महाकुम्भ महामेला

महाकुम्भ महास्नान

महाकुम्भ महास्नान

चतराधाम/वराहक्षेत्र, सुनसरी : ‘२२ वर्षपछि नेपालमै कुम्भ स्नान गर्न पाएँ’, वराह क्षेत्रस्थित कौशिकी नदी तटमा स्नान गरेपछि धनगढीकी सावित्रा भट्टले खुसीका आँसु बगाउँदै भनिन्, ‘नेपालमै कुम्भ लाग्दैछ भन्ने सुनेको थिएँ, आउने अनुकूल परेको थिएन।

अर्ध र पूर्ण कुम्भहरू आए गए तर मेरो कुम्भ स्नानको साइत बल्ल आयो।’ ६७ वर्षीया उनले यसअघि भारतका कुम्भ जाने गरेको बताइन्। ‘कुम्भ स्नानको महत्त्व चानचुने होइन भन्ने अरूबाटै सुनेको थिएँ, चतरामा जगद्गुरु बालसन्तको प्रवचन सुनेपछि अझै धेरै महत्त्व बुझें’, उनले अन्नपूर्णसँग भनिन्, ‘कुम्भ राष्ट्रको गौरव पनि हो भन्ने बुझेपछि त यति टाढाबाट धाएर आएको सार्थकता पुष्टि भयो।’

हरेक ६ वर्षमा अर्ध कुम्भ र १२ वर्षमा पूर्ण कुम्भ लाग्ने सुनसरीको चतरामा यतिबेला पूर्ण कुम्भ अर्थात् महाकुम्भ चलिरहेको छ। वराहक्षेत्र नगर क्षेत्रको कौशिकी (कोका) नदीमा २०८० चैत २७ गतेदेखि पूर्ण कुम्भ सुरु भएको हो। एकमहिने उक्त महाकुम्भ मेला २०८१ वैशाख २८ गते सम्पन्न हुनेछ। वराह क्षेत्र र चतराको कौशिकी (सप्तकोशी नदी)मा स्नान गर्न देश विदेशबाट लाखौं हिन्दुधर्मावलम्बीको भिड लाग्ने गरेको कुम्भ मेला मूल आयोजक समितिका सचिव चन्द्र मगरको भनाइ छ। उनले झन्डै ४० लाखले मेलामा सहभागी भइसकेको बताए।null

झापा बिर्तामोडका मीनबहादुर खड्का २०५९ देखि सुरु भएको कुम्भको अर्ध र पूर्ण दुवै मेलामा निरन्तर सहभागी हुँदै आएका छन्। ‘नेपालमा कुम्भ लागेदेखि लगातार स्नान गर्ने अवसर जुरेको छ’, परिवार लिएर चतरा पुगेका ५५ वर्षीय उनले भने, ‘नेपालमा कुम्भ नलाग्दा भारत पनि धाइयो तर धेरै सास्ती हुन्थ्यो। आफ्नो देश भनेको आफ्नै हो। भाषा मिल्छ, सबैबाट सरसहयोग हुन्छ। कुम्भ स्नान एकदमै सहज भएको छ नेपालीका लागि।’ उनले बरु भारतका हरिद्वार, उज्ज्वैन, प्रयाग आदि ठाउँमा अमृतका थोपा झरेको तर नेपालको कौशिकीमा अमृतको तर नै खसेको शास्त्रहरूमा वर्णन भएको थाहा पाएपछि नेपाल राष्ट्रप्रति आफूलाई झनै गौरव लागेको बताए।

प्राचीन हरिद्वार कुम्भको राजधानी

कुम्भ स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने जनविश्वास छ। आयोजक समितिले महाकुम्भमा आउने भक्तजनका लागि पाँचवटा स्थानमा स्नान स्थल निर्माण गरेको जनाएको छ। सप्तकोशीमा एकैपटक पाँच हजार बढीले स्नान गर्ने प्रबन्ध मिलाइएको आयोजकको भनाइ छ। कुम्भमा नेपालसहित विश्वका आठ मुलुकबाट गरी झन्डै दुई करोड हाराहारीमा भक्तजन आउने दाबी आयोजकले गरेको छ। कुम्भमा आउने भक्तजन बिरामी पर्दा उपचारको व्यवस्थासमेत गरिएको छ। भक्तजनका लागि बसोबास र खानाको व्यवस्था गरिएको छ। धरान र विराटनगरका मारवाडी समुदायले खानाको निःशुल्क रूपमा व्यवस्था गरेका छन्।null

