पहुँचमार्ग मर्मत गर्न राहुघाट बेसीनका जलविद्युत आयोजनाहरूको बेवास्ता

पहुँचमार्ग मर्मत गर्न राहुघाट बेसीनका जलविद्युत आयोजनाहरूको बेवास्ता
सुन्नुहोस्

मौवाफाँट : म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाले प्रयोग गर्ने पहुँच मार्ग मर्मत र स्तरोन्नति गर्न उदासिनता देखाउँदा दुर्घटनाको जोखिम, धूलो र हिलोको समस्या बढेको छ। संसारको सातौ (८,१६७ मिटर) अग्लो धवलागिरी हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीहरूमा १६७.३ मेगावाट क्षमताका ५ वटा जलविद्युत आयोजना निर्माणाधीन छन्।

 
तिल्केनीचौर देखि मौवाफाँट– दग्नाम –दर्मीजा–चिमखोला–घ्याँसीखर्क हुँदै सेतिनी भ्यालीसम्म जलविद्युत आयोजनाहरूले उपकरण र निर्माण सामग्री ढुवानी गर्न बनाएको सडक साँघुरो, धूलो र ग्रेड नमिलेका कारण जोखिमयुक्त बनेको छ। जलविद्युत आयोजनाहरूले सडक मर्मतमा बेवास्ता गरेपछि गाउँपालिकाको केन्द्र मौवाफाँटका बासिन्दाहरूले बिहीबार र शुक्रबार दिनभर जलविद्युत आयोजनाका सवारी साधन सञ्चालन गर्न अवरोध गरेका थिए। 

गाउँपालिकाको कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय छलफलमा जलविद्युत आयोजनाहरूले पूर्ववत् प्रतिबद्धता अनुसार सडकलाई ग्राभेल सहित स्तरोन्नति गर्ने र नियमित रुपमा सडकको धूलो कम गर्न पानी हाल्ने काम सुरु गर्ने सहमती भएपछि शनिबार बिहानदेखि सडक सुचारु भएको छ। 

यस अघि गाउँपालिकासँग जलविद्युत आयोजनाहरूले गरेको प्रतिबद्धता अनुसारको काम नभएपछि स्थानीयबासीले सडक अबरोध गरेको र तत्काल ग्राभेल गर्ने सहमति भएपछि सडक सुचारु भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।  

रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणाधीन छन्। 

जलविद्युत आयोजना र निर्माण कम्पनीका प्रतिनिधि तथा, स्थानीय सरोकारवालाहरू समेतको बैठकमा बेनी–जोमसोम सडकखण्डस्थित घुमाउनेतालदेखि पीपले हुँदै मौवाफाँट क्षेत्रको सडकलाई लेबलिङ्ग, ग्रेडिङ र ग्राभेलसहित सडक स्तरोन्नति गर्ने सहमती भएको छ।
 
घुमाउनेताल देखि च्यानडाँडा सम्मको सडकमा रघुगंगा हाइड्रोपावर कम्पनीले सडक लेवलिङ्ग र ग्रेडीङ्ग तथा सडक ग्राभेलको कार्य गर्ने र राहुघाट जलविद्युतको ठेकेदार जेपी एशोशियट्स कम्पनीले घुमाउनेताल देखि झिँ र दग्नाम जाने चोक सम्म तथा रघुगंगा माविको सरसाफ्ट सम्मको ड्रेनको काम गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ। 

त्यसैगरी च्यानडाँडादेखि अँधेरीखोला र माथिल्लो भेगको सडक मर्मत गर्नुपर्ने स्थानसम्म सडक लेवलिङ्ग र ग्रेडीङ्ग तथा सडक ग्राभेल निर्माण कार्य तुँदी पावर कम्पनी, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाले गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए।

‘सडक स्तरोन्नतिको लागत अनुमान तयार गर्ने र नाप जाँचमा गाउँपालिकाका प्राविधिकहरूलाई खटाउँछौँ, पटक पटकको सहमति जलविद्युत आयोजनाहरूले कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको छ,’ उनले भने ‘यस पटकको निर्णयलाई पालना गराउन गाउँपालिकाले निरन्तर पहलकदमी लिन्छ।’

बैठकमा वडा नम्बर ३ पीपलेका वडाध्यक्ष खिमबहादुर शाहीले पटक पटक भएका सहमति पालना नगरेको कारण स्थानीयबासी सडक अवरोधमा उत्रनुपरेको बताउँदै तत्काल सहमति पालना गरेर सडकलाई स्तरोन्नति गर्न जलविद्युत आयोजनालाई निर्देशन दिए। 
 
बैठकमा राहुघाट जलविद्युतको विद्युतगृह रहेको तिल्किनी उपल्लो आर्यघाटमा जमिनको लम्बाइ तथा चौडाइ अनुसार प्रतीक्षालय निर्माण गर्ने र आर्यघाट परिसरमा आयोजनाले राखेको ढुङ्गा तथा माटो आर्यघाट परिसरबाट खाली गर्ने निर्णय समेत भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.