प्रहरीको गोली लागेर २४ वर्षीय मेहताको मृत्यु प्रकरण
कप्तानगन्ज घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्छौं : प्रशासन
सुनसरी : सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको झडपको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने बताएका छन्।
घटनाप्रति स्थानीय प्रशासन गम्भीर रहेको बताउँदै प्रजिअ घिमिरेले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन्। गृह मन्त्रालयसँगको समन्वयमा घटनाको विस्तृत अनुसन्धान अघि बढाइने उनले बताए। ‘कप्तानगन्ज घटनाको विषयमा स्थानीय प्रशासन गम्भीर छ। घटनाको छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही गरिनेछ,’ प्रजिअ घिमिरेले भने।
आइतबार राति देवानगन्ज–३, कप्तानगन्जमा बोलबम मनाउँदै हिँडेको हिन्दु धर्मावलम्बीहरूको समूहलाई अर्को अज्ञात समूहले आक्रमण गरेपछि दुई पक्षबीच झडप भएको थियो। झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर देवानगन्ज–३ का स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा एक दर्जनभन्दा बढी सर्वसाधारण घाइते भएका छन्। झडप नियन्त्रणका क्रममा प्रहरी निरीक्षक राकेश राईसहित पाँच जना प्रहरीसमेत घाइते भएका छन्।
घटनापछि सम्भावित तनाव र थप झडप हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। सोमबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पाँच जनाभन्दा बढीको समूहमा हिँडडुल गर्न तथा भेला हुन रोक लगाइएको प्रशासनले जनाएको छ।
घटनापछि दुवै स्थानीय तहमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित अप्रिय घटना रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थानीय प्रशासनले संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ। प्रजिअ घिमिरेले घटनाको वास्तविकता बाहिर ल्याउन निष्पक्ष छानबिन गरिने र दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेका छन्।
प्रतिक्रिया दिनुहोस !