‘कुम्भमा आउने सबै भक्तजनलाई दाल, भात, तरकारी र अचारसम्मको व्यवस्थापन गरिएको रहेछ’, विराटनगरबाट आएकी जुनू कार्की भन्छिन्, ‘दैनिक हजारौंलाई बिहान–बेलुकी यति व्यवस्थित ढंगले खुवाउनु पनि चानचुने कर्म होइन।’ उनीसँगै आएकी अमृता रानामगरले भने आफूहरूले राधाकृष्ण मन्दिर परिसरको चउरमा रात बिताउनु परेको बताइन्। ‘तर गुनासो किन छैन भने यत्रो जनसागरलाई सुत्ने व्यवस्था सम्भव पनि छैन’, उनले भनिन्, ‘चउरभरि के युवा के वृद्धवृद्धा सबै लडेका ठाउँमा हामीले पनि रात कटायौं बरु छुट्टै अनुभव बटुल्यौं।’ मेला सोचे जति व्यवस्थित नभए पनि अव्यवस्थित नरहेको उनले प्रतिक्रिया दिइन्।

अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोशी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कुम्भ मेलाको आयोजना गरिएको पाइन्छ। समुन्द्र मन्थनपछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बीच भएको लुछातानीका क्रममा जहाँ–जहाँ अमृत खस्यो, त्यहाँत्यहाँ कुम्भ पर्व लाग्ने गरेको पाइन्छ। नेपालको चतराधाममा अमृतको छाली नै खसेकाले कुम्भको चतराधाम राजधानी मान्ने गरिएको चतराका स्थानीय बासिन्दा युवराज श्रेष्ठले बताए। चतरालाई प्राचीन हरिद्वार भनेर पनि चिनिन्छ।

राष्ट्रपतिबाट महाकुम्भको उद्घाटन

१२ वर्षे पूर्णकुम्भ मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए। उनले वराह क्षेत्रको गुरुयोजना तयार गरी दीर्घकालीन विकासमा योगदान गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । उनले भनेका थिए, ‘तीनै तहका सरकारले वराह क्षेत्रको विकास गर्न वार्षिक नीति तथा कार्यक्रममा समेटेर आकर्षक धार्मिक एवं पर्यटकीय स्थलको रूपमा विकास गर्नुपर्ने आवश्यकता छ। यो राष्ट्रको गौरवको विषय हो।’

कुम्भ मेलाले वराह क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सघाउ पुर्‍याउने पनि राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका थिए। कुम्भ मेलाले सबै जात, जाति, धर्म, सम्प्रदाय र भाषाभाषीबीच सद्भाव कायम गर्ने उनको भनाइ थियो। चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्नेछ। पूर्ण महाकुम्भ मेलाका उद्घाटनका क्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुम्भ मेलाले आर्थिक गतिविधिलाई चलायमान बनाएको बताए। उनले भने, ‘धार्मिक मेलामार्फत जनताको आर्थिक र सांस्कृतिक गतिविधिमार्फत नेपाललाई नयाँ बाटोमा डोर्‍याउनेमा विश्वस्त छु।’

कुम्भ स्नान गर्नुपर्ने शास्त्रीय कारण

कुम्भको सबैभन्दा विशेष पक्ष भनेकै स्नान नै हो। यसको महत्त्व नै नुहाउनुमा छ। जगद्गुरु बालसन्तका अनुसार, दोस्रो, कुम्भमा साधुसन्तको दर्शन गर्नु नै हो। तेस्रो, इहलोकमा सुख प्राप्तिका लागि भगवान्को यजन गरिन्छ। जुन कुम्भमा हुन्छ।

चौथो, कुम्भ मेलाका बेला गरेको पुण्यचाहिँ अक्षय हुन्छ, कहिल्यै नास नहुने प्रकृतिको हुन्छ। पाँचौं कारण, ठूलाठूला महापुरुष भेला भएर राष्ट्र के हो ? मातृभूमि के हो ? देश प्रेम के हो ? आदि महत्त्वपूर्ण विषयहरूमा जनतालाई जानकारी गराउँथे। कुम्भको महत्त्व यो पाँचौं हो। राष्ट्रभक्तको जागरण चानचुने विषय होइन। कुम्भ राष्ट्रको यज्ञ पनि हो।

कुम्भ मेलाका परिकल्पनाकार बालसन्त

नेपालमै कुम्भ सम्भव छ भनेर शास्त्रीय प्रमाण जुटाएका थिए, नेपालका प्रथम जगद्गुरु वालसन्त मोहनशरण देवाचार्यले। कुम्भ मेलाका परिकल्पनाकार उनले पटकपटक कुम्भ मेला नेपालको गौरवसँग जोडिएको बताउँदै आएका छन्। उनले भनेका छन्, ‘सुनसरीको कौशिकी नदीमा हुने कुम्भलाई धर्मसँग मात्र जोडेर हेर्नु न्यायसंगत हुँदैन।

