विभेदमा त्रिवि कर्मचारी

विभेदमा त्रिवि कर्मचारी

त्रिविका कुलपतिदेखि सम्पूर्ण पदाधिकारी तथा नेतृत्व विश्वविद्यालयको गुणस्तर खस्किनुमा कर्मचारीमाथि दोष थोपरेर पन्छिने गरेका प्रशस्त उदाहरण भेटिन्छन्।

हाम्रो देशको शैक्षिक इतिहासमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) उच्च शिक्षाको धरोहर संस्था हो। सर्वसाधारणको सहज पहुँच र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित स्थापित त्रिविले उच्च शिक्षाको ७९ प्रतिशतभन्दा बढी भार अद्यपि वहन गरिरहेको छ। यसको संरचनाअन्तर्गत आफ्ना विभिन्न निकाय तथा संस्था छन्। विश्वविद्यालय सञ्चालन गर्न शिक्षक, कर्मचारी, विद्यार्थी सबैको आआफ्नो भूमिका रहन्छ। कुनै एकको अस्तित्वबिना अरू दुई अपांगसरह हुन्छन्।

त्रिविअन्तर्गतका विभिन्न निकायबाट सुशासन कायम गर्दै प्रविधिमैत्री वातावरणमा सेवा प्रवाह गर्नु हरेक शिक्षक, कर्मचारीको असली कर्म हो। सेवाग्राही सबैलाई मुस्कानसहित छिटोछरितो सेवा पुर्‍याउन सक्नुपर्छ। राजनीतिक तटस्थता कायम गर्दै नीति, नियममा रही व्यवस्थापन गर्नुपर्छ। त्रिविको बलियो खम्बाका रूपमा रहेको कर्मचारी संयन्त्र एउटा जीवन्त संगठन हो। शैक्षिक उन्नयनका लागि दक्ष शिक्षक, सीप र ज्ञानले खारिएका कर्मचारीको खाँचो सदैव हुन्छ।

विश्वविद्यालयका विभिन्न निकायबाट पछिल्लो समय सेवाप्रवाहमा ढिलाइ हुने गरेकोलगायत गुनासो सुनिन्छ। सानोतिनो काममा विभिन्न झन्झट बेहोर्नुपरेको पनि सुनिन्छ। फास्ट ट्र्याकबाट काम नगरिएको, समयमै परीक्षाको नतिजा नआएकोजस्ता गुनासा पनि सर्वसाधारणदेखि राष्ट्रियस्तरका पत्रपत्रिकाबाट सार्वजनिक भएकै छन्। प्रविधिको विकास, शैक्षिक चेतना र विश्वव्यापीकरणले गर्दा सेवाग्राहीको अपेक्षा वृद्धि हुनु स्वाभाविक छ। विश्वविद्यालयबाट प्रवाह गर्ने सेवालाई त्यसअनुरूप चुस्तदुरुस्त राख्न जरुरी देखिन्छ।

तथापि त्रिविमा नयाँ नियुक्ति र बढुवाका लागि विज्ञापनलगायत सबै प्रक्रिया ठप्प छन्। सेवा आयोगको क्रियाकलापमा देखिएको अन्योलले त्रिविले प्रदान गर्ने गुणस्तरीय सेवाप्रति प्रश्न उठिरहेको छ। त्रिविका कर्मचारी दिनहुँजसो सेवानिवृत्त भइरहेका छन्। तत्कालीन समयमा कर्मचारी पदपूर्तिमा भारी संख्यामा कटौती हुँदा विद्यमान अवस्थामा कार्य चाप बढ्दै गएको छ। नयाँ कर्मचारी भर्ना नगरिँदा कतिपय विकास निर्माण तथा प्रशासनिक काममा अवरोध देखिएको छ। प्रधानमन्त्री नै कुलपति भएको संस्थामा देखिएको अन्योलका कारण त्रिविमा छनोट भएर आएका शिक्षक, कर्मचारीसमेत यहाँबाट बाहिरिने क्रम बढ्दो छ। यस्ता कुरालाई ध्यानमा राखी विश्वविद्यालयको आगामी नेतृत्व राजनीतिक भागबन्डाका आधारमा नभई दक्षता र क्षमताका आधारमा नियुक्त गर्न जरुरी छ।

