राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट गरे मतदान
कुश्मा: राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका स्थित वडा नं. ७ राम्जाको पशुपति मावि क केन्द्रबाट मतदान गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अध्यक्ष तिमिल्सिनाले पशुपति माविबाट मतदान गरेका हुन् ।
तिमिल्सिनाले निर्वाचनमा निर्भिकताका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण नेपालीलाई अनुरोध गर्दै निर्वाचन सफलताको शुभकामना व्यक्त गरे ।
पर्वतमा मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठले पहिलो मतदान गरी जिल्ला भर मतदान प्रक्रियाको शुभारम्भ गरे । उनले कुश्मा नगरपालिका स्थित कुश्मा बजारमा रहेको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक मतपत्रमा मतदान गरी मतदान कार्यक्रमको शुरुवात गरेका हुन् ।
पर्वतमा ७६ मतदान स्थलका १ सय ५० मतदान केन्द्र तय गरिएका छन् । यस पटकको निर्वाचनमा पर्वतमा ६० हजार ६ सय ५१ पुरुष र ६१ हजार ९ सय ९८ महिला गरी कुल १ लाख २२ हजार ६ सय ४९ मतदाता छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सहितको सुरक्षा संयन्त्रले पर्वतमा ३५ मतदान स्थल अति संवेदनशील, ३१ मतदान स्थल संवेदनशील र १० मतदान स्थललाई सामान्य सुचीमा वर्गीकरण गरेको छ ।