिक कथा हो, अधैर्य ।

भाग्य लहरमा लहरिई लहरिई पुगें यस मरुस्थलमा कसरी ? भन्ने सिद्धिचरण श्रेष्ठको ओखलढुंगा कविताको उक्त पंक्तिलाई यस कथामा सहरिया पात्रको प्रवृत्ति र सहरिया दुष्चक्र, धोका, बन्द, हडताल, अमानवीय प्रवृत्ति, स्वार्थको धरहरा, सहरिया मरुस्थल आदि प्रवृित्त सहरमा बढ्दै गएको कुरालाई कथाकारले सूक्ष्मरूपमा विश्लेषण गरेका छन् । मन पोल्यो र के गरौं के गरौं भयो तर केही पनि गर्न सकेन (पृ. १३४) । यस्ता पात्रको जगजगी छ सहरमा तर पनि त्यसको बदलामा केही गर्न नसकिएको हिनताबोध बोकेको कथा हो शहर ।

त्यस्तै, महाशून्य कथामा हराएको मानवता, बढ्दो राजनैतिक स्वार्थ, बन्द, चक्काजाम, हडताल, प्रदर्शन जस्ता विरोधका शैली सहरका अवयव बनेको चित्रण गर्दै केही गर्छु भन्ने बलीभद्रजस्ता युवाले भोग्नुपरेको मानसिक तनाव कथामा पाइन्छ । श्रीमती र छोरी मिलेर लोग्ने एवं बाबुको हत्या गराएको प्रसंगमा जोकोहीलाई पनि एकपटक महाशून्यमा पु¥याउँछ । जसले नाता, मानवता र घनिष्ठताका विरुद्ध स्वार्थ, दानवता र निकृष्ठताको खोल ओढेको समाज, परिवार र व्यक्तिको दुष्चरित्रलाई उदांगो पारेको छ ।

गरिबीका कारण श्रीमतीलाई औषधी खुवाउन नसक्ने पात्र राजनीतिक दलको बन्द हडताल र जुलुसमा परेर केही हजारका लागि जीवनै समाप्त गर्न बाध्य नेपाली युवाको विषय कथामा समेटिएको छ । जुलुस र बन्दमा जान आग्रह गर्नेहरू उसको मृत्युपछि मौन छन् भने बयान कथामा भजनसिंह छेपारे प्रवृत्तिको पात्र सहरमा पसेपछि समानता र न्यायको प्रशिक्षक बन्न पुगेको छ । पद र पैसाका कारण राजनीतिलाई नियन्त्रणमा राख्न त्यस्ता पात्रले गरेको प्रयास र दुस्साहसको चित्रण कथामा पाइन्छ । त्यस्तै, लोकतन्त्र, गणतन्त्रमा मौलाएको अराजकताका बारेमा बयान कथामा उल्लेख छ– लोकतन्त्रपछि धेरै फेरिएका छन् । जे जे फेरिनु हुँदैनथ्यो, त्यो सबै फेरिएका र फेरिने क्रममा छन् । जे जे फेरिनुपथ्र्यो, त्यसको कुनै पनि काँटछाँट देखिँदैन (पृ.१८९) । यसरी लोकतन्त्र पनि वास्तवमा लोकतन्त्र हुन नसकेको यथार्थलाई यस कथाले जोडदाररूपमा उठाएको छ ।

संग्रहका कथामा राजनीतिक विकृति, विसंगति, निराशा, कुण्ठा, उदासीनता र वेदना बढीभन्दा बढी पाइन्छ । प्रशस्त धनसम्पत्ति भएर पनि खुसी नभएको मानिस र उसको विचलित मनको चित्रण कथामा पाइन्छन् । कथाकारले विभिन्न कथामा देशप्रेमका भावना जीवन्तरूपमा प्रस्तुत गरी आपूmलाई देशप्रेमी कथाकारका रूपमा चिनाएका छन् । देश समृद्ध बनाउने हो भने सबैले दुःखसुख गरेर आफ्नै देशमा पसिना बगाउनु पर्छ र यही माटोलाई फलाउनु फुलाउनु पर्छ भन्ने सन्देश बोक्ने रिजाल देशप्रेमको भावनाले ओतप्रोत भएका कथाकार हुन् ।

राजनीतिक स्वार्थले होनहार युवाको प्रयोग, स्वार्थको बढोत्तरी, मानवताको ह्रास, बढ्दो एकांकीपन, चेतानास्तरमा वृद्धि, समाजिक सञ्जालको प्रयोग, जीवनशैलीमा आएको परिवर्तन, सांस्कृतिक मूल्यमान्यतामा आएको ह्रास आदि विषयवस्तुलाई कथाकारले सूक्ष्मरूपमा समेटेका छन् । कथामा सरल भाषाशैलीको साथसाथै पात्रानुकूल संवाद र उखानटुक्काको प्रयोग पनि पाइन्छ । उनका केही कथा संस्मरणात्मक छन् भने केही आत्मकथात्मक अनि कुनै नैबन्धिक शैलीका । समग्रमा, रिजालका कथामा जीवनका विसंगति र युगीन यथार्थ नै घनीभूत रूपमा प्रकटीकरण भएको पाइन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.