मौन सम्बन्ध

कथा

मौन सम्बन्ध

बस ! यही स्पर्श बाँकी छ अब जिन्दगीमा। आज पनि सबेरै त्यसैगरी सुनौला किरण पोखिए। ऊ त्यसैमा डुब्छे र महसुस गर्छे प्रेमको झुल्का। आज ऊ अलि भावुक भई।

पूर्व क्षितिजबाट सबेरै घाम उदाउँछ। घामका झुल्का हतारिँदै उसकै ओछ्यानमा आएर विश्राम लिए झैं टल्किबस्छन्। यो सहरमा छिरेदेखि कहिल्यै घाम नपस्ने कोठामा बसेकी अभियताले पहेँला झुल्का काखमा राखेर चिया पिउन थालेको जम्माजम्मी चार वर्षमात्रै भयो। राम्रै भाडा तिर्छु भन्दा पनि गतिलो कोठा नपाइने काठमाडौंका गल्लीहरूमा एउटा घर खरिद गरेपछि नै हो, उसले घामसँग खेल्न पाएको। भलै बैंकको किस्ता तिर्ने महिना पोखिन नसकेका आँसुहरू घामको झुल्कासँगै टिलपिलाउँछन्।

राजधानीको व्यस्त बजारमा घर किनिएको छ। एउटा सानो गाडी त छँदै छ। असल छोराछोरी छन्। माथिल्लो तहको जागिर पनि छ। लगभग अहिले चाहिने जति सबै सुखसुविधा छ उसलाई, तर जीवन केही नभएजस्तै रित्तो महसुस गर्छे ऊ कहिलेकाहीँ। आधा पेट खाएर काठमाडौंका गल्लीहरूमा पैदलै हिँड्दा पनि कस्तो आनन्द आउँथ्यो कुनै बेला उसलाई। अहिले महँगो कारमा हुइँकिँदा पनि त्यसबेलाको जस्तो खुसी मनमा छैन।

बालसपना बोकेर भौंतारिने क्रममा पानी रसाउने अँध्यारो कोठामा प्रचण्ड घाम अनुभूत गर्न सक्नु सायद उसको विगतको क्षमता थियो। बिहान पाकेको एक ट्वाक चामल! ऊ अझै सम्झिन्छे, आधा अघाएर सिंगो सपना देखेको विगत। जाँगरिला पाइतालाहरू तीन कोस पार गरेर ठोक्किन्थे होर्डिङ बोर्डका विज्ञापनहरूमा। यो सहर तिर्खा मेटाउने साहस पनि गर्दैन। तृष्णा उमालेर ऊ पोखिन्थी जागिरका फारमहरूमा घरिघरि।

विज्ञापन फारम दस्तुर लुटेर मस्त निदाउँथ्यो वा लुकाउँथ्यो वास्तविकता ? ऊ अनुमानमात्रै गर्न सक्थी। एउटा कम्पनीमा फारम भरेर १० हजार बुझाएको भोलिपल्ट हाजिर हुन जाँदा कम्पनी टाप ठोकेको दुर्दशा ऊ बिर्सन सक्दिन अझै। समय बदलियो, ऊ बदलिई। अवस्था बदलियो, ऊ अरूलाई जागिर लगाइदिने हैसियतमा छे अहिले। पद, पैसा, सबै सुबिस्ता छ उसका लागि। तर, सबथोक भएर पनि केही नभएको फिका जिन्दगी अनुभूति गरिरहन्छे ऊ आज।

ऊसँग अहिले त्यसबेला देखेको सपनाको महल छ। साधन छ, स्रोत छ। घरभरि महँगा सरसामान छन्। तर, ऊ घरिघरि आफ्नै कोठा देखेर विरक्तिन्छे। भित्तामा एउटा ठूलो पारिवारिक तस्बिर झुन्ड्याइएको छ। अब उसले हेर्न बाँकी त्यही एउटा तस्बिर त छ! ऊ त्यही तस्बिर हेरेर थोरै रमाउँछे। उसको काखमा आउनुभन्दा पहिल्यै घामका किरणहरू प्रत्येक बिहान त्यही तस्बिरमा पर्छन्। सुनौला किरणहरू पोखिएर तस्बिर जीवित बन्छ, ऊ स्पर्शको अनुभूति गर्छे।

बस! यही स्पर्श बाँकी छ अब जिन्दगीमा। आज पनि सबेरै त्यसैगरी सुनौला किरण पोखिए। ऊ त्यसैमा डुब्छे र महसुस गर्छे प्रेमको झुल्का। आज ऊ अलि भावुक (इमोसनल) भई। ऊ त्यसबाट मोडिन चाहन्थी। बस! सिरानी च्यापेर मोबाइलमा भुलिन खोजी उसले। त्यसो नगरेको भए सायद... कुनै दुर्घटना पनि हुन सक्थ्यो त्यस दिन। ऊ ठूलो दुर्घटनाबाट बची।

