डस्टिङ् डट कम

क्षणिकी

डस्टिङ् डट कम

हे प्रियम्बदा ! भन, म तिम्रो कुन रहर पूर्ण गरिदिऊँ ? यो मेरो एकाग्रता भंग भएपछिको मनको आवाज थियो– प्रतिक्रियास्वरूप।

‘सुन्नुहोस् न !’

डट कमको दुनियाँमा चुर्लुम्म डुबेको मेरो एकाग्रता भंग गर्ने यो मृदुल आवाज मेरो जीवनको श्यामत्व मेटाइदिने मेरी इन्दुको बाहेक अरूको होइन। क्षणक्षणमा परिवर्तित हुने भावले मानिसको वाणीमा पनि परिवर्तन ल्याउँछ। सायद अहिले उनको भावजस्तै वाणी पनि कोकिलकण्ठी छ, ताकि मलाई कतै कटु नलागोस्, नबिझाओस्।

हे प्रियम्बदा ! तिम्रो यो सुरिलो आवाजमा कुनै न कुनै स्वार्थ राग भैरवी बनेर आउँछ। रुद्राणीले भगवान् शिवलाई आराधना गरे झैं झाँसी नभए पनि कुनै दिव्य रहर तिम्रा मनमा पलाएको पक्कै होला। भन, म तिम्रो कुन रहर पूर्ण 

गरिदिऊँ ? यो मेरो एकाग्रता भंग भएपछिको मनको आवाज थियो– प्रतिक्रियास्वरूप। म त केवल आफ्नो ध्यान उनीतिर तेस्र्याएर शान्तभावले सुन्ने पर्खाइमा छु।

‘सुन्नुस् न ! एक साता भइसक्यो, घरको सफाइ नगरेको। घर धुलाम्मे छ। गलैंचाहरूमा पैतालाको छाप बस्ने भइसक्यो। आज त ‘भ्याकुम क्लिन’ गर्नु पर्ला कि ? के गर्नु ? श्रीमान्–श्रीमती दुवै कामकाजी भएपछि घर त लथालिंग भइहाल्दोरहेछ। आज बेस्सरी ‘डस्टिङ्’ गरौं है ? आजको छुट्टीको दिन पनि व्यर्थ नास भयो भने यो धूलो दोब्बर गाढा हुन्छ।’

म छुट्टीमा मीठामीठा परिकार खाएर तुष्टि बटुल्न चाहन्छु, उनी धोइपखाली गरी सबैथोक निक्खर बनाउन चाहन्छिन्। उनको बोलीमा चिन्ता, हिँडाइमा छटपटाहट र आँखामा व्यग्रता देखेर मलाई उनीमै केन्द्रित भइरहन बाध्य पार्‍यो।

तिम्रो यही निर्मल स्वभावले तिम्रो नाउँ निर्मला राखिएको होला। तिमीले धूलोको कुरा गर्‍यौ। यो कस्तो धूलो ? कतै फुकेर पनि उड्ने, कतै धोएर पनि नजाने। कसिंगर झैं घरका कुनाकाप्चामा खोजिरहनुनपर्ने, सर्वत्र व्याप्त छ यो– कुल्चिँदा पैताला मैल्याउने धूलो, बस्दा आसन 
मैल्याउने धूलो, लमतन्न पर्दा जीउ नै मैल्याउने धूलो, बोल्दा भाव मैलिने धूलो, मुस्काउँदा मधुरिमा मैलिने धूलो, हेर्दा दृश्य मैलिने धूलो, सोच्दा विचार नै मैलिने धूलो... यही धूलो भइदिनाले कतै केही निर्मल भएन निर्मला ! तिमी धुलाम्मे एउटा क्षण देख्दैछ्यौ, म त्यस्ता क्षणहरूको धमिलो महासागर देख्दै छु।

