गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि फलेवासलाई
कुश्मा : सातौँ पर्वत महोत्सवअन्तर्गत गण्डकी प्रदेशका स्थानीय तह स्तरमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि पर्वतको फलेवास नगरपालिकाले हात पारेको छ।
शनिबार भएको फाइनल खेलमा पर्वतकै महाशिला गाउँपालिकाविरुद्ध पाँच मध्येका तीन सेटमा जित निकाल्दै फलेवास नगरपालिकाले खेल जितेको हो।
सेमिफाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई पाखा लगाउँदै फलेवास फाइनलमा आइपुगेको हो भने महाशिलाले पर्वतकै मोदी गाउँपालिकालाई पराजित गर्दै फाइनलको यात्रामा आएको थियो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा फलेवासले २५–१९ को अन्तरमा जीत हात पारेको थियो। दोस्रो सेटमा भने महाशिला लयमा फर्किँदै २७–२५ को अन्तरमा फलेवासलाई पराजित गर्न सफल भयो।
खेलको तेस्रो सेट पनि महाशिलाकै पक्षमा रह्यो। तेस्रो सेटमा महाशिलाले २७–२५ को अन्तरमा फलेवासलाई पराजित गर्न सफल भयो।
चौथो सेटमा भने अघिल्ला दुई सेटको नतिजा उल्ट्याउँदै फलेवासले महाशिलालाई पराजित गर्यो। फलेवासले २७–२५ को अन्तरमा महाशिलालाई पराजित गर्न सक्यो।
दुवै समूहको २/२ सेटको बराबरी कायम रहेको अवस्थामा पाँचौँ तथा अन्तिम सेट १५ अंक रहेको थियो। जसमा फलेवासले महाशिलालाई १५–१२ को अन्तरमा पराजित गरेको छ।
खेलमा एउटा सहभागी हुने समूहले बढीमा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाउने नियम राखिएको थियो।
यो नियमअनुसार फलेवास नगरपालिकाले नेपाल पुलिस क्लबका दुई खेलाडीहरू रविन चन्द ठकुरी र सफल बिकलाई लिएर खेलेको थियो।
महाशिला गाउँपालिकाले सशस्त्र प्रहरीको एपीएफ क्लबका दुई खेलाडीहरू विजय थापा र टेकराज अवस्थीलाई लिएको थियो।
प्रतियोगितामा प्रथम बनेको फलेवासले २ लाख रुपैयाँ नगद सहिद मेडल र प्रमाणपत्र पाएको छ। दोस्रो बनेको महाशिलाले १ लाख नगदसहित मेडल र प्रमाणपत्र पाएको छ। सान्त्वना स्थानमा आउने दुई समूहलाई नगद ३०/३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाएका छन्।