मुस्ताङ अस्पतालमा दक्ष चिकित्सकको अभावमा शल्यक्रिया सेवा ठप्प

मुस्ताङ अस्पतालमा दक्ष चिकित्सकको अभावमा शल्यक्रिया सेवा ठप्प
तस्बिर : अन्नपूर्ण

जोमसोम : मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक नहुँदा एक सातादेखि शल्यक्रिया सेवा प्रभावित बनेको छ । विगत ८ महिनादेखि कार्यरत नवौं तहका  जेनरल प्राक्टिस (एमडीजीपी) चिकित्सक डा. मुखिया घलेको अन्यत्र सरुवा भएसँगै मुस्ताङ अस्पतालमा शल्यक्रिया सेवा प्रभावित बनेको हो ।

एमडीजीपी चिकित्सक डा. घले यसअघि मनाङ अस्पतालमा कार्यरत थिए । नेपाल सरकारको छात्रवृद्धि सुविधाबाट चिकित्सक बनेका घलेलाई दुई वर्षे दुर्गम सेवा प्रावधान अनुरुप मुस्ताङ अस्पतालको पहलमा झिकाइएको थियो । डा.घलेअघि मुस्ताङ अस्पतालमा एमडीजीपी चिकित्सक डा. कुन्दन कर्ण कार्यरत थिए । उनी पनि छोटो समय बिताएर सरुवा भएका थिए । यी दुबै एमडीजीपी चिकित्सकहरुले आफ्नो कार्यकालमा प्रसूति शल्यक्रिया सँगसँगै सामान्य अप्रेसन गर्नुपर्ने बिरामीलाई सेवा दिएका थिए।

मुस्ताङ अस्पताल स्थापनाको ४८ वर्षपछि शल्यक्रिया सेवा सञ्चालनमा ल्याइएको थियो । संघीयतापछि प्रदेश सरकारको मातहतमा रहेको अस्पताल २५ शैया अस्पतालको रुपमा बढोत्तरी भएको छ । मुस्ताङ अस्पतालमा सामान्य अप्रेसन तथा प्रसूति शल्यक्रियाका लागि प्रदेश सरकारले आवश्यक एकुमेन्ट र तालिमहरू सञ्चालन गरेको थियो । 

यद्यपी शल्यक्रिया सञ्चालनमा आएको दुई वर्ष नपुग्दै पटक/पटक सेवा अवरुद्ध हुँदै आइरहेको छ । मुस्ताङ अस्पतालमा उपकरणको व्यवस्था भएपनि चिकित्सक नहुँदा भीडीयो एक्सरे सुविधाको सेवा पनि बन्द छ ।
भौगोलिक विकटताका कारण मुस्ताङमा दक्ष र अनुभव प्राप्त चिकित्सक बस्न नमान्दा अस्पतालको शल्यक्रिया सेवा अवरुद्ध हुन पुगेको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए ।

त्यसो त यसअघि मुस्ताङ अस्पतालमा कार्यरत एमडीजीपी चिकित्सक कुन्दन कर्णले बिदा लिएपछि ६ महिनासम्म मुस्ताङमा शल्यक्रिया सेवा ठप्पै भएको थियो । फेरि यसपटक पनि शल्यक्रिया सेवा कहिले सञ्चालन हुन्छ भन्ने यकिन नभएको अस्पतालका सूचना अधिकारी बस्नेतको भनाइ छ । 

मुस्ताङमा अस्पतालमा शल्यक्रिया सेवा सञ्चालनमा आएको भएपनि जनशक्ति स्थिर राखन चुनौति रहेको सूचना अधिकारी बस्नेतले उल्लेख गरे । 

दुर्गम अस्पतालमा नवौं तहका चिकित्सकले पाउने सेवा सुविधा र खर्चको समुचित व्यवस्थापन हुन नसक्नु शल्यक्रिया सेवा सञ्चालनको मुख्य चुनौती हो । पटक/पटक करार सेवामा आएका चिकित्सकले छोटो समयमै सरुवा भइ जाने परिपाटीले अस्पतालको महत्वपूर्ण नियमित सेवा सञ्चालनमा कठिनाइ परेको हो । शल्यक्रिया सेवा सञ्चालनमा आएको एक वर्षमा करिब आधा दर्जन महिलाको शल्यक्रियामार्फत प्रसूति 
गराइएको थियो।

शैह्या बढ्यो,जनशक्ति बढेन

संघीयतापछि प्रदेश सरकारको मातहतमा रहेको मुस्ताङ अस्पतालको शैह्या बढेपनि जनशक्ति व्यवस्थापनमा भने सरकारले ध्यान दिन सकेको छैन  ।मुस्ताङको स्तरवृद्धि र उपकरण व्यवस्थापनको समस्या समाधान हुँदै गएपनि पर्याप्त जनशक्ति नहुँदा अस्पतालको सेवा प्रवाह चुस्त बन्न नसकेको हो । 

सुरुवाति १५ शैह्याको अस्पतालमा अहिले २५ शैह्यामा रुपान्तर भएको छ । तर, प्रदेश सरकारले मुस्ताङ अस्पतालको दरबन्दी भने अझै १५ शैह्याको रुपमा कायम राखेको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतको भनाइ छ । 

उनका अनुसार २५ शैह्या अस्पतालका लागि करिब ७० जना  बढी स्वास्थ्य जनशक्ति आवश्यक पर्छ। 'अस्पतालको क्षमता बढाइयो, सेवा फराकिलो हुँदैछ,भवन पनि बन्दैछ,’उनले भने, 'तर,जनशक्ति क्षमता पनि बढाउनुपर्छ ,सीमित जनशक्तिले सेवा प्रवाह चुनौति भएको, सीमित कर्मचारीले लोड थेग्नै मुश्किल छ ।’

मुस्ताङ अस्पताल २५ शैह्याको भएपनि हालसम्म पनि १५ शैह्याकै जनशक्ति कायम छ । अस्पतालको स्थायी दरबन्दीमा एकजना नवौं तहका चिकित्सकसहित १८ जनाको दरबन्दी छ । जसमध्ये नवौं तहका चिकित्सक, एकजना अनमी र ६ जना कार्यालय सहयोगीको दरबन्दी पदपूर्ती भएको छैन । 

जनशक्ति व्यवस्थापनमा सरकारले चाँसो नदिँदा  मुस्ताङ अस्पतालको २४ सै घण्टा सञ्चालनमा रहने ल्याब,एक्सरे,भीडीयो एक्सरे,इमरजेन्सी कक्ष,इन्डोर कक्ष र फार्मेसी सेवाहरू जनशक्ति अभाव छ । यी सबै सेवाहरु सञ्चालन गर्न करिब २० जना बढी जनशक्ति चाहिने सूचना अधिकारी बस्नेतले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.