सिद्धबाबामा सुरुङ ब्रेक थ्रु स्थानीय भन्छन्, अब त बाँचिएला

सिद्धबाबामा सुरुङ ब्रेक थ्रु स्थानीय भन्छन्, अब त बाँचिएला

बुटवल : २०७४ को असोज ७ मा गुल्मी बलेटक्सारका २४ वर्षीय यमलाल ज्ञवाली, ५१ वर्षीय तिलकराम भण्डारी र पाल्पा तिनाउ गाउँपालिकाका २८ वर्षीय माधव भण्डारी बजार गरेर फर्किंदै थिए। बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा पहिरो खसेर लु १ च ७९९४ नम्बरको कार च्याप्यो, त्यहीँ उनीहरूले अन्तिम सास लिए। 

कालोपत्रे भए पनि उबडखाबड सडक, माथिबाट निरन्तर पहिरो झर्ने भएकाले गाडी सजिलै वारपार हुन सक्दैनन्। माथि हेर्दै अघि बढ्दै गर्नुपर्ने बाध्यता छ। तर कुन चाहिँ बेला पहिरोले पुर्छ ठेगान हुँदैन। सोही वर्षको साउन २२ मा पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ५७७१ नम्बरको बसलाई सिद्धबाबा क्षेत्रमै पहिरो बगाउँदै तिनाउ नदीमा खसाल्दा तीन जनाको मृत्यु भयो।

२०७३ असार २ गते ढुंगासहितको पहिरोले लु १ च १७९ नम्बरको कार च्याप्दा लुम्बिनी मेडिकल कलेजमा कार्यरत दुई जना डाक्टरले अकालमै ज्यान गुमाए। उनीहरू प्रवासको अस्पतालमा बिरामीको उपचार गरेर भैरहवा फर्किंदै थिए।

सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डको सडक वर्षौंदेखि काल बन्दै आएको छ। यही खण्डमा २०६२ असोज पहिलो साता गुल्मीबाट बुटवलका लागि छुटेको यात्रुवाहक बस पुरियो। ट्रकलाई साइड दिने क्रममा भएको दुर्घटनामा ११ जना यात्रु पुरिए। २०५५ भदौमा पहिरोले बस बगाउँदा २६ जनाको ज्यान गएको थियो। सिद्धबाबा क्षेत्रमा भएका ठूला दुर्घटनाको फेहरिस्त यत्तिकैमा सकिँदैन। पछिल्ला वर्षहरूमा ठूलो धनजनको क्षति नभए पनि यो मार्गले औसतमा वार्षिक १२ जनाको ज्यान लिने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ।

मृत्युमार्गकै रूपमा परिचित सडकका कारण भइरहेको क्षतिलाई रोक्न वैकल्पिक उपायहरूको खोजी भयो। अध्ययनका क्रममा रकसेट, रकनेटका विकल्पमा विज्ञहरूले प्रतिवेदन दिए। तर ती उपायहरू ठूलो चट्टानी पहिरो आउने सिद्धबाबा क्षेत्रमा प्रभावकारी नहुने देखियो। सबै उपायको अध्ययनपछि अन्ततः सिद्धबाबामा सुरुङ बनाउने निष्कर्ष निस्कियो।

सुरुङ बनाउने निष्कर्ष निस्किए पनि काम अघि बढ्न सकेको थिएन। २०७६ सालमा रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेल अर्थमन्त्री थिए। उनै अर्थमन्त्री पौडेलले २०७६ मंसिर १ गते १० अर्ब १५ करोडको स्रोत सुनिश्चितताको निर्णय लिए। भौतिक पूर्वाधार मन्त्रालयले सोही रकमको स्रोत सुनिश्चितता भए योजना अघि बढाउन सकिने भन्दै अर्थ मन्त्रालयलाई कात्तिक १५ मा पत्र लेखेको थियो। बजेट सुनिश्चित भएको दुई वर्षपछि २०७८ जेठ ९ मा ग्लोबल टेन्डर आह्वान गरिएको थियो।

