अहंकार

अहंकार

एउटै घटना कोहीलाई फाइदा कोहीलाई भयो हानि

कतै मर्‍यो आत्मसम्मान कतै स्वाभिमानी
आफ्नै विचार बैरी भयो, कहाँ जाम कता भागम्
ज्यानको बाजी थापेको थेँ, कल्लाई हिसाब मागौं’

दसवर्षे जनयुद्धले देशमा व्यवस्था बदलिए पनि त्यही युद्धमा होमिनेहरूको अवस्था बदल्न नसकेको भाव गीतमा झल्किन्छ। यद्यपि नेतृत्व गर्ने व्यक्तिहरूको हैसियत भने चुलिएको विषय प्रकाश सपूतको लोकप्रिय यो नयाँ गीतमा देखाइएको छ। 

गीतको मर्मझैं जनताले छानेका नेता हुन् या कार्यकर्ता जनमुखी हुन छाडेका छन्। आत्मकेन्द्रित हुँदै गएका देखिन्छन्। जनता र नेताबीचको दूरी बढ्दै गएको छ। एउटै गाउँ अनि एउटै आँगनमा हुर्किएका साथीसंगी जनप्रतिनिधि र सांसद हुँदा उनैलाई भेट्न हम्मेहम्मे पर्ने गर्छ। स्वकीय सचिवको तगारोले काम छिटो सक्नुको सट्टा, झन् पर धकेल्छ। त्यसैगरी जनयुद्धदेखि परिवर्तनका अन्य आन्दोलनमा सँगै लडेका व्यक्तिहरू नेता र मन्त्री भइसकेपछि उनीहरूसँग भेट्न सिंहदरबारको अग्लो पर्खाल नाघ्न त्यति सहज हुँदैन।

छिमेकी मुलुक भारतमा हालै सम्पन्न विधानसभा चुनावमा आम आदमी पार्टीले पञ्जाबमा जित हासिल गर्‍यो। चुनावअघि पार्टीका राष्ट्रिय संयोजक अरबिन्द केजरीवालले मुख्यमन्त्री पदका लागि कुन व्यक्ति उपयोगी हुन्छन् भन्दै ‘जनता चुनेगी अपना सीएम’ नामक एक सर्वेक्षण अभियान नै चलाएका थिए। सर्वेक्षणमा संलग्न करिब १५ लाख जनता भगवन्त मानको पक्षमा देखिएपछि पञ्जाबमा १ सय १७ सिटमध्ये ९२ सिट जितेर विजयी भएको आपले मानलाई मुख्यमन्त्री बनाएको थियो।

पञ्जाबमा परिवर्तन चाहने जनताले पुराना पार्टीहरूलाई हराएर नयाँ पार्टीलाई सत्तामा ल्याइरहँदा नेपालमा भने परिवर्तन चाहने जनताले यस्तो कदम उठाउन नसकेकाले राजनीतिक अहंकार बढ्दै जानुमा जनता पनि उत्तिकै जिम्मेवार रहेका दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिता आचार्य रिजाल बताउँछिन्। 

नेताहरूमा गैरजिम्मेवारीपन बढ्नुका साथै कसैप्रति पनि उत्तरदायी र जवाफदेही नहुने संस्कारले एउटा नारा लिएर चुनावी क्षेत्रमा प्रवेश गरे पनि जितपछि आफ्नो दायित्वप्रति इमानदारिता नदेखिने प्रवृत्ति बढेको उनको बुझाइ छ। ‘जहिले पनि तिनै पार्टी अनि तिनै व्यक्ति किन छान्छन् त जनता। उनीहरू गैरजिम्मेवार हुँदा हामीले त्यसको उत्तर कहिले मागेनौं’, उनले भनिन्। आफ्नो पदको महत्व नबुझ्ने र यसलाई इज्जत दिन नजान्ने नेताहरूमा हामीलाई कसैले केही गर्न सक्दैन भन्ने ठूलो भ्रम रहेको उनको भनाइ छ। 

