आज देशका यी स्थानमा हुरिबतास आउने, सचेत रहन आग्रह
काठमाडौं : आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हुरीबतासको सम्भाावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै विभागले ती भूभागमा रहने सबैलाई सचेत रहन आग्रह पनि गरेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशलगायत मुलुकका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोसी र कर्णाली प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरू र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ।
मंगलबार देशका पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ जनाइएको छ।