राजनीतिमा युवा हस्तक्षेप

राजनीतिमा युवा हस्तक्षेप

राजनीतिक दलहरूले पाँच वर्ष भित्रमा महाधिवेशन गर्नै पर्ने संवैधानिक बाध्यात्मक व्यवस्था छ। नेपालका प्रमुख पार्टीहरू समयसीमाभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने वैधानिक र नैतिक दबाबअनुसार लागि परेका छन्। यसले चिसो मौसमका बाबजुत राजनीतिक सरगर्मी बढेको छ। एमाले, राप्रपा र कांग्रेसले महाधिवेशन सके भने माओवादी केन्द्रको भइरहेको छ। अन्य दल तल्ला तहका अधिवेशन सम्पन्न गरी केन्द्रको तयारीमा छन्। महाधिवेशनबाट पार्टीका भातृसंगठनहरूमा सक्रिय युवा नेता महत्त्वपूर्ण पदमा विजय भएका छन्। पार्टीका महत्त्वपूर्ण पदीय जिम्मेवारीमा युवाको आकर्षणले राजनीतिमा जबरजस्त हस्तक्षेपको पूर्वसंकेत गरेको छ।

युवाको सक्रिय प्रतिनिधित्व, सहभागिता र परिचालनले राजनीतिमा चलायमान र रूपान्तरणको मार्ग लक्षित गर्छ। जनसंख्यामा बाहुल्यता रहेका युवाको आवाजलाई सम्बोधन गर्न पार्टीहरूले युवा नेतालाई प्राथमिकतामा राख्नुपर्ने अहिलेको बाध्यता पनि छ। समयानुकूल राजनीतिक लयलाई सुदृढ गर्दै यथास्थितिवादबाट एकाईसौं शताब्दीको आधुनिक समावेशी लोकतन्त्रतर्फ उन्मुख हुनुपर्ने अहिलेको सन्दर्भ छ। नेतृत्व पुस्तान्तरणमार्फत रूपान्तरण अहिलेदेखि नै युवाको अझै हस्तक्षेपकारी भूमिकाको अपरिहार्यता पनि देखिन्छ। राजनीतिमा सक्षम, शिक्षित र नैतिक युवाको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वले मात्र सामाजिक, आर्थिक र राजनीति पक्षमा सकारात्मक रूपान्तरण सम्भव हुन्छ। आमुल रूपान्तरण प्रत्येक संगठन र संरचनाहरूमा योग्य प्रतिनिधि, पदाधिकारी र नेतृत्व चयनले मात्र हुनेछ। सकारात्मक परिवर्तनका लागि युवाको अर्थपूर्ण हस्तक्षेप आमजनताको अपेक्षा पनि हो।

राजनीतिमा युवा

मुलुकका प्रमुख राजनीतिक दलका महाधिवेशन र नजिकिँदो निर्वाचनको तयारीले सर्वत्र राजनीतिक चासो बढाएको छ। राप्रपामा लामो समयदेखिको नेतृत्व पुस्तान्तरण बहसले सार्थकता पाएको छ। नेकपा एमालेमा नेतृत्व पुस्तान्तरण नभए पनि १०औं महाधिवेशनबाट करिब ४० प्रतिशत युवाको प्रतिनिधित्व बढेको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ४५ प्रतिशत युवाको प्रतिनिधित्व छ। माओवादी केन्द्रको स्थानीय कमिटीदेखि प्रदेश र केन्द्रसम्म नै अहिले युवाको आकर्षण देखिएको छ। पछिल्लो पुस्ताका विजयी युवा नेतृत्व तयार पनि देखिन्छन्, जुन समग्र राजनीति र मुलुक सकारात्मक पक्ष पनि हो। जीवनको सक्रियपूर्ण जोश, जाँगर र ऊर्जाले भरिपूर्ण युवाशक्ति देशको विकास र समृद्धिको आधार हुनसक्ने अपेक्षा आमरूपमा रहने गर्छ। सक्रिय र सक्षम युवा हरेक पक्षको परिर्वतन बहुआयमिक मेरुदण्ड हुन्।

राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका संवाहक भनिएका युवा राजनीतिक नेतृत्व तहसँग असन्तुष्ट र वितृष्णा बढ्दो छ। राजनीतिक पदमा विगतदेखि नै युवा भर्‍याङ मात्र बन्ने गरेका छन्।

नेपालमा युवाको जनसंख्या ४० प्रतिशतभन्दा बढी छ। युवाको नेतृत्वलाई उत्साह र अपेक्षाका साथ हेर्ने गरिन्छ। राजनीतिमा यसको प्रभाव अझ व्यापक हुने गरेको छ।  युवाप्रधान मुलुकमा युवालाई नेतृत्वको अवसरबाट वञ्चित गरिँदै आएको छ। राजनीतिको नेतृत्वमा पुरानो पुस्ताकै हालिमुहाली चलिरहँदा युवाले चाहेजस्तो मुलुक रूपान्तरण हुन सकेको छैन। समावेशी लोकतन्त्रको व्यवस्थाले राजनीतिमा युवालाई आकर्षणसँगै समतामूलक दायित्वको व्यवस्था गरेको छ। कांग्रेसको १४औं महाधिवेशनको लोकतान्त्रिक प्रकृयाले तल्लो तहदेखि केन्द्रसम्म नै करिब ४५ प्रतिशतभन्दा बढी किशोर र युवाको निर्वाचित प्रतिनिधित्व देखिएको छ। सबैभन्दा पुरानो पार्टीमा वृद्ध नेतामाझ नयाँ पुस्ताको आकर्षणलाई नयाँ पालुवाको रूपमा विश्लेषण गर्ने विज्ञ पनि छन्। नेकपा एमालेको १०औं महाधिवेशनमा पनि वडादेखि केन्द्रसम्म युवाको मनोनयन र सहभागिता उल्लेख्य देखिन्छ।

संविधान लागू भएपछि संघीय संरचनाअनुरूप गत वर्षका तीन तहमै प्रतिनिधिसभाको निर्वाचन भयो। त्यसबेला पनि प्रतिनिधि सभामा १३.०९ प्रतिशत, प्रदेश सभामा २३.६३ प्रतिशत, राष्ट्रिय सभामा ६.७७ प्रतिशत र स्थानीय तहमा ३९.६४ प्रतिशत युवा निर्वाचित भई शासन व्यवस्थामा सहभागी छन्। यद्यपि, उनीहरूले आमअपेक्षाअनुरूप कार्य गर्न नसक्दा चुनौतीका चाङ थुप्रिएका छन्। राजनीतिक पदमा विगतदेखि नै युवा भर्‍याङ मात्र बन्ने गरेका छन्, निर्णायक बन्न सकेका छैनन्। यस्तो बेलामा तल्लो तहदेखि नै युवाको हस्तक्षेपपूर्ण सहभागिताले राजनीतिमा सक्षम नयाँ पुस्ताको आगमनलाई बाध्यकारी बनाउन सघाउने पूर्वानुमान गर्न सकिन्छ। युवा पुस्ता समयानुकूल परिवर्तन चाहन्छन्। परिवर्तित समयानुसारको मुद्दालाई सशक्तरूपमा उठाउन नसक्ने र युवाको सवाललाई सम्बोधन गर्न नसक्ने वा नचाहने पाका नेतालाई पाखा लगाउने संकेत युवामा देखिएको छ।