कुम्भ नेपाली जनता र देशसँग जोडिएको राष्ट्रिय गौरवको विषय हो। कुम्भको व्यापक प्रचारप्रसार गर्ने र सोहीअनुसार व्यवस्थापन गर्ने हो भने धार्मिक एवं सांस्कृतिक पर्यटकको संख्या पनि यसैबाट लाखौं हुन्छ।’ उनले नेपाल चिनाउन कुम्भ एउटा गतिलो आधार भएको बताएका छन्।

null

नेपालमा पहिलो पटक २०५९ सालको चैत शुक्ल प्रतिपदा अर्थात् चैत ६ गतेदेखि वैशाख शुक्ल तृतीयासम्म एक महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो। चतराधाममा २०६३/६४ मा दोस्रो कुम्भ, २०७०/७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला लागेको थियो। २०८०/८१ मा अहिले पूर्ण महाकुम्भ मेला चलिरहेको छ।

वराह क्षेत्र (कोका–कौशिकी नदी)को महिमा

‘भगवान् वराह जुन अवतार धरतीको पहिलो अवतार हो, यो अवतार धारण गरेर भगवान् विराजमान हुनुभएको भन्ने शास्त्रीय प्रमाण भेटिन्छन् त्यसैले यस ठाउँलाई नै अहिले वराह क्षेत्र भनिन्छ’, प्रथम जगद्गुरु पीठका व्यवस्थापक बिहारीशरण उपाध्याय भन्छन्, ‘यसै अर्थमा यहाँको नगरपालिकाको नाम पनि वराह क्षेत्र नगरपालिका छ। वराह क्षेत्र धाम जहाँकुम्भ स्नान हुन्छ, यो सुनसरी जिल्लाको चतराधामको सिरानमा पर्छ।’

nullउपाध्यायका अनुसार, जब हिरण्याक्षले पृथ्वीको हरण गरे तब ब्रह्माजी तथा देवताहरूको प्रार्थना सुनेर भगवान्ले वराह रूप धारण गर्नुभयो। त्यसपछि पृथ्वीको खोजी गर्न लाग्नुभयो। जाँदाजाँदै हिरण्याक्षलाई भेट्नुभयो, जसले पृथ्वीलाई हरण गरेको थियो। हिरण्याक्षले भगवान्को खिल्ली उडाउन थाल्यो। भगवान्को मार्ग रोक्न थाल्यो। उक्त कार्यले भगवान् क्रोधित हुनुभयो र वराहका साथ हिरण्याक्षको विशाल युद्ध भयो।

भगवान्ले हिरण्याक्षको अन्त्य गर्नुभयो। पृथ्वीलाई स्थापना गर्नुभयो तर यति गर्दा पनि भगवान् वराहको क्रोध शान्त भएन। अब भगवान् घुम्न लाग्नुभयो। घुम्दै जाँदा भगवान् कोका र कौशिकीको संगममा प्रवेश गर्नुभयो। जब भगवान् जलमा प्रवेश गर्नुभयो, तब भगवान्को क्रोध शान्त भयो। भगवान् कोका र कौशिकीलाई देखेर प्रसन्न हुनुभयो अनि वरदान माग्न भन्नुभयो। कोकाले भनिन् कि हे प्रभु हजुर यसै क्षेत्रमा विराजमान हुनुहवस् तब भगवान् कोकालाई वरदान दिँदै त्यसै वराह क्षेत्रमा विराजमान हुनुभयो।
तस्यास्तीरे महापुण्यं क्षेत्रं वाराहसंज्ञितम्।
दर्शनात्सर्वपापध्नं वर्तते परमेश्वरी।।

स्कन्ध पुराणमा लेखिएका यी वाक्यले भन्छन्– उनै कैशिकी नदीका तीरमा महापुण्यदायी पवित्र क्षेत्र वराह क्षेत्र छ। यस वराह क्षेत्रको दर्शन मात्र गर्नाले पनि मनुष्यका सम्पूर्ण पाप नष्ट हुन्छन्।

  • कुम्भको सबैभन्दा विशेष पक्ष भनेकै स्नान नै हो। यसको महत्त्व नै नुहाउनुमा छ।
  • नेपालमा कुम्भ नलाग्दा भारत पनि धाइयो तर धेरै सास्ती हुन्थ्यो। आफ्नो देश भनेको आफ्नै हो। भाषा मिल्छ, सबैबाट सरसहयोग हुन्छ। कुम्भ स्नान एकदमै सहज भएको छ नेपालीका लागि।
  •  कुम्भ देशको सम्पत्तिा हो, अनि गौरव पनि। सरकारले पूर्ण जिम्मा लिएर कुम्भको भव्य ढंगले नियमित सञ्चालन गर्नुपर्छ।
  • चतराधाम र वराहक्षेत्र सुनसरीमा २०५९ सालमा सुरु कुम्भ मेला २०६३/६४ मा दोस्रो, २०७०/७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्णकुम्भ मेला र २०७५/७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला लागेको थियो। २०८०/८१ मा अहिले पूर्णकुम्भ (महाकुम्भ) मेला चलिरहेको छ।