सडक यात्रुको अकाल मृत्युलाई रोक्नका लागि सुरुङमार्गको विकल्प नदेखिए पनि योजना अगाडि बढाउन स्रोत सुनिश्चित गर्ने निर्णय लिएका उनै उपप्रधान तथा अर्थमन्त्री पौडेलकै सामुन्नेमा शुक्रबार सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु भएको छ। 

२०८३ मा निर्माण सक्ने योजनासहित यो सुरुङमार्ग बनाउन गत वर्ष माघ ४ गतेबाट काम थालिएको थियो। १ हजार १ सय २६ मिटरको सुरुङ वारपार छिचोलिएको छ। सुरुङमार्गकी इन्जिनियर सविता ज्ञवालीका अनुसार बाँकी रहेको एक मिटर खन्ने काम शुक्रबार सकिएको हो। 

ब्रेक थ्रु भएको सुरुङमार्गको कुल काम भने ४० प्रतिशत भएको छ। बुटवलतर्फबाट सुरुङको ढलानको काम निरन्तर अघि बढाइएको छ। आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बाँकी रहेको काम तोकिएकै समयमा सम्पन्न गरिने बताउँछन्। 

सुरुङमार्ग निर्माणको ठेक्का चिनिया कम्पनीले पाएको छ। तीन सिफ्टमा काम गराउँदै कम्पनीले एक वर्षमै सुरुङ छिचोल्न सकेको हो। यो कम्पनीले निर्माण सकेपछि पाँच वर्षसम्म मर्मतको कामसमेत गर्नेछ। 

सुरुङमार्ग बनेको त्यही क्षेत्र हो, जहाँ कैयौं नागरिकहरू पहिरोमा पुरिएका थिए। सिद्धबाबा मन्दिरदेखि रामापिक्षेकस पार्कसम्म सुरुङमार्गको टनेल रहेको छ। सिद्धबाबाको जोखिमयुक्त क्षेत्रमा दुई लेनको सडक निर्माणसमेत आयोजनाअन्तर्गत राखिएको छ। सडकको माथिल्लो क्षेत्रमा सुरक्षा संरचना बनाई पहिरोलाई पन्छ्याउने उपाय अपनाइने योजना रहेको छ।

२०२२ सालमा भारतीय इन्जिनियरहरूको डिजाइनमा सिद्धार्थ राजमार्गको सुरु भएको थियो। २०२८ सालमा पोखरासम्मको सडक बनेर सकिएको थियो। यो सडकलाई डबल लेनको डेडिकेटेड सडक बनाउने योजना सरकारले बनाएको छ।

ड्रिम प्रोजेक्टले उत्साह

२०७४ मा सिद्धबाबा सुरुङमार्ग निर्माणको विस्तृत अध्ययनका लागि बजेट विनियोजन गरिएको थियो। शुक्रबार सुरुङको ब्रेक थु्र भएको हेरेका उपप्रधान तथा अर्थमन्त्री पौडेलले सिद्धबाबा सुरुङमार्गको सपना साकार भइरहेको भन्दै खुसी व्यक्त गरे। ‘सिद्धबाबाको वर्षाैंदेखि दुःख दिइरहेको कुहिरेभीरमा सुरुङ बनाउने योजना बनाउँदा बजेट सक्न खोजेको आरोप लगाउनेहरू पनि थिए, उनले भने ‘अहिले सुरुङमार्गले मूर्तरूप लिँदैछ। यात्रुहरूले सुरक्षित यात्रा गर्नेछन्।’ उनले लाखौं पर्यटकहरू सुरुङमार्ग हुँदै बुटवल पोखरा गर्न सक्ने भन्दै यो महŒवपूर्ण योजना भएको बताए। उनले यो मृत्युमार्ग नभई जीवनमार्गका रूपमा रहनेछ।