नेताहरूमा ‘तँभन्दा म के कम’ भन्ने अहंकारी स्वभाव बढ्दै गएपछि संसद् लडाइँको मैदान बनेको छ। नेताहरू एकले अर्कालाई ठीक पार्ने होडबाजीमा छन्। यसले गर्दा विदेशी शक्तिहरूलाई नेपालमा आफ्नो स्वार्थअनुसार काम गराउन सहज भएको छ। राजनीतिक पार्टीहरूले हरेक विषयलाई हतियार बनाउन थालेका छन्। एकअर्काविरुद्ध प्रहार गर्न उनीहरू कुनै मौका चुकाउँदैनन्। यही परिपाटीले गर्दा देशमा भ्रष्टाचार संस्थागत रूपमा मौलाउँदै गएको वरिष्ठ कलाकार मदनदास श्रेष्ठको ठम्याइँ छ। ‘नेताहरूले जनतामा राम्रो पकड जमाउन सकेनन्। राज्य गरिब हुँदै गयो तर नेताहरू धनी हुँदै जान थाले। भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भनिए पनि भित्रभित्रैबाट यिनीहरू नै भ्रष्टाचारमा संलग्न रहिरहे’, उनले भने।  नेताहरूले आफ्नो हैसियत बढाए पनि जनता सामान्य औषधोपचार गर्नसमेत नसक्ने अवस्थामा पुगेको तथ्य औंल्याउँदै यही अहंकारी आचरणले देशको अखण्डता र स्वाभिमानमा समेत प्रहार गरेको उनले बताए। ‘मानिसमा उन्मात र अहंकार बढेर त्यसले सीमा नाघेपछि त्यो आफैं भस्म हुने दिन नआउँला भन्न सकिन्न’, उनले भने, ‘आफ्नो दुनो सोझ्याउनुभन्दा आम जनताको लागि गर्छु र परिवर्तन ल्याउँछु भन्ने कोही भेटिएनन्।’ उसले यति कमायो यसले यति कमायो भनेर आपसी हिसाबकिताब नमिलेर पनि स्थानीय तहदेखि नै विकृति बढ्दै गएको उनको बुझाइ छ।

पैसा र शक्ति भएपछि म एक्लैले चलाउन सक्छु भन्ने अहम्ताका साथ नेताहरूले आफ्ना बोली र व्यवहारलाई गिराउने गरेका छन्। 

मानवशास्त्री डा.अञ्जु खड्काका अनुसार स्थानीय तहका नेताहरूले जनताका कामभन्दा बढी व्यापार गर्ने र कमाउने धन्दामा व्यस्त हुन थालेका छन्। उनी सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ की स्थायी बासिन्दा हुन्। नेताहरूले राजनीतिक नारा लोकप्रिय बनाए पनि व्यवहारमा त्यसलाई उतार्ने नगरेको बताउँदै उनी भन्छिन्, ‘टुप्पोबाट पलाएको नेता काम छैन भनेर गाउँलेले भनेको मैले गाउँ जाँदा सुनेकी छु।’ इतिहासमा कुन नेताले कस्तो काम गरेका थिए भनेर रिभ्यु गर्ने परिपाटी नभएको र हामीकहाँ चुक्यौं भनेर खोजी गर्ने परिपाटी पनि नबसेकाले आफैंलाई सर्वोपरि ठान्ने अहंकारी प्रवृत्ति नेताहरूमा बढ्दै गएको उनको बुझाइ छ। ‘पैसा र शक्ति भएपछि म एक्लैले चलाउन सक्छु भन्ने अहम्ताका साथ नेताहरूले आफ्ना व्यवहार र बोलीलाई गिराउने गरेका छन्’, उनले भनिन्। 

कुनै पनि व्यक्तिको बोलीले उसको व्यवहार, कार्यशैली र स्वभाव झल्काउँछ। व्यक्तिको बोली र व्यवहारबीच अन्तर भए उमाथिको विश्वास  हट्छ। त्यसमाथि पनि राजनीतिक क्षेत्रमा संलग्न व्यक्तिहरूका बोलीलाई जनताले झनै विश्वास गर्दैनन्। 

नेताहरूले जे बोल्छन्, त्यो गर्दैनन्, जे बोल्दैनन् त्यही गर्छन्। यो जनताले बुझिसकेका छन्। एकले अर्को पार्टी र नेताहरूलाई आरोप प्रत्यारोप, गाली र आक्रोश व्यक्त गर्न शीर्ष नेताहरू नै तुच्छ शैलीमा उत्रने र आफ्नो दम्ब प्रस्तुत गर्ने गरेको पाइन्छ। 