आज एकै क्षणमा सयौं क्षणहरूलाई सुग्घर पार्नु छ। अनि यहीँबाट गुञ्जिने छ निर्मल मनहरूको नयाँ धुन, मनोरम संगीत। चराचुरुंगीहरू रमाएर नाच्नेछन्। लतिकाहरू हल्लिने छन्। त्यसैले आज घरको ‘डस्टिङ्’ गर्नु छ।

तिमी एक साताको कुरा गर्छ्यौ, मलाई लाग्छ हाम्रो घर वर्षौंदेखि, शतकौंदेखि निर्मलीकरणको प्रतीक्षामा छ। यो हाम्रो घर, जुन म जन्मिँदाखेरि यस्तै थियो, मेरा बाबुबाजेहरूले पनि यस्तै देखे। यसको इतिहास वैदिककालभन्दा पुरानो हुन सक्छ। यो हाम्रो पुर्खाको सभ्यता र संस्कृतिको भग्नावशेष होइन। भूगर्भविद्ले उत्खनन गरेको पुरातात्त्िवक महत्त्वको कुनै वस्तु पनि होइन। यो ठिंग ठडिएको सिंगो युगस्तम्भ हो– दुनियाँका लागि एउटा जीवित विश्वविद्यालय।

ज्ञान र दर्शनको प्रारम्भिक र प्राचीनतम बिन्दु। आहा ! यो हाम्रो घर– जुन कसैको बन्धकीमा परेन, कसैको भोगचलनमा परेन। पञ्चामृतझैं शुद्ध, हिमजलझैं निक्खर यो हाम्रो घर। आज युगयुगान्तरपछि पनि हाम्रै छ। यही घरबाट अंकुरित जाग्रत अभिनव चेतना विश्वजगत्का लागि प्रातकालीन उषाका किरण झैं भुइँमा छरिने छन्।

वास्तवमा मलाई यो धूलो र हिलोमध्ये हिलोचाहिँ थोरै सजिलो नश्लको लाग्यो। धूलो दृष्टिको मयल हो भने हिलो आचरणको मयल। धूलो मनको मयल हो। मन अगोचर हुन्छ। मनबाटै विचार निसृत हुन्छ, विचार नै दृष्टि हो। हिलो तनको मयल हो, बाह्य, गोचर। छ्यापिनुअघि पनि देखिन्छ, छ्यापिएपछि पनि देखिन्छ। कहाँनेर पखाल्ने थाहा हुन्छ।

ल्याऊ प्रिये, म बेस्सरी ‘भ्याकुम क्लिनर’ घुमाइघुमाइ धूलो निखार्छु। भएन भने यी राडी, कम्बल, गुन्द्री, गलैंचालाई लौरोले बेस्सरी ठटाएर सुग्घर बनाऔंला। कति पुछिरहन्छ्यौ तिमी ती कुर्सी, टेबल, सोफा र दराजतिर मात्रै ? यी घिरौंलाको जालो झैं मुजा परेका अनुहारहरू के गरी पुछ्ने ? तिनका कापकापमा कति धूलो चालै नपाउने गरी साँघुरिएर बसेको होला ? अनुहार नै हो मन र जीवनको ऐना। सफाइ अभियान आफ्नै अनुहारबाट आरम्भ गरौं कि ?

टक्टक्याउनु, ठटाउनु, पुछ्नु भनेको धूलोको स्थानान्तरण गर्नु मात्रै हो– एउटा वस्तुबाट अर्कोमा, भुइँ सतहबाट वायुमण्डलमा, अनि पूरै नभमा। यो पूर्णतः निर्मलीकरण नहुने नै हो त ? के धूलो पनि सृष्टिको नियमभित्रै पर्छ ? के फरक पथ्र्याे यदि धूलोको उत्पत्ति नै नभएको भए ? मलाई यसको रवैया नै मन पर्दैन। जहाँ यो धीर भएर अडिन्छ, त्यही भाव अधीर हुन्छ। विज्ञानका अदृश्य धर्साहरूबाट सल्किने भाइरसले झैं यो धूलोले पनि हाम्रो सौन्दर्यचेतलाई निकम्मा बनाइदिन्छ। ज्योतिका किरणहरू नै छेकिदिन्छ। हाम्रो घर कति धेरै साँघुरो भइसकेछ है ? प्रयोगमै नआउने पुराना–पुराना सामानहरू पनि जतासुकै थुपारेकी छौ। हेर, यी रङ उडिसकेका, डिजाइन गइसकेका पुराना कपडाहरू। के यिनको कुनै ऐतिहासिक, पुरातात्त्िवक, धार्मिक, सामाजिक, सांस्कृतिक महत्त्व बाँकी छ ? कि मदुसमा भरेर बुइँगलमा थन्क्याउनु, नत्र विसर्जन गरिदिनु। पुराना हट्दै जाँदा नयाँका लागि स्थान खाली हुन्छ।

