शिक्षकको रक्तदानले बच्यो सुत्केरीको ज्यान
जाजरकोट : रगत अभावमा जीवनमरणको दोसाँधमा जिल्ला अस्पताल जाजरकोटमा छटपटाइरहेकी एक सुत्केरीलाई त्रिभुवन मावि खलंगामा कार्यरत शिक्षक पार्वती थापाले रगत दिएर बचाएकी छन्। कुशे गाउँपालिका–१ कि २१ वर्षीया मायादेवी शाहीलाई शिक्षक थापाले रक्तदान गरेर बचाएकी हुन्।
डा. समीक्षा मल्लका अनुसार सुत्केरी शाहीको शरीरमा ६ प्वाइन्ट मात्र रगत थियो। शरीरमा रगत कम भएर समस्यामा परेकी उनलाई डाक्टरले रगत चढाउनुपर्ने बताएका थिए। जिल्ला अस्पतालमा ब्लड बैंक छैन। ब्लड बैंक नहुँदा बिरामीलाई समस्या पर्दै आएको छ। उनका श्रीमान् पदम सिंहले सबैतिर गुहार मागे पनि रगत दिन कोही तयार भएनन्। जिल्ला अस्पताल र स्वयम्सेवी रक्तदाता समाजको पहलमा भेरी नगरपालिका–३ ठाँटी निवासी थापाले रगत दिन तयार भएपछि बिरामीलाई निकै राहत भएको हो।
‘कसैको ज्यान बच्छ भने मैले किन सहयोग नगर्ने भनेर रक्तदान गरेकी हुँ’, थापाले भनिन्, ‘मैले पहिलो पटक रक्तदान गरेकी हुँ। कस्तो होला ? के होला ? भनेर डर लागिरहेको थियो। मेरो डरलाई बिरामी बचाउने कुराले जित्यो र मैले एक प्वाइन्ट रगत दिएँ। सहयोग गर्न पाएकोमा खुसी लागेको छ।’ चिकित्सकको सहयोगमा आइतबार छोरीलाई जन्म दिएकी शाहीको शरीरमा रगतको मात्रा कम भएपछि समस्या देखिएको डा.मल्लले जानकारी दिइन्।
एक प्वाइन्ट रगत दिएपछि अहिले सुत्केरीको अवस्था सुधारोन्मुख रहेको मल्लले बताइन्। जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा जटिल खालका बिरामीलाई तत्काल रक्तदाताबाट रगत चढाउने ब्यवस्था गरिएको छ। धेरैजसो जटिल खालका विबामीलाई जिल्ला बाहिर रेफर गर्ने गरिएको छ। स्टोरेज गर्ने ब्लड बैंकको व्यवस्था हुन नसक्दा समस्या भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतीक्षा भारतीले बताइन्। ५० शय्याको जिल्ला अस्पतालमा विभिन्न विशेषज्ञ पदको दरबन्दी भए पनि पदपूर्ति नहुँदा उपचार सेवा प्रभावित हुने गरेको स्थानीयको गुनासो छ।