सार्वजनिक भाषणमा एकले अर्को दलको कमी, कमजोरी औंल्याउनु त्यति अस्वाभाविक मानिन्न। तर ‘मन मिले मेला, नमिले झमेला’ भनेझैं पार्र्टी एक हुँदा सबै सही फुटेपछि सबै गलत भन्दै व्यक्ति विशेषलाई अंकित गर्दै गालीगलौजमा उत्रने प्रवृत्ति अहिले राजनीतिमा हाबी छ। गत फागुन २३, २०७७ मा सर्वोच्च अदालतले नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)को खारेजीको फैसला सुनाएपछिका दिनहरूमा कम्युनिस्टका शीर्ष नेताहरूले एकअर्कालाई प्रयोग गरेका शब्द आम जनमानसले पचाउन सक्दैनन्। सत्ताबाट हट्नु परेका कारण पनि नेताहरू गैरराजनीतिक टीकाटिप्पणीमा उत्रिने गरेको देखिन्छ। नेताहरूले राजनीतिक संस्कार बिर्सिएर प्रायः मञ्चमा एकअर्काको आलोचना गरेको सुनिनु नौलो कुरा रहेन।

चुनाव नजिकिँदै जाँदा गाउँगाउँमा भोट माग्न नेताको लर्को लाग्ने गर्छ। वैशाख ३० मा तोकिएको स्थानीय चुनावका लागि नेताहरूको यस्तै चहलपहल सुरु भइसकेको छ। तर चुनाव जितेर पदमा पुगिसकेपछि तीनै नेताहरूमध्ये कतिपय त आफ्नो क्षेत्रमा कहिल्यै जान भ्याउँदैनन्। आफ्ना मतदाता सानो सेवाको काम लिन कैयौं दिनको बाटो धाएर आउँदा पनि भेट्दै नभेटी ठूलाठालु पल्टिने प्रवृत्ति यथावत् छ। नेताहरूमा रहेको यही अहंकारले गर्दा उनीहरूले जनताबाट पाउने श्रद्धा गुमाउँदै गएका राजनीतिक विश्लेषक कृष्ण खनालको बुझाइ छ।  राजनीतिमा जनताले अपेक्षा गरेअनुसार नेताहरूले बोलेनन् वा व्यवहार गरेनन् भनेर गुनासो गर्नेबाहेक अन्य विकल्प उनी देख्दैनन्। ‘नेताहरूका यस्ता सस्ता बोली र व्यवहारले उनीहरूले एकैछिन समर्थकको ताली पाए पनि समाजमा त्यसको प्रभाव सकारात्मक पर्दैन’, उनी भन्छन्, ‘एकैछिन जोसिएर कार्यकर्ताको ताली पाउँदा अर्को ठाउँमा गएर झन् कडा बोल्नुहुन्छ। तर यसले समाज र उहाँहरूलाई पनि हित गर्दैन।’ आफू अनुकूल हुँदा एउटा कुरा, अनुकूल नहुँदा अर्को कुरा गर्ने नेताहरूको दोहोरो चरित्र सबैसामु प्रष्ट भइसकेको उनको भनाइ छ।  

नेताहरूको यस्तो बोली र व्यवहारको जनता साक्षी रहेकाले हिजो बोलेका विषय पनि जनताले त्यति सजिलै नबिर्सने उनी बताउँछन्। यस्तै आचरणले गर्दा नेताहरूले जनताबीच आफ्नो प्रभाव घटाइरहेका उनको विश्लेषण छ। ‘मानिसले अहिले नेतालाई कुनै किसिमको श्रद्धा र आस्थाले हेर्दै हेर्दैनन्। यो कुरा उनीहरूले कति बुझेका छन् थाहा छैन’, राजनीतिक विश्लेषक खनालले भने, ‘जनतामा उनीहरूको चर्चाको अंश अलिकति पनि बाँकी छ जस्तो लाग्दैन। यसको मूल कारण उनीहरूको आफ्नै अहंकार र आचरण हो।’
नेताहरूको आचरण र दोहोरो चरित्रको अर्को उदाहरण उनीहरूमा रहेको पिर्के सलामीको भोकलाई पनि लिन सकिन्छ। करिब दुई महिनाअगाडि एक बहालवाला मन्त्री आफ्नो गृह जिल्लामा रहेका बेलामा पिर्के सलामीकै कारण विवादमा तानिएकी थिइन्। 

आफू सत्ताबाहिर हुँदा अरूको सलामीप्रति निकै कटाक्ष गर्ने उनले आफू मन्त्री भएपछि सलामी खाएको आलोचना गर्दैै उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसैगरी केही वर्षअगाडि एक पूर्वप्रधानमन्त्रीले खाएको पिर्के सलामीका समाचार पनि सञ्चारमाध्यममा छाएका थिए। देश संघीय संरचनामा गइसकेपछिको अवस्थामा विभिन्न स्थानीय तहका नेताहरूले पनि आफू पदमा पुगेपछि पिर्के सलामी परम्परालाई निरन्तरता दिँदै आएको पाइन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.