आयोजनाको कठिन काम सकिएको भन्दै बाँकी काम छिट्टै सम्पन्न हुने उनले बताए। उनले स्विस सरकारलाई पनि धन्यवाद दिए। स्विस सरकारले यसको अध्ययनमा सहयोग गरेको थियो। उनले सुरुङमार्गसँगै सिद्धार्थ राजमार्गको स्तरोन्नति गरिने उनले बताए। सुरुङको ब्रेक थ्रु भएको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट हेरे भने उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल सिद्धबाबा पुगेका थिए। भौतिक पूर्वाधार मन्त्रालयले यसलाई उत्सवकै रूपमा मनाएको थियो।

सयौंले यात्रुले गर्छन् यात्रा

सिद्धबाबा खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ, म्याग्दीका लागि दैनिक सयौं यात्रुहरू यात्रा गर्छन्। यही सडक मार्गबाट सयौं सवारीहरूले सोझो रुटमा यात्रु बोक्दै आएका छन्।

हामीलाई बुटवल झरेपछि कसरी घर फर्किने चिन्ता हुन्छ। घरमा बसेकाले बारम्बार फोन गरिरहन्छन्। सुरुङमार्गले यात्रा गर्दाको चिन्ता पक्कै हट्नेछ। अब त पक्कै बाँचिएला। विष्णप्रसाद पाण्डे, शिक्षक, दोभान माध्यमिक विद्यालय

सिद्धबाबा क्षेत्रमा बर्खामा मात्रै होइन, हिउँदमा पनि पहिरोको जोखिम थियो। हिउँदै आएको पहिरोले कैयौं सवारीसाधन पुरेको छ। सुरुङमार्गले अत्यन्त जोखिम क्षेत्रको चार किलोमिटरको जोखिम घटाएको छ।

बुटवलको सिमाना तल्लो सिद्धबाबादेखि झुम्सासम्मको ९ किलोमिटर क्षेत्र अत्यन्तै जोखिमपूर्ण मानिन्छ। सडक निर्माण गर्दा कमजोर भौगर्भिक स्थानबाट रेखांकन भएकाले पनि अहिले समस्या भएको विज्ञहरू बताउँछन्। जसले गर्दा सडक मर्मतसम्भार गर्नसमेत चुनौतीपूर्ण हुने गरेको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्र अन्यत्रभन्दा बढी जोखिमपूर्ण मानिन्छ। झन्डै चार किलोमिटर क्षेत्रमा पछिल्लो १४ वर्षमा ९८ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा छ। यस अवधिमा ६७ दुर्घटना हुँदा उनीहरूको ज्यान गएको हो। १८ वर्षको तथ्यांकमा तानसेन बुटवल ३८ किलोमिटर सडकमा दुई सयभन्दा बढीको ज्यान गएको छ। सात सय बढी घाइते र अंगभंग भएका छन्।

यो मार्ग यात्रु आवतजावत मात्रै होइन, पहाडी जिल्लाको कृषि उपज ल्याउने प्रमुख मार्ग हो। गुल्मी, पाल्पा, स्याङ्जाका कृषि उत्पादनहरूको ढुवानीको एकमात्रै सडक हो यो। दैनिक सयौं किसानहरू तरकारी बिक्री गर्न मात्रै बुटवल झर्ने गर्छन्।

स्थानीय भन्छन्, अब त बाँचिएला

पाल्पाको तिनाउ गाउँपालिकाका लागि सदरमुकाम तानसेनभन्दा बुटवल नजिक पर्छ। बजारमा किनमेलमात्रै होइन, बालबालिकाहरू अध्ययनका लागि पनि बुटवल झर्छन्। उनीहरूका लागि सिद्धबाबा खण्ड सधैं अवरोध बनिरहेको थियो। अभिभावकलाई सधैंको चिन्ता थियो, बुटवल गएकाहरू कसरी घर फर्किन्छन्।

तिनाउ गाउँपालिका दोभानका शिक्षक विष्णुप्रसाद पाण्डे भन्छन्, ‘हामीलाई बुटवल झरेपछि कसरी घर फर्किने चिन्ता हुन्छ। घरमा बसेकाले बारम्बार फोन गरिरहन्छन्। सुरुङमार्गले यात्रा गर्दाको चिन्ता हट्नेछ।’ उनले थपे, अब त पक्कै बाँचिएला।

तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले अब मृत्युमार्गको नाम फेरिने भन्दै उत्साह व्यक्त गरे। ‘हामी त निकै हर्षित छौं, हाम्रै पालिकामा महŒवपूर्ण योजना बनेको छ, अब हाम्रो यात्रा सुरक्षित हुन्छ, नागरिकले अकालमा मर्नुपर्ने छैन, उनले भने।

सिद्धबाबामा बनेको सुरुङमार्गले तिनाउ गाउँपालिकाको आम्दानीमा पनि महŒवपूर्ण टेवा पु¥याउने उनले बताए। तिनाउ तथा पाल्पाका अन्य गाउँपालिकामा रहेका चुनढुंगाको ढुवानीमा पनि सडकमार्ग बाधक बनेको थियो। यसले व्यवसायमा पनि महŒवपूर्ण फाइदा हुने चुनढुंगा ढुवानी व्यवसायीहरू बताउँछन्।

हामी त निकै हर्षित छौं, हाम्रै पालिकामा महत्वपूर्ण योजना बनेको छ, अब हाम्रो यात्रा सुरक्षित हुन्छ। नागरिकले अकालमा मर्नुपर्ने छैन। तरकारी बेच्न जाँदा पनि फर्केर आउन सकिँदैन कि भन्ने थियो। अब त ढुक्कले हिँड्न सकिन्छ। प्रेम श्रेष्ठ, अध्यक्ष, तिनाउ गाउँपालिका, पाल्पा

बुटवल–तम्घास जिप चलाउँदै आएका चालक श्रीराम महतले सुरुङबाट कहिले गुड्न पाइएला भन्ने प्रतीक्षामा रहेको बताउँछन्। ‘सधैं सिद्धबाबा आउँदा मरिन्छ कि भन्ने डर हुने, उनी भन्छन्, अब त कमसेकम पहिरोले नबगाउँला नि।’ उनले आफूहरू कैयौं पटक पहिरोले थुनिएर यात्रा गर्नु परेको भन्दै सुरुङमार्ग बनाएकोमा सरकारलाई धन्यवादसमेत दिए। उनले तानसेनसम्मको अन्य जोखिमको बाटोलाई पनि चिल्लो बनाउन माग गरे। 

कहिले हिँड्नेछन् सुरुङबाट गाडी ? 

सुरुङमार्गको हालसम्म भौतिक प्रगति ३९ दशमलव २ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ९ प्रतिशत भएको आयोजना प्रमुख अधिकारीले बताए। मुख्य टनेलको १ हजार १ सय २६ मिटर खनी सकिएको छ। यसमा तीन थप बाइपास सुरुङ छन्। बाइपाससहित १ हजार ५ सय ३० मिटर खनिएको छ। 

मुख्य टनेलको झन्डै दुई सय मिटर ढलानको काम पनि सकिएको छ। कडा चट्टानमा बनेको सुरुङमा विभिन्न स्थानमा पानीको झरना नै देखिएका छन्। पानी नरसाउने गरी टनेललाई प्लास्टिक राखेर रडसहितको ढलान गरिएको छ। निर्माणको काम समयमै सक्नका लागि १ सय ५० बढी प्राविधिक तथा मजदुरहरूले रातदिन काम गरिरहेका छन्।

सुरुङमार्गले कैयौंको यात्रालाई सहज बनाएको छ। सपनाको योजनाले साकार रूपमा पाउँदा सबैजना उत्साहित हुनुहुन्छ। यो योजनालाई समयमै सक्नेतर्फ सरकारको ध्यान रहेको छ। विष्णुप्रसाद पौडेल, उपप्रधान तथा अर्थमन्त्री, नेपाल सरकार

सुरुङमार्ग निर्माणको ठेक्का ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले लिएको छ। आयोजना प्रमुख अधिकारीका अनुसार आयोजनाको कुल लागत ७ अर्ब ३४ करोड २१ लाख छ। पाँच वर्षभित्र निर्माणको सबै काम पूरा गर्ने गरी २०७८ साल फागुनमा परियोजनाको सम्झौता गरिएको थियो। सुरुङमार्ग निर्माणका लागि स्विस सरकारले सहयोग गरेको छ। तोकिएको समयमै योजना सकिए २०८३ बाट सुरुङ प्रयोग गर्न सकिनेछ।

योजना प्रमुख अधिकारीका अनुसार रकसेड, पहुँच सडकको निर्माण, सुरुङभित्र भेन्टिलेसन, लाइनिङ, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम बाँकी रहेका छन्। उत्तरतर्फ पोर्टलबाट १ हजार १ वर्गमिटर र दक्षिणतर्फ २ हजार ३ सय वर्गमिटर स्क्वायर क्षेत्रमा स्लोप निर्माण हुनेछ। त्यसमध्ये उत्तरमा हालसम्म झन्डै पाँच सय र दक्षिणमा १ हजार ४ सयभन्दा बढी वर्गमिटरमा निर्माण गरिएको छ।

सुरुङमार्ग निर्माण गरिएको चट्टानसहितको पहिरोमा पनि १७ हजार ६० वर्गमिटरमा स्लोप निर्माण गरिनेछन्। यी कामहरू अब निरन्तर अघि बढ्ने अधिकारीले बताए।

सुरुङमार्गले कैयौंको यात्रालाई सहज बनाएको छ। सपनाको योजनाले साकार रूपमा पाउँदा सबैजना उत्साहित हुनुहुन्छ। यो योजनालाई समयमै सक्नेतर्फ सरकारको ध्यान रहेको छ। विष्णुप्रसाद पौडेल, उपप्रधान तथा अर्थमन्त्री, नेपाल सरकार

हालसम्म करिब दुई हजार वर्गमिटरमा स्लोप निर्माण भएको छ। सडकभन्दा तल तिनाउ नदीतर्फको भागमा पनि झन्डै दुई हजार वर्गमिटरमा स्लोप निर्माण गरिनेछ। सुरुङमार्गपछि दक्षिणतर्फको पोर्टलदेखि बुटवल चिडियाखोलासम्म ९ सय १० मिटर र उत्तरतर्फको पोर्टलदेखि पाल्पाको दोभानतर्फ ५ सय ६० मिटर सडक दुई लेनमा निर्माण हुनेछ। यही आयोजनाअन्तर्गत साढे ३ किलोमिटर सडक सुरक्षित बनाउन रकसेट प्रविधिसहितका उपायहरू अवलम्बन गरी सडक बनाइनेछ।

आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुइटा आकस्मिक हेलिप्याड र दुइटा प्राविधिक भवन निर्माण गरिनेछ। सम्झौता अवधिभित्रै काम पूरा गर्ने लक्ष्य लिइएको प्रमुख अधिकारीले बताए। दुवैतिरको भाग शुक्रबार छिचोलिएकाले पहिलो चरणमा नाली निर्माण, भेन्टिलेसन, लाइट जडान, सडक कालोपत्रे र अन्तिम लाइनिङको काम हुने उनले जानकारी दिए। विस्फोटक पदार्थ प्रयोग गरेर काम गर्न थालिएपछि निर्माणले गति लिएको थियो।

पर्यटन व्यवसायीमा उत्साह

मुलुकको पर्यटक नगरीका रूपमा परिचित पोखराका लागि दक्षिणतर्फका सबैभन्दा छोटो बाटो सिद्धार्थ राजमार्ग हो। भारतीय पर्यटकसहित तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै आउने पर्यटकहरू यही सडकबाट पोखरा हुँदै मुस्ताङ, मनाङसम्म पुग्छन्। तर सिद्धबाबाको जोखिमपूर्ण सडकका कारण पर्यटक बोकेका बसहरू चितवन हुँदै जानुपर्ने बाध्यता छ।

पोखरा र ढोरपाटन पर्यटक पठाउनका लागि राम्रो सडक नै थिएन। भएको सडक पनि हिँड्नै निकै जोखिम थियो। अब सुरुङ बनेपछि पर्यटकलाई गाडी चढाएर सिधै पोखरा र ढोरपाटनमा पर्यटक पठाउन सकिन्छ। रचना भट्टराई, पर्यटन व्यवसायी, रूपन्देही 

मुख्य जोखिम क्षेत्रमा सुरुङमार्ग बनेपछि पर्यटकका लागि सुरक्षित यात्रा हुने पर्यटन व्यवसायीहरू बताउछन्। नाटा रूपन्देहीकी पूर्वअध्यक्ष रचना भट्टराई पर्यटकलाई ढुक्कले यात्रा गर्न सकिन्छ भन्ने वातावरण सिर्जना भएको बताउँछिन्। ‘७० प्रतिशत जोखिम घटेको छ, यात्रा गर्दा मुटु ढुक्क बनाउन पर्नेछैन, उनले भनिन्, यत्ति सुरुङले पनि पोखरा र ढोरपाटनमा पर्यटक पठाउदा ढुक्कसँग जान सकिन्छ भन्ने अवस्था सिर्जना भयो।’
पोखराका पर्यटन व्यवसायीहरूले पनि सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गर्दै सिद्धबाबाको जोखिमलाई अन्त्य गर्न बारम्बार माग गर्दै आइरहेका थिए। यो सुरुङमार्ग बनेपछि भैरहवा, पोखरा यात्रा सजिलो हुने देखिएको छ। पोखरा तथा हिमाली क्षेत्रमा जाने पर्यटकहरूलाई समय बचत हुने भएकाले यो सडक प्रयोग गर्ने विश्वास पर्यटन व्यवसायीको छ।

सुरुङमार्गले सडकको सहज निकास दिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबाको सुरुङले जोखिमपूर्ण सडकको सहज निकास बनाएको बताए। आफू निरीक्षण गर्न जाँदा यस्तोमा पनि सुरुङमार्ग बन्छ र ? भन्ने पनि भेटिएको स्मरण गर्दै उनले यो सुरुङमार्गले सिद्धार्थ राजमार्गलाई सहज बनाएको बताए।

सुरुङमार्गको मुख्य टनेलको भर्चुअल माध्यमबाट ब्रेक थ्रु गरेका प्रधानमन्त्री ओलीले सुरुङले कृषि उत्पादन ओसारपसारदेखि पर्यटकीय यात्राका लागि सहज यात्रा बनाएको बताए। ‘तपाईंहरूलाई बधाई छ, सहज यात्रा पाउनु भएको छ, शुभकामना पनि छ, यसको भरपूर उपयोग गर्नुहोला, उनले भने। सिद्धबाबाको सुरुङ हुँदै पर्यटकहरू सहज रूपमा पोखरासम्म पुग्न सक्ने उनले बताए।

मुलुक सुरुङ युगमा प्रवेश गरेको भन्दै यसले पहाडका कन्दरा बन्ने सडक पूर्वाधारलाई सहज बनाउने बताए। सुरुङमार्गपछि मनमा दुर्घटनाको त्रास बोकेर यात्रा गर्नु नपर्ने भन्दै दुर्गम क्षेत्रहरूलाई सुरुङबाट सहज रूपमा जोडिने उनले बताए।

मुलुकका सबै जिल्ला सदरमुकाममा सडक सञ्जाल रहेको भन्दै अब दुर्गम रहिरहेको भन्न नमिल्ने पनि उनले बताए। अझै पनि सबै क्षेत्रलाई सुगम र रमाइला क्षेत्रका रूपमा विकास गर्नका लागि सुरुङ, सडक, पुल, केबलकारहरू बनाउँदै लगिने उनले बताए। प्रधानमन्त्री ओलीले सिद्धबाबाको सुरुङ ऐतिहासिक विकासका रूपमा रहने उनले बताए। ‘हामी हाम्रो देश आफैं बनाउनेछौं, हाम्रो अनुकूलतामा ऋण, अनुदान पनि स्वीकार गर्नेछौं, उनले भने, अब मुलुक अविकसित रहिरहँदैन। सबैको साथ र सहयोगमा अघि बढ्छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.