२०८३ चैत मसान्तभित्र द्रूतमार्गको काम सम्पन्न हुन्छ : रक्षामन्त्री खड्का
काठमाडौं : सरकारले काठमाडौं-तराई मधेस द्रुतमार्गको काम २०८३ चैत मसान्तभित्र सम्पन्न हुने दाबी गरेको छ। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-तराई मधेस द्रूतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने बताए।
उनले उक्त आयोजनाको भौतिक प्रगति ३० दशमलव ९६ प्रतिशत रहेको बताए। आयोजना निर्माण कोरोनाका कारण प्रभावित भए पनि सरकारले तय गरेको समयभित्रै पूरा हुने उल्लेख गरे। उपप्रधानमन्त्री खड्काले लागत नबढ्ने गरी खरिद प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे।
आयोजनाअन्तर्गत खोकनामा देखिएको समस्या समाधानका लागि आवश्यक अध्ययन भइरहेको जनाउँदै उनले विभिन्न विकल्पमाथि छलफल जारी रहेको बताए। उनले सेनाको कल्याणकारी कोषमार्फत हेटौंडा कपडा कारखाना सञ्चालनका लागि प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस भएको भन्दै उक्त प्रतिवेदन अध्ययनको क्रममा रहेको बताए।
खड्काले सेना, सरकार र अदालतप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेकामा उनले आपत्ति प्रकट गरे। मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कार्यमा सरकार गम्भीर रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !