यूएईमा नेपाल महोत्सव २०२५ हुँदै
दुबई : युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपाल महोत्सव २०२५ हुने भएको छ। नेपाली कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव मनाउने अभिप्रायले अप्रिल २० का दिन दुबईको क्रिक पार्कमा नेपाल महोत्सव आयोजना गरिएको एनआरएनए अध्यक्ष विकाश शाहीले बताए।
कार्यक्रम नेपाली राजदूतावास आबुधाबीको संरक्षकत्व तथा नेपाल एसोसिएसन एनआरएनएको संयोजकत्वमा नेपाली समाज, नेपाल बिजनेस काउन्सिल, सम्पूर्ण वैचारिक संगठनहरू, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ तथा तथा यूएईमा क्रियाशील सम्पूर्ण संघ संस्थाहरूको संयुक्त आयोजनामा हुन गइरहेको हो।
यस महोत्सवले नेपाल र यूएईबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै नेपाली समुदायबीच आपसी एकता, सहयोग र परम्परागत पहिचानको उत्सवको रूपमा मनाउने अवसर प्रदान गर्ने एनआरएनए यूएईका अध्यक्ष शाहीले बताएका छन्।
महोत्सवमा बृहत् संख्यामा विश्वभरि छरिएर रहेका नेपालीभाषी तथा नेपाली कला संस्कृतिलाई माया गर्ने व्यक्ति विशेषहरूको सहभागिता रहने आयोजकको दाबी छ। महोत्सवमा नेपालीहरूको जातीय, वर्गीय, सम्प्रदाय तथा क्षेत्रीय (तराई, पहाड, हिमाल) को मौलिक संस्कृतिको प्रदर्शन तथा प्रवर्द्धन गरिनेछ।
विभिन्न विधामा दिग्गज व्यक्तित्वहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने, नेपाल तथा यूएईमा प्रख्यात कलाकारहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुति लगायत विभिन्न कार्यक्रमहरू रहेको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !