आतंकवादी आक्रमणले पाकिस्तानप्रति भारत आक्रामक

सिन्धु जल सम्झौता रद्द, सबै पाकिस्तानीलाई भारत छाड्न ४८ घण्टा म्याद

आतंकवादी आक्रमणले पाकिस्तानप्रति भारत आक्रामक

काठमाडौं : (एजेन्सीको सहयोगमा)

जम्मु–कश्मीरमा रमाइरहेका पर्यटकमाथि हतियारधारी समूहले धर्मका आधारमा आक्रमण गरेपछि भारत पाकिस्तानप्रति आक्रामक देखिएको छ। यूएईको भ्रमण छोट्ट्याएर फर्किएका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मन्त्रिपरिषद्को सुरक्षा बैठकले पाकिस्तानविरुद्ध कडा निर्णय लिएको हो।

भारतको निर्णयबाट दुई देशबीचको तिक्तत्तापूर्ण सम्बन्ध अझै टकरावपूर्ण स्थितिमा पुगेको छ। पाकिस्तानले भने जम्बु–कश्मीरमा भएको घटनामा पाकिस्तानको कुनै संलग्नता नरहेको भन्दै रक्षात्मक बचाउ गरेको छ। पाकिस्ताको बचाउलाई भारत सरकारले महत्वका रूपमा हेरेको छैन। बरु भारतले कडा निर्णय गर्दै सबै पाकिस्तानी नागरिकलाई भारत छाड्न ४८ घण्टा म्याद दिएको छ।

कश्मीर घटनामा नेपालका सुदीप न्यौपानेसहित २६ जना नागरिकको हत्या भएको थियो। जसमा २५ जना भारतीय हुन्। पहलगाममा भएको घटनापछि त्यो क्षेत्र त्रस्त बनेको छ। भारतीय सञ्चारमाध्यमहरूले पहलगामबाट व्यापारी र पर्यटकहरू बाहिरिनेक्रम तीव्र रूपमा बढेको जनाएका छन्। 

पहलगाममा भएको घटनालाई भारतमा सन् २०१९ पछिकै सबैभन्दा घातक आक्रमण भनिएको छ। बीबीसी हिन्दीले २०१९ पछि त्यति घातक आक्रमण नभएको उल्लेख गरेको छ। 

कश्मीरमा भारत र पाकिस्तान दुवैले आफ्नो दाबी गर्दै अलग–अलग क्षेत्रमा शासन गरिरहेका छन्। घटनापछि भारतले मुख्य बोर्डर अटारी पूर्णरूपमा बन्द घोषणा गरेको छ। भारतीय विश्लेषकहरूले जम्बुको सीमा क्षेत्रमा भारतको जवाफी कारबाही हुन सक्ने आंकलन गरेका छन्। भारतका सैन्य इतिहासकार श्रीनाथ राघवनको भनाइ उदृढ गर्दे बीबीसीले लेखेको छ, ‘कडा कारबाहीको अवस्था आएको छ, जुन पाकिस्तानका लागि सन्देश होस्।’ 

सन् २०१६ मा जम्मु–कश्मीरको उत्तरी रेखानजिकै भएको आक्रमणमा १९ भारतीय सैनिकले ज्यान गुमाउँदा भारतले सर्जिकल स्ट्राइक गरी पाकिस्तान प्रशासित कश्मीरका चरमपन्थीहरूलाई दबाएको थियो। त्यसपछि सन् २०१९ मा पुलवामा हमला हुँदा ४० जना भारतीय अर्धसैनिक जवानको मृत्यु भयो। हवाई हमला गरी भारतले त्यसको जवाफ दिएको थियो। त्यो सन् १९७१ पछिको पहिलो हवाई आक्रमण थियो।

सिन्धु जल सम्झौता रद्द

जम्मुको घटनापछि भारतले सिन्धु जल सम्झौता रद्द गरेको छ। त्यस्तै पाकिस्तानका लागि सार्क भिसा रोकेको छ। पाकिस्तानमा रहेका सैन्य सल्लाहकार तथा दूतावास सेवासमेत बन्द गरेको छ भने उच्चायोगका कर्मचारीको संख्या ५५ बाट ३० मा झारेको छ। हरेक पाकिस्तानीहरूलाई भारत छाड्न भारतको आदेश छ। 

सिन्धु जल सम्झौताको रद्दलाई भारत तथा पाकिस्तानले महत्वसाथ हेरेका छन्। सिन्धु जल सम्झौताअनुसार व्यास, राबी र सतलुज नदीमा भारतलाई अधिकार दिइएको छ भने सिन्धु, चिनाव र झोलम नदीको पानीमा पाकिस्तानको अधिकार कायम छ। 

जुन नदीको २० प्रतिशत पानी भारतीय हितमै रहेको छ। यो सम्झौता रद्दपछि पानीमाथिको अधिकारमा दुई देशबीच टकराव हुने देखिएको छ। पाकिस्तानले पानीको संकट भोगिरहेका बेला भारतको कठोर निर्णय आएको हो। भारतको सन्धि खारेज गर्ने निर्णयले पाकिस्तानको सिन्ध र पञ्जावमा छहनई नहर बनाउने योजना पनि संकटमा पर्ने छ। 

पाकिस्तानी अधिकारीहरूले भने भारतको यो निर्णयबाट तत्काल कुनै असर नहुने बताएका छन्। सिन्धु जल पूर्वअतिरिक्त कमिसनर शिराज मेननले भारतले सम्झौता रद्द गरे पनि पानी रोक्न नसक्ने जिकिर गरेका छन्। बीबीसीले उनको भनाइलाई उल्लेख गरेको छ, ‘भारतसँग पाकिस्तानको हिस्सामा रहेको पानी रोक्ने कुनै भौतिक पूर्वाधार बनिसकेको छैन। त्यसैले तत्काल यसको कुनै असर हुँदैन। तर, दीर्घकालसम्म गतिरोध कायम रहेमा भने असर हुने छ।’

भारतले यही निर्णयलाई कायम राखी पानी रोक्ने पूर्वाधार बनाएमा भने पाकिस्तानलाई समस्या हुने मेनन बताउँछन्। यसअघि भारतले सन् १९४८ मा सिन्धु नहरको पानी रोक्दा पाकिस्तानको पञ्जावको १७ लाख एकड जमिनमा असर परेको बीबीसीले लेखेको छ।

हवाई सेनाको तयारी

पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतीय वायुसेनाले एक्सरसाइज आक्रमण नामक एक ठूलो सैन्य अभ्यास सुरु गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यो अभ्यास पहाडी र समथर भूभागमा दुश्मनका ठेगानाहरूमा आक्रमण गर्ने रणनीतिलाई केन्द्रमा राखेर गरिएको जनाइएको छ।

यस अभ्यासमा वायुसेनाका पाइलटहरूले वास्तविक युद्धजस्तै परिस्थितिमा उडान भरिरहेका छन् र लक्ष्यमा आक्रमण, हवाई स्ट्राइक र सामरिक चालहरू अभ्यास गरिरहेका छन्। यसको उद्देश्य भारतीय वायुसेनाको सञ्चालनात्मक तयारीलाई अझ सशक्त बनाउनु रहेको बताइएको छ।

यो सैन्य अभ्यासलाई पहलगाममा भएको आक्रमणको प्रतिउत्तरको रूपमा हेरिएको सञ्चारमाध्यमले जनाएका छन्। जहाँ हालैको हमलामा भारतीय सुरक्षाबललाई निशाना बनाइएको थियो। 

पाकिस्तानी उक्सावटमा आक्रमण

भारतले पाकिस्तानका सेनाध्यक्ष जनरल असीम मुनिरको हालसालैको भाषणले लस्कर ए तैयबाको छायाँ समूह द रेसिस्टेन्स फ्रन्ट प्रभावमा परेको दाबी गरेको छ। सेनाध्यक्ष मुनिरले कश्मिरलाई पाकिस्तानको सिरसिर नशा भनेका थिए। त्यही अभिव्यक्तिले उक्सावट भएको भन्दै अनुसन्धान भइरहेको द इकोनोमिक टाइम्सले लेखेको छ।

भारतीय गुप्तचर स्रोतका अनुसार मुनिरको उग्र भाषाशैली र मुस्लिम तथा हिन्दुबीचको असमान व्यवहारमा उनले दिएको जोडले चरमपन्थीलाई हौसला मिलेको छ। अक्रमणकारीहरू केही अघि नै घटनास्थलमा पुगी होटलहरूको रेकी गरेको प्रमाण भेटिएको थियो। 