वातावरण शून्य छ। सबै आफ्नै सुरतालमा छन्; जसरी सूर्य उदाउँछ, अस्ताउँछ, जून आउँछ, फेरि गइदिन्छ। यस्तै यस्तै। अभियताको सानो छोरो बेडको पल्लो कुनामा बिहानीको निद्रामै छ। ठूलो छोरो लन्डनतिर गएको दुई साल भइसक्यो। ठूलेको कोठा त्यसै छ। ठूले छँदाजस्तो त्यो कोठा छरपस्ट छैन। एउटा निख्खर सेतो इलेक्ट्रिक गितार, केही थान पुस्तक र उसको बाल्यकालका केही खेलौना उसको प्रतीक्षामा छन्। बिचरा ती निर्जीव साधनहरू बुझ्दैनन्, ऊ नफर्कने भविष्य।

ठूलेको न्यास्रो मेट्न कहिलेकाहीँ उसलाई त्यो कोठामा नछिरी भएको छैन। धिक्कार होस्! ठूले त चटक्कै भुलिगयो आफ्ना प्रिय खेलौना! ‘मलाई त नभुल्ने कुरै भएन।’ ऊ आफैंसँग पोखिन्छे र झन् एक्लो महसुस गर्छे। ‘एक बुँदबाट सिर्जना गरेर अथाह व्यथासहित यो सुन्दर संसार देखाउँदाको पीडा! उफ्, म कसरी भुल्छु होला ? बाआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुंगामाथि भनेको यही होला!’ ऊ गइहाल्यो, अब आउनेछैन। सानेको बाटो पनि उही त होला ? ऊ भोलिको एक्लोपन आजदेखि नै महसुस गर्न थाल्छे। सानेका लागि पनि अलग्गै कोठा छ, तर ऊ एक्लै सुत्न सक्दैन।

कोठामा सानेका अनेक खेलौना छन्। उसको पास्नीको एउटा तस्बिर पनि छ। बरा ! फुच्चे एक्लै सुत्न सक्ने भएको छैन। ऊ चाहन्छे, छोरो चाँडै ठूलो होस्, बाबासँग बेड साटोस् तर... प्रतीक्षाका रातहरू असाध्यै ढिला हुँदै गइरहेका छन्। आमालाई आफ्नो बच्चा सधैं सानै लाग्छ ? साने रातभरि उसकै हातमा निदाउँछ। ऊ सानेको बालसुलभ सामीप्यतामा असाध्यै रमाइरहेकी हुन्छे। ‘मम्मा, तिमी मेरो बिहे गर्ने बेलासम्म जिउँदै हुन्छ्यौ ल ?’

सानेले राति सुत्ने बेलामा किन यस्तो प्रश्न गर्‍यो ? ऊ अवाक् छे। ‘मलाई... मलाई काउ मिल्क खै? मम्मा म स्ट्रङ भएर खुट्टा मिचिदिन्छु नि, हस् ?’ सानेको बालसुलभ यो शब्दवाणले केही न्यानो थपिन्छ उसको मनमा। दाहिने हातमा अड्डिएको सानेको टाउको हटाएर सुरु हुन्छ उसको दैनिकी। दिनभरिको थकान मेटिने आशामा ऊ दूध उमाल्छे। सानेका बा अझै उठेका छैनन्। कालो चिया पाक्छ, आफूलाई ग्रिन टी बनाउँछे। ऊ चिया लिएर पल्लो कोठा पुग्छे।

सानेका बा मस्त निदाइरहेका थिए। ‘बेबी चिया... उठ्ने... होइ...न ?’ सानेका बा उठेनन्। चिया टेबलमा राखेर ऊ फर्की। लिभिङ रुममा बसेर टिकटक हेर्न थाली। ‘ठूलो मुटु चुँडिएर गइगयो। हेर्दाहेर्दै यो पनि जान्छ। तिनका बा सँगै छन् तर सँगै भएको कुनै अनुभूति हुँदैन। म संसारकै दुःखी थिएँ, संसारकै दुःखी छु र दुःखी भइरहने कस्ती अभागिनी!’ अभियता जीवनको वास्तविकतासँग हार खान्छे र मन भुलाउने बहानामा इन्स्टाग्रामतिर प्रवेश गर्छे।

‘बुढाले चिया पिए कि पिएनन् ?’ ऊ फेरि पल्लो कोठामा गई। सानेका बा चिया पिएर फेरि सुतिसकेका थिए। ऊ चियाको कप लिएर बाहिर निस्की। ऊ चियाको कपसँगै बेसिनमा पखालिदिन चाहन्छे अधुरो जिन्दगीको अपुरो कहानी! ऊ विरक्त समय पन्छाएर पुनः बेडरुममा जान्छे। झ्यालबाट बाहिर हेर्छे। अलि पर देवीको मन्दिर छ। आज शनिबार। मन्दिरछेउको पीपलको बोटमा जल चढाउन आउनेहरूको घुइँचो होला। ‘नजिकको देउता हेलाँ’ भन्ने उखानै छ।

