वीरगन्ज : गाउँमा बिजुली नहुँदा जंगली जनावरको डरले संसाँझै घरभित्र छिरिहाल्थे गाउँले। बस्ती छेउकै खोलाबाट गाग्री र ग्यालेनमा भरेर ल्याएको पानी नै पिउँथे। नुहाउन र लत्ताकपडा धुने सबै काम त्यही खोलाको पानीबाट हुन्थ्यो। पर्सा राष्ट्रिय निकुञ्ञको घनाजंगल बीचमा अवस्थित शिकारीवास गाउँका स्थानीयको दुःख त्यतिमा मात्रै सीमित थिएन।
गाउँमा कसैलाई सामान्य ज्वरो आइहाल्यो भने एक चक्की सिटामोलका लागि पनि जंगलको ७ किलोमिटर गोरेटो बाटो छिचोलेर ब्रह्मानगर वा विजयवस्तीको हेल्थपोस्टमा पुग्नु पथ्र्यो। सिकिस्त बिरामी परे परिवारजन र छिमेकीले ढोड्सन् (कपडा र बाँसको झोलुंगे) मा बोकेर ७ किलोमिटर परको त्यही विजयवस्तीको हेल्थपोस्टमा पुर्याउँथे। कारण गाउँमा न हेल्थपोस्ट थियो, न एम्बुलेन्स आउन सक्ने कच्ची बाटो नै।
तर, अहिले गाउँका पोलहरूमा सोलार बत्ती झलमल्ल बल्छ। त्यसकै उज्यालोमा गृहणी महिलाले साँझ पर्दासम्म पनि गाउँका धारामा निर्धक्क भएर घरका कामधन्दा सकाउँछन्। अब खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता पनि छैन स्थानीयलाई। ५२ घरधुरी रहेको शिकारीवासका विभिन्न सात स्थानमा धाराको व्यवस्था गरिएको छ। गाउँमा कोही सिकिस्त बिरामी परिहाले अस्पतालमा लैजान गाउँमै एम्बुलेन्स आइपुग्छ (वर्षात्को समयबाहेक)। दुई वर्ष यतादेखि गाउँमै हेल्थपोस्ट पनि सञ्चालनमा आइसकेको छ। सामान्य घाउचोेट लागे, ज्वरो रुघाखोकी लागे बिरामीले गाउँमै औषधिमुलो गर्न पाउँछन्।
जंगलको बाटो थोरै भए पनि चौडा पारेर ग्राभेल गरिएको छ। जसका कारण मोटरसाइकल, ट्याक्टर, एम्बुलेन्स, साना गाडी गाउँमै आइपुग्छन्। गाउँ परको जंगलभित्रको खोलाको मुहानलाई व्यवस्थित गरेर त्यहाँबाट गाउँसम्म पाइप बिछ्याएर सात ठाउँमा धाराको व्यवस्था गरिएको स्थानीय अगुवा सुजित बस्नेत बताउँछन्। ६ वर्षपछि अन्नपूर्णकर्मी शिकारीवास पुग्दा भेटिएका बस्नेतले भने, ‘अब पहिलाको जस्तो खोलाको धमिलो पानी पिउनु परेको छैन अहिले। पालिकाको आर्थिक सहयोगमा गाउँमा सात ठाउँमा धाराको व्यवस्था गरिएको छ। यसले धेरै हदसम्म सजिलो भएको छ।’
सोलारबत्तीले उज्यालो देखिएको शिकारीवास गाउँ।
यस्तै शिकारीवासमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानीमा सोलारमार्फत विद्युतीकरण गरिएपछि गाउँ उज्यालो भएको बस्नेतले बताए। उनका अनुसार, सौर्य ऊर्जाबाट २३ किलोवाट बिजुली उत्पादन गरेर ५२ घरधुरीमा बिजुली उपलब्ध गराइएको छ। यस्तै गाउँभरि रहेका २५ वटा पोलमा पनि बत्ती बल्छ।
शिकारीवासका रैथाने ५८ वर्षीय बमभोला महतोले भने, ‘सोलारको बत्तीले गाउँ अचेल उज्यालो छ। साँझसम्म पनि महिला धारामा गएर घरको कामधन्दा सकाउँछन्। पहिलाको जस्तो साँझमा जंगली जनावरको डर अचेल हुँदैन।’