अब कुम्भ सरकारको भयो, मैले त शास्त्रीय प्रमाण जुटाइदिएको हुँ : जगद्गुरु बालसन्त

२०५९ सालदेखि नेपालमा पुनः जागरण सुरु भयो– कुम्भका रूपमा। देश प्रेमको जागरण सुरु भयो सुनसरीको चतराधामबाट। कौशिकी सभ्यताको जागरण भएको वर्ष हो यो। मानव मात्रको कल्याणको जागरण कुम्भका माध्यमबाट प्रकट भयो। नेपालमै कुम्भ सम्भव छ भनेर बुझेपछि शास्त्रीय प्रमाण जुटाउन लागें। भारत पुगेपछि एक विद्वान्ले भन्नुभयो– ‘महाराजजी, एउटा प्रमाण छ– सत्यवतीको उत्तरपट्टि कुम्भको उत्पत्ति भएको हो भनेर।’
सत्यवती कहाँ छ ? भनेर नेपाल फर्किएर खोज्न थालें। स्कन्ध पुराणको हिमवत्खण्डमा प्रमाण भेटें– ‘नेपालका चारवटा नाम हुन्। सत्ययुगमा सत्यवती, तेत्रायुगमा मधुवन, द्वापरयुगमा मुक्ति सोपान र कलियुगमा नेपाल।’ सत्य धर्ममा रहेकी सत्यवती नै कौशिकी नदीका रूपमा बग्नुभयो भनेर वाल्मीकिको बालकाण्डमा रामले कोशी नदीको व्याख्या सोध्दा भनेको विश्वामित्रले वर्णन गर्नुभएको छ।
खोज्दै जाँदा सोलुखुम्बु जिल्लाको सगरमाथाको फेदमा रहेको दूधकुण्ड भनेर पुराणमा लेखेको भेटाएँ। सगरमाथालाई मदानी बनाएर विशाल समुन्द्र मन्थन गर्दा त्यहाँबाट अमृत निस्किएको वर्णन छ। पुराणमा वर्णन गरिएअनुसार त्यो अमृतको घडालाई इन्द्र महाराजको छोरो जयन्तले कौवाको रूप धारण गरेर चुच्चोले घडा बोकेर भागेछन्। यसरी भाग्दा भारतको नासिक, उज्वैन, प्रयाग र हरिद्वार यी चार ठाउँमा अमृतको थोपा झरे। तिनै थोपा झरेको आधारमा त्यहाँ कुम्भ मेला सुरु भयो।
जयन्तले सोचे, यो घडा सोलुखुम्बुको सगरमाथामै राख्छु। राखे पनि। पुराणमा छ– ‘तरलाई छानेर राखेर ती देवताहरूलाई अमृत पिलाउनुभयो। अमृतको तरलाई पिण्ड बनाएर विष्णुले सीधै रुद्राक्ष वनको नजिकै कौशिकी नदीको तटमा जानुभयो जसलाई चतरा भनिन्छ।’ त्यस दिन भगवान् विष्णुले त्यो छाली कौशिकी तटमा लगेर राख्नुभयो। पूजा गर्नुभयो। र, विष्णुले सारा देवताका साथ कुम्भ स्नान गर्नुभयो।
अब त्यो पिण्ड सुरक्षित स्थानमा राख्नुपर्छ भनेर त्रिपुरासुरलाई वध गर्ने पार्वतीलाई शिवले भन्नुभयो– यो तरलाई लगेर धरान बजारको माथिको डाँडा विजयपुर (शीत शैल/रुद्राक्षारण्य/विजय पर्वत)को शिखरमा पिण्ड राखिदिनू। सुधा भनेको अमृतलाई पिण्डीकृत पिण्ड बनाएर त्यो डाँडामा राखेको हुनाले त्यसको नाम पिण्डेश्वर महादेव भनिएको हो। यसैले कुम्भ स्नानपछि भक्तजन धरानस्थित पिण्डेश्वर पुगेर दर्शन र पूजाआजा गर्छन्। मैले त थालनी गरिदिएको हुँ कुम्भको। केही वर्षदेखि संघीय, प्रदेश र स्थानीय सरकार लागिपरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.