घरदेखि पाँच मिनेट हिँडेर पुगिन्छ तर ऊ गएकी छैन। सायद उसलाई ईश्वरमा विश्वास छैन। तर, ईश्वर मान्नेहरूको चित्त दुखाउन पनि त सक्दिन ऊ। अँ, पीपलबोटमा जल चढाउन टीकाराम पनि आयो होला। ऊ अन्तरजातीय बिहे गरेर घरबाहिर बस्छ। प्रत्येक शनिबार पीपलबोटमा जल चढाउन आउँछ। के अपेक्षाले ऊ जल चढाउँछ ? उसैले जानोस्।

म ग्रहदशा सप्रियोस् भनेर जल चढाउँदिनँ। जल चढाएर मैले चाहेको पाउन्न भन्नेमा म ढुक्क छु। जल चढाएर चाहेको पाइने भए, म दिनहुँ जल चढाएर सानेको बाबाको न्यानो माग्थें। त्यहीँ पर्तिर मैतीदेवी मन्दिर छ। मन्दिरमा माता बनेर बसेकी शान्ति दिदीको त्यो नियति देखेर भन्न मन लाग्छ, भगवान्ले केही दिँदैनन्, कर्म आफैं गर्नुपर्छ।

शान्ति दिदी आज पनि मन्दिरको छेउमा फूल, अक्षता लिएर बसेकी होली। तीस वर्षसम्म काम गरेको अफिसले खाली हात निकालेपछि ऊ मन्दिरमा पुगेकी हो। ऊ शान्ति दिदीलाई सम्मान गर्छे। अभावले मान्छेहरू सडकमा पुग्छन्, ऊ पवित्र मन्दिरमा पुगी। सामान्य भान्साको काम गर्ने नारी शक्तिशाली माता बनी। टीका लगाइदिन्छे र दुई–चार रुपैयाँ दक्षिणा बटुल्छे। शान्ति परियार।

श्रीमान्ले अर्की ल्याएपछि बडो कष्टले तीन छोरी हुर्काई बरा! तीनै छोरीहरूको बिहे भइगयो। जेठी छोरी अमेरिका, माइली छोरी पोर्चुगल र कान्छी छोरी न्युजिल्यान्ड पुगी। यो सहरमा ऊ एक्लै छे। मन्दिर आउनेले टीका लगाइदिएबापत दिएको दक्षिणा उसको आयस्रोत हो। उनी प्योर बाहुनी बज्यै बनेर बसेकी छन्। निधारमा ठूलो मखमलको टीका, रातो सुतीको धोती, रातै ब्लाउज अनि ‘सीताराम’ लेखेको पीताम्बर ओढेर खाँटी बज्यैजस्तै रूपमा बस्छिन् बरा!

‘शान्ति दिदी... अहो! के के सोचेछु। भसक्कै समय गइहालेछ बाबै। अब साने स्कुल जाने टाइम हुन लाग्यो। उसका बा अझै उठेका छैनन्।’ आफ्नै मनसँग यत्ति बात मारेर ऊ हिजैको दैनिकीमा लागी। तीनवटा चुलोमा उसले दाल, भात, तरकारी एकैचोटि बसालिन्। यसबीचमा बाबुलाई टिफिन, कपडाहरूमा आइरन, जुत्तामा पालिस पनि भइसक्यो। अहँ, नानीका बा अझै उठ्न खोजेनन्। उसको शरीर भान्सामा भए पनि मन भने सानेका बातिरै छ।

ऊ घरिघरि जान्छे। लम्पसार शरीर नियालेर फनक्क फर्कन्छे। कहिलेकाहीँ बढी इमोसनल भएर ऊ हात समाउन खोज्छे, अहँ सक्दिनँ, किनकि सानेका बालाई त्यसो गरेको पटक्कै मन पर्दैन। ‘झ्याप्पै गएर तिनका जिउमाथि लडिदिन्छु, अनि नउठेर सुख ? नाइँ नाइँ, अस्तिन बेस्सरी हानेर दाहिने हात नै नचल्ने भएको कहाँ भुलेकी छु र ?’

आफैंसँग कुरा गर्ने बानी परिसकेको छ उसलाई। बरै! उसको मनसँग बात मारेर बस्ने समय पनि छैन। ऊ रफ्तारमा खाना पस्किन्छे। यसपालि सानेको पनि बीएलई छ। स्कुल छुट्यो भने अप्ठेरो पर्छ। ऊ बस स्टेसनतिर लागी। 

ऊ फर्कंदा सानेका बा उठिकन खाना आफैं पस्केर खाइसकेछन्। आज पनि उसले सँगै खान पाइन। हुन त सँगै खाना नखाएको जुगै भइसक्यो। उनी लुगा लगाएर अफिस निस्किए। ‘आमै! ड्युटी टाइम सुरु हुन अझै दुई घण्टा बाँकी छ। केही भोक मेटाउने उपाय त गर्नैपर्छ।’ ढोकामा चुकुल लगाई। दाँतले नङ कोट्याउँदै आकाशतिर हेरी। ‘उफ्! अब त अति भो।’ केही नबोली ऊ बेडमा पल्टी। अफिसको गाडीले गेटमा आएर हर्न लगायो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.