एउटा प्रेमपत्र

एकरात तिमी मेरो प्रेमालयबाट सुटुक्क निस्कियौ र कालो जुनेलीमा स्वाधीनताको नृत्य नाच्न थाल्यौ। तिमीलाई पहिलोचोटि मुसुक्क हाँसेको देख्दा मेरो आकाश पनि पहिलोचोटि ऐनाझैं खुलेको थियो।

एउटा प्रेमपत्र
सांकेतिक तस्बिर।

प्रिये,

 

अहिले तिमी छैनौ तर तिम्रा सम्झना मभित्र, मेरा वरिपरि, यत्रतत्र प्रशस्त छन्। तिमीलाई सम्झाउने, झझल्को दिने, बाडुली लगाउने बहानाहरू कति सँगालेर राखेको छु, कति तिमीले मिल्काएकै ठाउँमा बगरको देउता बनेर बसेका छन्। तिनैलाई हेर्छु अनि तिमीलाई सम्झिन्छु।

जब तिमीलाई सम्झिन्छु अनि तिनैलाई हेर्छु, कवि शिरोमणिले भिल्लका देशमा मिल्काएका मणिझैं। म तिमीलाई ‘प्रिये’ भनेर सम्बोधन गर्ने अधिकारबाट च्युत भइसकें। म तिमीतिर फर्किएँ भने मात्रै मेरो शिर छेदन हुन सक्छ। हेरें मात्रै भने आँखा फुट्न सक्छन्। बोलें भने मात्रै जिह्वा (जिब्रो) थुतिन सक्छ। हात फैलाएँ भने लीला नै समाप्त हुन सक्छ।

आज मैले मन फैलाएको छु प्रिये ! आज तिम्रो साह्रै याद आइरहेछ। अब यो मनले पाउने दण्ड के हो ? थाहा छ तिमीलाई मन कहाँनेर बस्छ ? यसको आकृति कत्रो हुन्छ ? यसलाई रेट्नुपर्छ कि गाड्नुपर्छ ? झुन्ड्याउनुपर्छ कि पुर्नुपर्छ ? मनको प्रवृत्ति यस्तै हुन्छ– जे राम्रो लाग्छ, त्यसैमा अडिन्छ। आज फेरि मनले तिमीलाई सम्झेर अडिरहेको छ, क्लान्त पथिक वृक्षको छायाँमा अडिएझैं। आऊ, सक्छ्यौ भने मलाई नदुख्ने गरी मेरो मनलाई सजाय देऊ। हेरौं म पनि ! मनभन्दा म कसरी अलग रहेछु। 

तिमीले एक दिन सोधेकी थियौ, ‘फूल कसरी फुल्छ ?’ भनेको थिएँ, ‘जब प्रेम फक्रिन्छ अनि त्यो फूल बन्छ।’ प्रेम र पूmल दुवै सौन्दर्यका प्रतीक हुन्। यिनको सौन्दर्यले हरबखत मन पुलकित भइरहन्छ। प्रेम पुछिएका आँखाले फूलको सौन्दर्यबोध गर्न सक्दैन। मेरा आँखाले तिमीलाई सधैं फूलजस्ती राम्री देख्दथ्यो। अहिले त तिम्रो मुहार झन् प्रदीप्त होला। खुसी र निराशा दुवै अनुहारमा नाप्न सकिन्छ भन्छन्।

मेरो झ्यालबाट पर सडकमा दुई कलिला केटा र केटी, पालुवाजस्ता, एकअर्काप्रति सम्मोहित भएको भावमा यसरी कुरा गर्दैछन्... उनीहरूको प्रसन्न मुद्राको गहिराइ नापिनसक्नुको छ। सुस्तसुस्त उनीहरू स्पर्शित हुँदै छन्। तिमी त चुम्बकका विपरीत ध्रुवहरूको आकर्षणलाई पनि प्रेम ठान्छ्यौ। प्रेम निर्जीव फलामको टुक्रा होइन। प्रेम भनेको मनको हस्तान्तरण हो, प्रेम भरोसाको अर्पण हो। मैले पनि तिमीलाई सुस्तरी स्पर्श गर्दा लाग्थ्यो, दुनियाँ फूलका पत्रहरूझैं मुलायम छ, सिमलको भुवाझैं हलुंगो छ, तिम्रो मनझैं न्यानो छ र हाम्रो भरोसाझैं मजबुत छ।

