विराटनगरमा पहिचान पक्षधरको आन्दोलन

कोसी प्रदेशसभा नजिकै उग्र प्रदर्शन,  विराटनगरको देवकोटा चोक तनावग्रस्त

कोसी प्रदेशसभा नजिकै उग्र प्रदर्शन,  विराटनगरको देवकोटा चोक तनावग्रस्त
तस्बिर : अन्नपूर्ण

विराटनगर  : प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र ऐतिहासिक पहिचानका आधारमा पुनः नामांकन गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले कोसी प्रदेशसभानजिकै सुरु गरेको प्रदर्शनले उग्र रूप लिएको छ । प्रदर्शन र ढुंगामुडाका कारण विराटनगरको देवकोटा चोक रणमैदानमा परिणत भएको छ ।

सुरक्षाकर्मीलाई लक्षित गरेर आन्दोलनकारीले एक्कासी ढुंगामुडा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको हो । बाँस, लाट्ठी, भालालगायतका घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरले गुलेली पनि प्रहार गरेको प्रहरीले जनाएको छ । 

प्रदर्शनकारीको ढुंगा लागेर केही सुरक्षाकर्मी घाइते भएका छन् । गम्भीर घाइते अवस्थाका सुरक्षाकर्मीलाई उपचारका लागि विराटनगरको कोसी, गोल्डेनलगायतका अस्पतालमा भर्ना गरिएको छ । आन्दोलनकारीतर्फ पनि केही घाइते भएका छन् । घाइतेहरुको पूर्ण विवरण आइसकेको छैन । 

प्रदर्शनकारीले देवकोटा चोकमा रहेका पसलहरुबाट प्लाष्टिकका कुर्सी तथा बाँसलगायत लगेर आगो बाल्दै प्रदर्शन गरेका थिए । सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुडा हुन थालेपछि प्रहरीले सुरुमा पानीको फोहोरा हानेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । 

तर, आन्दोलनकारी आक्रामक र उत्तेज बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । दर्जनौं सेल अश्रुग्यास प्रहार गरिएपनि आन्दोलनकारी पछि हटेका छैनन् । सुरक्षाकर्मीलाई लक्षित गरेर लगातार ढुंगामुडा गरिरहेका छन् । सुरक्षाकर्मीबाट पनि अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । 

आन्दोलनको नेतृत्वकर्ताहरूले माइकिङ गरेर आफूहरुको आन्दोलन शान्तिपूर्ण रहेको बताइरहँदा प्रदर्शनकारी भने सुरक्षाकर्मीमाथि खनिएका हुन् । स्थितिलाई नियन्त्रण बाहिर जान नदिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । 

आइतबार मध्यान्ह १२ बजेसम्ममा ३७ जना आन्दोलनकारी पक्राउ गरेको प्रहरीले दिउँसो कति जनालाई नियन्त्रणमा लियोभन्ने खुल्न बाँकी छ । सुरक्षाकर्मीलाई लक्षित गर्दै प्रदर्शनकारी आक्रमणमा उत्रिएपछि देवकोटा चोकमा सर्वसाधारणबीच भागदौड मच्चिएको थियो । घटनापछि आतंकित एवं त्रसित बनेका व्यापारीले त्यहाँका पसलहरु बन्द गरेका छन् । 

प्रदर्शनस्थलनजिक विभिन्न स्वास्थ्य संस्था र औषधि पसलहरु छन् । घटनापछि औषधि पसलहरु पनि बन्द गरिएका छन् । उपचारका लागि स्वास्थ्य संस्थामा ल्याइएका बिरामीहरु त्रसित बनेका छन् । बिरामी लिएर आएकाहरूबीच भौगदौड मच्चिएको छ । बिरामीहरुले सहज उपचार पाउने वातावरण बनेन । 

देवकोटा चोक कोसी प्रदेशको प्रदेशसभाबाट लगभग ५० मिटर पूर्वतर्फ मात्रै पर्छ । पहिचान पक्षधरले प्रदेशसभालाई लक्षित गरेर प्रदर्शन उग्र बनाएपछि  अवस्था तनावग्रस्त बनेको हो । प्रदेशसभा आसपास र विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरिएको छ । भीड नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको छ । निषेधित क्षेत्र तोड्न खोज्ने र भीडलाई उत्तेजक बनाएर माहोल भड्काउन खोज्ने केही आन्दोलनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट गुलेली, ढुंगा, लाट्ठी, बाँस, भाला बरामद गरिएको छ । कोसी प्रदेश प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको थियो । पहिचान पक्षधरले प्रदर्शन उग्र बनाएपनि प्रदेशसभा बैठक भने सुरु भइसकेको जनाइएको छ । 

बैठकमा सहभागी हुन जाने सांसद प्रदेशसभा (सदस्य)लाई संसद (प्रदेशसभा भवन) प्रवेशमा अवरोध गर्ने तयारीसहित पहिचान पक्षधर बिहानैदेखि भेला भएका थिए । प्रदेशसभाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।


 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.