सोलारको बिजुलीबाट घरघरमा बत्ती बल्छ। टीभी, फ्रिज पनि चल्छ। ‘यसले हामी गाउँलेको जीवनशैली थोरै भए पनि फेरिएको छ’, स्थानीय अगुवा बस्नेतले भने। विगत दुई वर्षदेखि गाउँमै हेल्थ पोस्ट पनि सञ्चालनमा आएको कारण औषधि उपचारका लागि पहिलाको जस्तो सात किलोमिटर जंगलको बाटो पार गरेर अस्पतालमा जानुपर्ने बाध्यता अहिले टरेको अगुवा बस्नेतले बताए। उनले भने, ‘हेल्थपोस्टमा एक जना अहेब बस्छन्। पहिलाको जस्तो एक चक्की सिटामोलका लागि सात किलोमिटर पैदल हिँडेर जानुपर्ने बाध्यता छैन अहिले। घाउको मलमपट्टी, पानी चढाउने काम यही हुन्छ, सामान्य औषधिहरू पनि पाइन्छ अहिले।’ गाउँमा कोही सिकिस्त परे गाउँमै एम्बुलेन्स पनि आउन सक्ने भएको भन्दै उनले भने, ‘तर वर्षात्को समयमा अलि समस्या हुन्छ। आठ महिना चाहिँ एम्बुलेन्स गाउँमा सजिलै आउँछ।’
६ वर्षपहिले यही बस्ती शिकारीवासमा अन्नपूर्णकर्मी पुग्दा राज्यको उपस्थितिका रूपमा दुईकोठे जीर्ण अवस्थाको एउटा विद्यालय भवन मात्रै थियो। पाँच कक्षापछिको आधारभूत शिक्षाका लागि सात किलोमिटर जंगलको जोखिमपूर्ण बाटो हिँडेर अन्य गाउँका विद्यालयमा जानुपर्ने बाध्यता हुँदा स्थानीयका अधिकांश बालबालिका पाँच कक्षा पास गरेपछि विद्यालय नै जाँदैनथे।
तर, अहिले उक्त विद्यालयको चारकोठे भवन बन्दैछ। बस्नेतले भने, ‘अहिले त स्कुलमा विद्यार्थीको संख्या पनि बढेर ४ सय ९९ पुगिसकेको छ। चारकोठे नयाँ भवन पनि बन्दैछ। छिट्टै निर्माणको काम सकिन्छ। विद्यालयमा दुई जना स्थायी, एक निजी स्रोतका र एक बाल विकासका गरी चार जना शिक्षकहरू हुनुहुन्छ। विद्यालयको अवस्थामा पहिलेको भन्दा अहिले धेरै सुधार आउँदैछ।’
५/६ वर्षअघिसम्म ढुंगेयुगमा बाँचिरहेको जस्तो देखिने शिकारीवास गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत्लगायतका क्षेत्रमा सुधार आउँदै गर्र्दा स्थानीयले थोरै भए पनि राज्यको उपस्थिति हुन थालेको महसुस गर्न थालेका छन्।
तर अझै पनि सडकको असुविस्ता, जंगल जनावरको उपद्रो, खोलाको कटान इत्यादि समस्या भने ज्युँका त्युँ नै रहेको स्थानीयको दुःखेसो छ। स्थानीय वृद्धा लक्ष्मी चौधरीले भनिन्, ‘पहिलाको जस्तो खोलाकै पानी पिउनुपर्ने अवस्था अहिले छैन। गाउँमा धाराहरू छन्। लगाएको बालीनाली हात्ती, घोडगदाहा, बँदेलले सबै सखाप पारिदिन्छन्। सरकारले जंगली जनावरको उपद्रो रोक्ने व्यवस्था मिलाइदियो भने हामीलाई धेरै राहत मिल्थ्यो।’
गाउँमै भेटिएकी अर्की वृद्धा भंगीय देवी थरुनीले भनिन्, ‘पहिलेको भन्दा अहिले धेरै सुविस्ता छ। तर हामी अहिले पनि खरको झप्रोमै बस्नु परेको छ। सरकारले हामी गरिबका लागि कमसे कम जस्तापाता दियो भने अलि राम्रो हुन्थ्यो।’
