वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं : वैदेशिक रोजगारमा माल्टा पठाइदिने भनेर ठगी गर्ने व्यक्ति पक्राउ पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको बेरौली नगरपालिका-१० घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने ३२ वर्षीय केशव राज जोशी रहेका छन्।
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा माल्टा पठाउने भनी रकम लिएर विदेश नपठाई उनी सम्पर्क विहीन भएका थिए। माल्टा लैजाने भनी पीडितहरूलाई वर्किङ भिसा देखाई विश्वास दिलाएकोमा पीडितहरू कतार पुग्दा त्यहाँको अध्यागमनले नक्कली भिसा भनी पीडितहरूलाई जेल समेत पठाई डिपोट गरी नेपाल फर्काएको थियो।
पीडितहरूले वैदेशिक रोजगार विभागमा जाहेरी दिएको पछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बबरमहलबाट पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको सूचना अधिकारी काजी कुमार आचार्यले बताए।
प्रतिक्रिया दिनुहोस !