पर्सागढीको प्राथमिक स्वास्थ्य केन्द्रमा अधिकांश सेवा ठप्प
वीरगन्ज : पर्साको पर्सागढी नगरपालिका-६ बागेश्वरी तित्रौनामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको अधिकांश सेवा ठप्प भएको छ। दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको अभाव र उपकरणहरू पनि बिग्रिएर थन्किएका कारण प्राथमिक स्वास्थ्य केन्द्रको अधिकांश सेवा ठप्प भएको हो।
उक्त प्राथमिक स्वास्थ्य केन्द्रको ल्याबमा रहेको रगत परीक्षण गर्ने मेसिन तीन महिनादेखि बिग्रिएर थन्किएको छ। उक्त मेसिन मर्मतका लागि कसैले चासो नै देखाएको छैन।
ल्याबमा अहिले किटको भरमा सीमित रोगहरूको मात्रै परीक्षण भइरहेको छ। मेसिन बिग्रिएको र त्यसको मर्मत नगर्दा मेसिनबाट गरिने परीक्षण सेवाहरू ठप्प रहँदा सेवाग्राहीहरू समस्यामा परेका छन्।
यस्तै एक्सरे मेसिन पनि चार महिनादेखि विद्युत् समस्याका कारण बन्द अवस्थामा छ। स्वास्थ्य केन्द्रको विद्युत् महसुल करिब पाँच लाख रुपैयाँ बक्यौता रहेकोले विद्युत् प्राधिकरणले थ्री फेज लाइन काटेर सिंगल फेज लाइन मात्र चालु राखेकोले एक्सरे, ईसीजी लगायतका सेवाहरू चार महिनादेखि बन्द छन्।
उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलेदेखि नै जनशक्तिको अभाव रहेको र त्यसमाथि प्राधिकरणले सिंगल फेज लाइन मात्र दिँदा थ्री फेज लाइनबाट चल्ने उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सिनियर अहेब चन्द्रशेखर चौधरीले बताए।
चार महिनादेखि मेसिन बिग्रिएको र विद्युत् समस्याले गर्दा केन्द्रमा अहिले सेवाग्राहीको चाप पनि घटेको उनले बताए। पर्सागढी नगरपालिका–६ का स्थानीय कन्हैया यादवले आवश्यक सेवा नपाएर स्वास्थ्य केन्द्रमा बिरामीहरू आउनै छाडेको र आउने बिरामीहरू पनि सेवा नपाएपछि वीरगन्ज धाउन बाध्य भएको बताए।
प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चौधरीले नगरपालिकालाई केन्द्रका समस्याका बारेमा जानकारी गराइसकेको बताए। तर समस्या समाधानका लागि अहिलेसम्म कुनै पहल नभएको गुनासो उनले गरे।
प्रतिक्रिया दिनुहोस !