विश्वविद्यालयमा चुनौतीको चाङ छ। समयानुकूल सुविधायुक्त भौतिक संरचनाको निर्माण चुनौतीका रूपमा छ। दक्ष तालिम प्राप्त जनशक्तिको व्यवस्थापनमा समस्या छ। नयाँ कर्मचारी भर्ना र भइरहेको जनशक्तिलाई सेवाकालीन अभिमुखीकरण तालिम दिलाउन सक्नुपर्छ। यस्ता विविध विषयको व्यवस्थापन गर्दै विश्वविद्यालयलाई गुणस्तरीय सेवा प्रदान गर्ने अध्ययनअनुसन्धानको प्राज्ञिक थलो बनाउन कर्मचारीको पनि उत्तिकै भूमिका रहन्छ। तर, त्रिविका चिकित्साशास्त्र अध्ययन संस्थानलगायत संस्थामा विश्वविद्यालयबाट प्रदान गर्ने सेवासुविधामा शिक्षक र कर्मचारीबीच विभेद छ। त्रिविका कुलपतिदेखि सम्पूर्ण पदाधिकारी तथा नेतृत्व विश्वविद्यालयको गुणस्तर खस्किनुमा कर्मचारीमाथि दोष थोपरेर पन्छिने गरेका प्रशस्त उदाहरण भेटिन्छन्। कर्मचारीले खाईपाई आएको सेवासुविधा कटौती गर्ने त्रिविको नेतृत्व चुपचाप तमासा हेरिरहेको छ।

हाल देशबाट उच्च शिक्षाका नाउँमा दिनहुँ सयौंको संख्यामा विद्यार्थी बिदेसिने क्रम जारी छ। यो क्रम नरोकिने हो भने विश्वविद्यालयका प्राविधिक शिक्षा पठनपाठन गराइने संस्थासमेत केही वर्षमै रित्तिँदै जाने निश्चित छ। विद्यार्थी संख्या घटेको बहानामा क्याम्पसहरू मर्ज गर्नेलगायत नयाँँ कार्यक्रम त्रिविले बर्सेनि ल्याइरहेको छ। राज्यले देशको उच्च शिक्षाको अवस्थालाई ध्यानमा राखी समग्र शिक्षा क्षेत्रमा लगानी बढाई त्रिविलाई विशेष बजेटको व्यवस्था गर्नुपर्छ। अन्यथा देशमा रहेका विश्वविद्यालयको अवस्था केही वर्षमै दयनीय बन्न बेर लाग्दैन।

कर्मचारीलार्ई वैज्ञानिक मूल्यांकन विधि, सेवा प्रवेश तथा सेवाकालीन तालिम तथा अभिमुखीकरणको व्यवस्था समय–समयमा गराइनुपर्छ। अतिरिक्त समयमा काम गरेबापत प्रोत्साहन सुविधा संस्थाको आर्थिक क्षमताले भ्याएसम्म दिनुपर्छ। अन्य विश्वविद्यालयका असल अभ्यास, अध्ययन अवलोकन भ्रमण तथा निजामती क्षेत्रका कर्मचारीसरह सेवासुविधा प्रदान गर्ने वातावरण मिलाइनुपर्छ। अनुशासित, नैतिकवान् र दक्ष कर्मचारीबिना विश्वविद्यालयको समृद्धिको औचित्य रहँदैन। कर्मचारीको पेसागत उन्नयन तथा वृद्धि विकास भए मात्र त्रिविको गरिमा अभिवृद्धि गर्न सकिन्छ। 

त्रिवि एउटा बृहत् संस्था भएकाले देशभर छरिएर रहेका बिभिन्न निकाय तथा केन्द्रीय कार्यालयमा आबद्ध संस्थाहरूले गुणस्तरीय सेवा प्रवाह गरी गुनासाहरूको सम्बोधन समयमै गर्नु जरुरी देखिन्छ। त्रिविको कार्यसम्पादनलाई विश्वसनीय, पारदर्शी, चुस्त, दुरुस्त, मर्यादित बनाउन कर्मचारीको प्रतिष्ठा र मर्यादा अभिवृद्धि गर्न नेतृत्वले यथाशीघ्र पहल गर्नुपर्छ। उत्कृष्ट र क्षमतावान् व्यक्तिलाई विश्वविद्यालयमा टिकाउन र उत्पादित जनशक्ति बजारमा बिकाउन सक्ने वातावरण बनाउनु आजको आवश्यकता हो।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.