धार्मिक पहिचान सोधी हत्या गरिएका कारणले पनि घटना जोडिएको भारतीय अधिकारीहरूको जिकिर छ। नेपालका सुदीप न्यौपानेलाई पनि धर्म सोधी हत्या गरिएको परिवार स्रोतले जनाएका छन्। अन्य भारतीयलाई मुस्लिम कलमा पढ्न लगाएर पढ्न नसक्नेलाई गोली हानिएको थियो। जसमा स्थानीय सहयोगीहरू समेत रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

पाकिस्तानको जवाफी घोषणा

पाकिस्तानले घटनाप्रति दुःख व्यक्त गर्दै आफ्नो सहभागिता नरहेको जिकिर गरेको छ। पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारतभित्रैको घरेलु विद्रोहकै कारण घटना भएको दाबि गरेका छन्। उनले भारतमा नागाल्यान्डदेखि मणिपुरसम्म विद्रोह चलिरहेको बताएका छन्।

भारतको निर्णय लगत्तै पाकिस्तानले जवाफी घोषणा पनि गरेको छ। पाकिस्तानले सिमला सम्झौतासहित भारतसँग भएका सबै द्विपक्षीय सम्झौता र सबै प्रकारका व्यापार बन्द गरेको छ। भारतका लागि हवाई क्षेत्र बन्दसहित बाघा सीमा बन्द गर्ने निर्देशन जारी गरेको छ। 

पाकिस्तानले सिन्धुको पानी रोक्ने वा मोड्ने प्रयास भए युद्धको कारबाही हुने चेतावनी दिएको छ। त्यस्तै भारतीय रक्षा सल्लाहकार तथा उनका सहयोगीहरूलाई पाकिस्तान छाड्ने अल्टिमेटम पाकिस्तानी सरकारले दिएको सञ्चारमाध्यमहरूले जनाएका छन्। 

भारत र पाकिस्तानबीचको शान्ति स्थापनामा सिमला सम्झौता महत्वपूर्ण छ। सिमला सम्झौता सन् १९७२ जुलाई २ तारिखका दिन भारतको हिमाचल प्रदेशस्थित सिमला सहरमा भारत र पाकिस्तानबीच भएको हो। यो एक महत्वपूर्ण राजनीतिक सम्झौता हो। 

यो सम्झौता भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानका तत्कालीन राष्ट्रपति जुलिफकार अली भुट्टोबीच भएको थियो। भारत र पाकिस्तान युद्धपछि दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउने उद्देश्यले गरिएको यस सम्झौतामा सबै द्वन्द्व र विवादहरूलाई आपसी संवादमार्फत समाधान गर्ने प्रतिबद्धता जनाइएको थियो। 

सम्झौतामा जम्मु–कश्मीरको सन्दर्भमा युद्धविराम रेखालाई ‘लाइन अफ कन्ट्रोल’ को रूपमा मान्यता दिइने सहमति पनि समावेश थियो। साथै, एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र द्विपक्षीय सम्बन्ध सुधार गर्ने प्रयास गर्ने विषयहरूमा पनि सम्झौता गरिएको थियो। यसले दक्षिण एसियामा शान्ति स्थापनाको दिशामा एक महत्वपूर्ण कदमको रूपमा मानिन्छ।

पाकिस्तानले भारतले लिएको निर्णयविरुद्ध सिमला सम्झौताको खारेजी घोषणा गरेको हो। भारतीय सञ्चारमाध्यमहरूमा भने यो सम्झौता खारेजीलाई पाकिस्तानको धम्की मात्रै रहेको विश्लेषण गरिएको छ। दुई देशबीच तिक्तता बढ्दै जाँदा नेपालसहित छिमेकी मुलुकहरूमा यसको असर देखिएको छ। 

दुई देशको तित्तता छिट्टै समाधान नभए सुरक्षा चिन्ता बढ्दै जाने जोखिम समेत देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आतंकवादविरुद्ध नेपाल भारतको पक्षमा रहेको समकक्षीसमक्ष बताएका छन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.