स्थानीय बमभोला महतो थारूले नदी कटान रोक्न तटबन्ध, जंगली जनावरको उपद्रो रोक्न सोलार फेन्सको तारबार, सडकको स्तरोन्नति र विद्युतीकरण सरकारले गरिदिनुपर्ने माग गरे। उनले भने, ‘अहिले त सोलार बत्तीले काम चलिररहेको छ। तर, यो सोलार प्लान्ट कहिलेसम्म चल्ने ठेगान छैन। त्यसकारण राष्ट्रिय प्रसारणको लाइनबाट विद्युतीकरण सरकारले गरिदिनुपर्छ। सरकारले नदी कटान, जनवारको उपद्रो, विद्युतीकरण र सडकको काम गरिदियो भने शिकारीवास स्वर्ग जस्तै बन्ने उनले बताए। तर सरकार वा राजनीतिक दलका नेताहरूले आश्वासनमात्रै बाँडदै आएको उनले सुनाए। उनले भने, ‘चुनावका बेला सबै पार्टीका नेताहरू गाउँमा आउँछन्। यहाँको समस्या समाधान गरिदिन्छांै भनेर भाषण गर्छन्। तर, जितेर गएपछि भने गाउँमा मुख देखाउन पनि आउँदैनन्।’
स्थानीय अगुवा बस्नेतले पनि शिकारीवासमा खोला कटानको समस्याले गाउँलेहरू धेरै पीडित रहेको बताए। उनले भने, ‘पहिले यो गाउँमा आवादीको जग्गा १ सय ६० बिघा थियो। तर खोलाले कटान गर्दै जाँदा अहिले आवादी जग्गा ८५÷९० बिघामात्रै छ।’ ब्रह्मानगरदेखि जंगल हुँदै शिकारीवास गाउँमा पुग्ने अहिलेको ग्राभेल सडकको स्तरोन्नति, राष्ट्रिय प्रसारणको लाइनबाट विद्युतीकरण र जंगली जनावरबाट बाली जोगाउने व्यवस्था सरकारले गरिदिनु पर्ने उनको माग छ। उनले भने, ‘हाम्रो गाउँमा अहिले भनेका मुख्य यही तीन वटा समस्या छन्। सरकारको ध्यान जाओस्।’
उनले निर्वाचित जनप्रतिनिधिहरू चुनावका बेला मत माग्न मात्रै गाउँमा आउने गरेको तर जितेर गएपछि भने फेरि फर्किएर नआउने गरेको बस्नेतले भने। नेताहरूप्रति व्यंग्य गर्दै उनले भने, ‘नेताहरू त पाँच वर्षमा लाग्ने गढीमाई मेलाको जस्तै छन्। भोट माग्न आउँदा हाम्रा यी सबै समस्या समाधान गरिदिन्छांै भनेर आश्वासन दिन्छन्। तर जितेर गएपछि मुख देखाउँदैनन्। फेरि पाँच वर्षपछि अर्को चुनावमा मात्रै भोट माग्न गाउँमा आइपुग्छन्।’
बस्नेतका अनुसार पर्साको ठोरी गाउँपालिका—३ मा पर्ने शिकारीवास पर्सा र चितवन राष्ट्रिय निकुञ्जको जंगल बीचको समथर खाली भूमिमा झन्डै एक सय ५० वर्षपहिले बसाइएकोे बस्ती हो। वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने ब्रह्मनगर गाउँको चोकबाट उत्तरतिर सात किलोमिटर जंगलको कच्ची बाटो पार गरेपछि पुगिने शिकारीवास गाउँमा दुई दशक अघिसम्म झन्डै एक सय घरधुरी थिए। तर सरकारको तर्फबाट आधारभूत सेवासुविधा पुग्न नसकेपछि शिकारीवास गाउँबाट स्थानीय आफ्नो थातथलो छाडेर अन्यत्र पलायन हुँदै गए र त्यसपछि त्यहाँ अहिले ५०÷५२ घरधुरी मात्र छन्।
प्रतिक्रिया दिनुहोस !