लाग्दैनथ्यो– यो दुनियाँ फरेबीहरूको पनि हो, काँडाहरूको पनि हो, व्यवधानहरूको पनि हो। धोकेबाजहरूको आफ्नो बेग्लै धर्म हुन्छ भन्ने बल्ल बुझ्दै छु, ब्वाँसो त प्रकृतिनिर्मित चरित्र हो– म मानव निर्मित चरित्रले चिथोरिएको छु। एकरात तिमी मेरो प्रेमालयबाट सुटुक्क निस्कियौ र कालो जुनेलीमा स्वाधीनताको नृत्य नाच्न थाल्यौ। तिमीलाई पहिलोचोटि मुसुक्क हाँसेको देख्दा मेरो आकाश पनि पहिलोचोटि ऐनाझैं खुलेको थियो। अलिअलि लज्जामिश्रित तिम्रा झुकेका नजर– तिम्रो सौन्दर्यको खास विशेषता थियो जसको एकाधिपति म मात्रै थिएँ। तिमी अझै पनि गुराँसझैं ढकमक्क फुल्दी हौ। अझै पनि तिम्रो वर्णन गर्दा मेरा शब्दहरू बिसाउन मान्दैनन्।

अहिले म एक्लै छु, त्यसैले मौन छु। मौनता प्रेम र विद्रोह दुवैको सूचक हो किनकि मौनतामा मानिस मनसँग बोलिरहेको हुन्छ। आभाष हुँदैन अरूलाई। ऊ भावनाहरूसँग, लहडहरूसँग, रहरहरूसँग, प्रेमसँग, घृणा र विद्वेषहरूसँग, सपनाहरूसँग, सबैसबैसँग एक्लै लड्ने युद्धवीर बन्छ। एक्लोपन विस्फोट हुनुअघिको ज्वालामुखी हो। एक्लोपन सल्लेरीको मधुरो सुर हो, संगीत पनि हो। एक्लोपन वैराग्य हो। 

एक्लोपन आविष्कारको लहड हो। हुन त सत्य र सौन्दर्य प्रायः एकान्तमै भेटिन्छन्। ध्यानी, तपस्वी, सर्जक... एकान्तप्रेमी नै हुन्।

अहिले म एक्लै छु किनकि तिमी मसँग छैनौ। अहिले तिमी मसँग टाढिएकी छौ। म टाढिएको होइन। म त्यहीँ छु, जहाँ तिमीले छोडेकी थियौ। हेर यी ! म स्थिर छु– विचारले, दृष्टिले र स्वरूपले। तिमी विचारहीन र गन्तव्यहीन गतिशीलतामा विश्वास गछ्र्यौ– बतासले भुइँबाट उठाएर उडाएको पत्करझैं। तिम्रो सर्सराहटमा रागात्मकता छैन। म अडिएको मात्रै हुँ, मेरो वेग नास भएको छैन। एकान्त मेरो रहर थिएन। तिम्रो यही उपहारको बानी परेजस्तो छ।

आज जुन मेरा लागि बिरानो भएको छ, बाटो अँध्यारोभित्र बिलाएको छ। गोडाले टेक्ने ठाउँ ठम्याउन नसकेर जूनकीरीको पछिपछि दगुर्दै छ। औंलाहरू ठेस लागेर घायल छन्, पीडा मनमा थुप्रिएको छ। नजर निष्प्रभावी भएका छन्, विवेक अचेत छ। अँध्यारोको आफ्नो कुनै अनुहार हुँदैन। शून्यबाट उम्रिएको म तिमीबिना फेरि शून्यमै झरेको छु। तिमीसँग जोडिँदा मेरो शून्य हुनुको मजा र महŒव नै बेहिसाब थियो। मलाई गणितले पनि नाप्न सक्दैनथ्यो– गुरुत्वाकर्षण बिनाको पिण्ड हो एक्लो शून्य।

हुन त मैले पृथ्वी कहिल्यै उचालेको छैन, तर तिमी नहुँदा यो मन पृथ्वीभन्दा धेरै तौलले गरुंगो छ। मलाई दिन र रात एकैनासको  लाग्दैन। म प्रेमविह्वलताको त्यो सीमारेखापारि पुगेको छैन, तर तिम्रो समीपमा नहुँदा धेरैथोक भइरहन्छ। घामले शीत घोप्ट्याइदिन्छ, जूनले जीउ पोल्छ, ताराहरू मालश्रीको धुनमा नृत्य गरेको देख्छु। यो कुनै पागलपन होइन, तिम्रो प्रेमको ‘साइड इफेक्ट’ मात्रै हो।

म तिम्रा झीलजस्ता आँखामा एकोहोरिएर हेरिरहन्थें। हजारौं अक्षरहरू माछाझैं झीलको सतहमा नाचिरहेका हुन्थे। हेर्दाहेर्दै ती जोडिएर शब्दहरू बन्थे र शब्दहरू लहर बनेर वाक्य बन्थे। म तिनै वाक्यहरू दोहोर्‍याउँदै पढ्थें। मनका भावहरू आँखामा पढिन्थे। यतो भावः ततो रसः। तिम्रो र मेरो प्रेमको भाषा दुरुस्तै मिल्थ्यो। संसारमा प्रेमको भाषा नै हो– सबैले बुझ्ने, सबैले रुचाउने। प्रेम प्रकृतिको भाषा हो। समस्त जीवात्माको भाषा। 

तिमी सम्झिन्छ्यौ ? साथीहरूले तिम्रो नाउँ इन्दिरा राख्नु भनेर सुनाएका थिए। तिमीले मानिनौ। नत्र हामी मुकुन्द–इन्दिरा हुने थियौं। हाम्रो प्रेमको प्रख्याति वरपर त पैmलिएकै थियो, तर मुना–मदन, लैजा–मजनु, हीर–राँझा, रोमियो–जुलिएट, यी सबैभन्दा हाम्रो जोडी मसहुर हुन्छ भन्ने मलाई लाग्थ्यो। के गर्नु ? हामी आफ्नै नाटकका शिल्पी भएनौं।

प्रेम लीला हो भन्छन्। म मान्छु– यदि जीवन लीला हो भने त्यही जीवनको गुरुत्व बिन्दु ‘प्रेम’ पनि अनुपम लीला नै हो। यो संसार एउटा रंगमञ्च हो अनि हामी त्यहाँ दिव्य नाटक गरिरहेछौं। आहा ! 

यो प्रेमलीलामा के छैन ? त्रिलोकको वर्णनदेखि भ्रमणसम्म। आँखाभरि स्वर्गैस्वर्ग।

​​​​​​​प्रेमलाई प्रकाश चाहिन्न, किनकि यो आफ्नै भावले प्रदीप्त हुन्छ। प्रेमलाई रंग्याउनु पर्दैन, आफैं इन्द्रधनुषी हुन्छ यो।

मानिसले प्रेम केलाई गर्छ ? रूपलाई ? सौन्दर्यलाई ? 

चेतनालाई ? ज्ञानलाई ? भावनालाई ? मानवतालाई ? 

या स्वार्थलाई ? तिमीलाई बिर्सिन त मैले नचाहेको कहाँ हो र ? तर तिमीलाई बिर्सिंदा भत्किने दिलका डिलहरू फेरि ठड्याउन नसक्ने ठानेर तिम्रो सम्झना निधारमा टाँसेर अश्वत्थामाझैं डुलिरहेछु।

​​​​​​​प्यारी निर्मला, म यो सृष्टि हुँ। बृहत्भन्दा पनि बृहत्तम्। र तिमी प्रेम। तिमी मेरो प्राणवायु। तिमीमै अडिएको छु। मैले आँखा खोल्दा तिमी देखिन्छ्यौ, आँखा चिम्लिँदा पनि तिमी नै देखिन्छ्यौ। मेरो ध्वनिमा तिमी छौ, मेरो सुरमा तिमी छौ। मेरो स्पन्दन भनेकै तिमी हौ। तिमी छौ र त म छु। जुन दिन तिमी टाढिन्छ्यौ, त्यस दिन म बिलाउनेछु। हाम्रो बिछोड भन्नु त एकादेशको कथामा मात्रै सुनिनेछ।

उही तिम्रो... !
मुकुन्द


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.