यादहरू
नसम्झुँ भन्छु
झन् बढी सम्झन्छ मन
नगरुँ प्रेम भन्छु
झांगिन्छ प्रेमको विरुवा
नगरुँ याद भन्छु
झन् बेसी
किन आउँछन् यादहरू ?
छैन कतै
याद मेट्ने कुनै इरेजर ?
अथवा,
म्यासेन्जर, भाइवर वा
ह्वाट्सएपमा जस्तै
छैन डिलिटका कुनै अप्सन ?
प्रश्न गर्छु म
आफैंसित पटक पटक
नगरुँ याद भन्छु
झन् बेसी
हुरी चलाएर
किन आउँछन् यादहरू ?
आए त हुन्थ्यो याद मात्र
तर सँगै
बोकेर आउँछ
छटपटी, बेचैनी
र,
हर्छ अमन, चैन
भोक, प्यास अनि निद्रा
यादहरूले
मनको दैलो टेकेपछि
आँखा टोलाउँछ
हृदय डोलाउँछ
खुशी लोलाउँछ
कतै शान्ति हुन्न
कुनै औषधिले छुन्न
त्यसैले,
नआओस् याद भन्छु
झन् बेस्सरी
मुटुमा आँधी चलाएर
किन आउँछन् यादहरू?
याद आएपछि
सँगै खहरे उर्लन्छ
गालाका डोबहरूमा
अनि
एकाएक अलप हुन्छन्
ओठको मुस्कान
त्यस्तै,
गालाको लाली पनि
वर्तमानको पारिलो घाम
छेकिन्छ यादको बादले
म घामप्रिय मान्छे
बादलको छेकबार
अप्रिय लाग्छ मलाई
र त
नआओस् भन्छु याद
झन् तुफान बनेर।
प्रतिक्रिया दिनुहोस !