हामी हाम्रो घरको आयु चन्द्रसूर्यको आयुजत्तिकै लामो छ भन्छौं। यता माथिमाथि भित्तामा माकुराले हावामहल बनाएको रहेछ; चराको बिस्टाले बार्दलीमा तन्ना बिछ्याएको रहेछ। यी दलिन र निदालहरूमा धमिराले दाँत उध्याउँदै रहेछन्। धमिरो दुष्ट पाहुना हो। हाम्रो घरको वर्तमान युगलाई बोक्ने तिमी र म त हौं।

युगद्रष्टा बन्ने प्रचेष्टा गरौं। वर्तमान नै मैलियो भने भविष्य कस्तो होला ? यी सबै माकुरालाई यसै युगमा सफा गर्नुपर्छ। बेरितसँग राखिएका सबै फर्निचरहरू सोझ्याउनुपर्छ। यो घर मैलिनु भनेकै सदियौंदेखि यसले जीवन्त राखेको हाम्रो पहिचान मैलिनु हो। हाम्रा ज्ञान परम्पराहरू मैलिनु हो, सद्भाव र सौम्य जीवनशैली मैलिनु हो।

आज छुट्टीको दिन। छिमेकीहरू मन्दिर दर्शनमा गएका होलान्, वनभोज खान हिँडे होलान्, घुमघाम र दृश्यावलोकनको मनोहरतामा रमाउँदै होलान्। हाम्रो घरमा भने तिमी छौ, म छु र आँगनमा रखवारी गर्ने कुकुर छ। आज मैले दिउँसै गेटमा अंकुशे झुन्ड्याइदिएको छु। नत्र हृष्टपुष्ट फकिरले हस्तरेखा हेर्ने प्रस्ताव लिएर आउनेछ, कमण्डलुमा केही मुठी अन्नका सुवर्णमय दाना बटुल्नेछ। पौरखीका हस्तरेखा आफैं बन्छन्, आफैं पढिन्छन्।
 

छिटोछिटो ‘डस्टिङ्’ गरौं नत्र भरेपख काइँला बा आएर ‘लेक्चर’ दिन थाल्नुहुन्छ। ‘यत्ति एउटा घरको पनि जतन गर्न सकेनौ है ? हाम्रा बाका पालामा यो घरको कत्रो इज्जत थियो...’ भन्दै बुढाले फेरि लम्बेतान फलाक्नु होला। विचरा काइँलाबा, बुढ्यौलीसँग परास्त जीवन बोकेर आउनु हुन्छ, थोरै मीठो पायस पकाएर राखिदेऊ। ती बूढा विदुरको आशा–भरोसा हामी त हौं। समय धेरै खर्चिलो हुँदो रहेछ। भोग गर्न नभ्याई सकिने। आज एकै क्षणमा सयौं क्षणहरूलाई सुग्घर पार्नु छ। अनि यहीँबाट गुञ्जिनेछ निर्मल मनहरूको नयाँ धुन, मनोरम संगीत। चराचुरुंगीहरू रमाएर नाच्नेछन्। लतिकाहरू हल्लिने छन्। त्यसैले निर्मला, तिम्रो प्रस्ताव मञ्जुर छ। आज घरको ‘डस्टिङ्’ गर्नु छ।

 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.