पार्टी सुधार्न घरघरमा माओवादी

पार्टी सुधार्न घरघरमा माओवादी
सुन्नुहोस्

काठमाडौंं : नेकपा माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि गाउँगाउँमा ‘जनतासँग माओवादी : विशेष रूपान्तरण’ अभियान सुरु गरेको छ। शनिबार बिहान माओवादी पार्टी मुख्यालय पेरिसडाँडाबाट पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट देशभर एकैसाथ अभियानको उद्घाटन गरेका थिए। त्यसपछि उनी दिउँसो वडा स्तरको कार्यक्रम उद्घाटनका लागि काठमाडौंंको चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडामा पुगेका थिए। 

अभियान सफल बनाउनका लागि माओवादीका शीर्ष नेताहरू वडा–वडामा पुगेका छन्। केन्द्रीय सदस्यसहित पार्टीका जनवर्गीय संगठनलार्ई परिचालन गरिएको छ। पार्टी अध्यक्ष दाहाल आफैं पनि सातवटै प्रदेशको वडा स्तरमा जनताको दैलोमा पुग्ने तालिका रहेको छ।

माओवादी पार्टीका प्रचार–प्रसार विभाग प्रमुख तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार देशभर ६ हजार ७ सय ४३ वडामा एकसाथ सुरु गरिएको बताए। माओवादी विस्तारै कमजोर बन्दै गएपछि पार्टी अध्यक्ष दाहालसहितका सबै शीर्षस्थ नेताहरू आफैं फिल्डमा खटिएका छन्।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ललितपुर महानगरपालिका–१८ हरिसिद्धि, उपाध्यक्षत्रय कृष्णबहादुर महराले रोल्पाको सुनछहारी गाउँपालिका, अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिसंखुुपाखर गाउँपालिका र पम्फा भुसालले ललितपुर महानगरपालिका–२२ मा अभियानको नेतृत्व लिएका छन्। 

त्यसैगरी महासचिव देवप्रसाद गुरुङले लमजुङको सुन्दरबजार नगरपालिका–८ भोटेवडार, उपमहासचिव गिरिराजमणि पोखरेलले काठमाडौंको गोकर्णेश्वर नगरपालिका, वर्षमान पुनले काठमाडौंको गोंगबु, हरिबोल गजुरेल सिन्धुलीको कमलामाई नगरपालिकामा खटिएका छन्। त्यसैगरी जनार्दन शर्माले काठमाडौंको चन्द्रागिरि नगरपालिका, मात्रिकाप्रसाद यादवले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, सचिव दीनानाथ शर्माले बागलुङको बागलुङ नगरपालिका, चक्रपाणि खनालले मोरङको विराटनगर महानगरपालिकामा अभियानको नेृतत्व गरेका छन्।

त्यसैगरी सचिव देवेन्द्र पौडेल कास्कीको पोखरा महानगरपालिका, लीलामणि पोखरेल महोत्तरीको बर्दिवास नगरपालिका, गणेश साह काठमाडौंको बानेश्वर, हितमान शक्य रुकुमपूर्वको सिस्ने गाउँपालिका, हितराज पाण्डे गोरखाको पालुङटार नगरपालिका, डिलाराम आचार्य कैलालीको धनगढी उपमहानगरपालिका, सुरेन्द्रकुमार कार्की झापाको बुद्धशान्ति गाउँपालिका र कोषाध्यक्ष श्रीराम ढकाल चन्द्रागिरि नगरपालिकामा सञ्चालित अभियानमा सहभागी भएका छन्।

पार्टीका पदाधिकारीको कार्यविभाजन गरी प्रदेश संयोजक तोकेर अभियानको जिम्मेवारी दिइएको छ। कोसीमा चक्रपाणि खनाल, मधेसमा लीलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव, सुदूरपश्चिममा डिलाराम आचार्य, सम्पर्क समन्वयमा गिरिराजमणि पोखरेल, उपत्यका विशेषमा वर्षमान पुन र प्रवास प्रदेशमा राम कार्कीलार्ई संयोजक तोकेर खटाइएको छ।

भदौं १६ बाट सुरु भएको अभियान मंसिर १५ सम्म चल्ने छ। माओवादीले केन्द्रीय सदस्यहरूलार्ई वडा तहसम्म पठाएको छ। खटिएका नेताहरूले देशैभरका २५ लाख मतदातासँग भेटघाट गर्ने माओवादीले जनाएको छ। अभियानमार्फत पार्टीको सदस्यता संख्या ८ लाख पुर्‍याइने लक्ष्य राखिएको छ।
मतदातासँग पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले सुरु गरेको सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा भइरहेको काम कारबाहीलार्ई तल्लो तहमा जानकारी गराउने तालिका रहेको पार्टी प्रवक्ता सापकोटाले जनाए।

‘अभियानले माओवादीलाई बलियो बनाउँछ’ 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनतासँग माओवादी पार्टीको कमजोर भएको जनसम्बन्ध बलियो बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

पार्टी मुख्यालय पेरिसडाँडाबाट ‘जनतासँग माओवादी’विशेष रूपान्तरण अभियानको उद्घाटन गर्दै उनले पार्टीको जीवन र जनताको सपना पूरा गर्ने ऐतिहासिक दिन भदौ १६ लार्ई बनाउनुपर्ने जोड दिए।

उनले आजको युगको नेतृत्व गर्ने विचार निर्माण गर्ने आधार तयार पार्ने उल्लेख गरे। उनले भने, ‘विशेष रुपान्तरण अभियानले जनतामाझ पुगेर आजको युग सापेक्ष अग्रगामी सभ्य राजनीतिक संस्कार र चिन्तनको समेत विकास गर्न मद्दत पुग्नेमा विश्वस्त छु।’

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष दाहालले सरकारका तर्फबाट भएका जनपक्षीय कामको प्रचार गर्न नेता तथा कार्यकर्ताहरूलार्ई निर्देशन दिए। उनले आफूले गरेका राम्रा काम पनि जनतामाझ पुग्न नसकेको दाबी गरे।
 

यो पनि पढ्नुहोस

उनले भने, ‘जनतामा छाएको निराशालार्ई हटाउन हाम्रो अभियानले भूमिका खेल्छ।’ माओवादीले मात्रै समृद्ध नेपाल निर्माण गर्न सक्ने उनले बताए। गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

अभियानअन्तर्गत पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.