नेतृत्वमा हस्तक्षेप
विगतदेखि नै मुलुकको हरेक राजनीतिक परिवर्तनमा युवा नै अग्रपंक्तिमा होमिन्छन्। युवा शक्तिको आन्दोलन, विद्रोह र अग्रगामी बलले परिवर्तन हुन्छ। नेतृत्वपंक्तिको बेवास्ताका कारण तिनै युवा अवसरबाट भने प्रायः वञ्चित हुँदै आएका छन्। अवसर दिने वा पाउने बेलामा भने युवाको भूमिकालाई अवमूल्यांकन गर्ने प्रयास निरन्तर हुँदै आएको छ। राजनीतिको नेतृत्व तहमा अझै पनि युवालाई क्षमताको अविश्वास गरी वञ्चित गरिँदै आएको छ। यो प्रवृत्ति सबै राजनीतिक दलमा देखिएको छ। राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका संवाहक भनिएका युवा राजनीतिक नेतृत्व तहसँग असन्तुष्ट र वितृष्णा बढ्दो छ। वितृष्णाको भारीले थिचिएका युवा राजनीति, देश हुँदै विदेश पलायन हुने क्रम पछिल्ला दशकदेखि बढिरहेको छ। राजनीतिक, सामाजिक र आर्थिक दृष्टिकोणले पनि यो राम्रो संकेत भने पक्कै होइन।

एकातर्फ, अवसरको खोजीमा लागेका युवालाई नेतृत्व तहले सधैं उपेक्षा र तिरस्कार गर्दै आएको छ। अर्कातर्फ, युवाले अझै पनि नेतृत्व चाहेजस्तो एकताबद्ध रूपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकिरहेका छैनन्। यसैले पनि अन्य क्षेत्रमा जस्तै राजनीतिमा युवा नेतृत्व खै भन्ने प्रश्न चर्चामा छ। बहुदलीय व्यवस्थादेखि संघीय लोकतान्त्रिक गणतन्त्रको ३० वर्षे राजनीतिक यात्रासम्म पुरानै नेतृत्वको हालीमुहाली छ। गणतन्त्रको घोषणा पश्चात सीमित शीर्षनेता मात्र आलोपालो प्रधानमन्त्री बनिरहेका छन्। आआफ्ना पार्टीमा यी नेताको रजगज २०४७ सालयता निर्वाध चलिरहेको छ। कांग्रेसमा बिपी कोइराला, एमालेमा मदन भण्डारी, माओवादीमा प्रचण्ड र बाबुराम युवावस्थामै राजनीतिक परिवर्तनका लागि हस्तक्षेप गर्ने नेता हुन्।

नेपालको मूलधारको राजनीतिमा नेतृत्व गर्न सक्षम दोस्रो र तेस्रो पुस्ता पनि तयार भइसकेको छ। तर तिनले नेतृत्वको अवसर भने पाउन सकेका छैनन्। नेतृत्व हस्तान्तरण गर्न पहिलो पुस्ता अझै तयार भएको छैन। युवा आफैं पनि राजनीतिक दल र नेतृत्वको गुटमा सीमित घेराबाट फुत्किएर आमवृत्तमा आउन सकेका छैनन्। समृद्धि र सुशासनको लक्ष्यमा नेपाललाई विकासोन्मुख राष्ट्रमा पुर्‍याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारीमूलक बनाउन युवाको भूमिका अहं देखिएको छ। अब हरेक क्षेत्रमा युवा नेतृत्वको आवश्यकता विषयक बहस थाल्नुपर्छ।

पुस्तान्तरणको लहर
समसामयिक महाधिवेशनको सन्दर्भमा दलविशेष मात्र होइन, सम्पूर्ण राजनीतिक प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठिरहेका बेला राजनीतिमा युवा पुस्तान्तरणको बहसले चर्चा पाएको छ। देशको परिस्थिति मात्रको कुरा होइन, पार्टीभित्र पनि नयाँ शक्ति र नयाँ जोसका युवा खोजेको छ। कांग्रेसको १४औं महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्माबाहेक नेतृत्वको पुस्तान्तरण हुन सकेन। राप्रपाको महाधिवेशनबाट नेतृत्व पुस्तान्तरणसहित युवाको सहभागिता थपिएको छ। एमालेको १०औं महाधिवेशनबाट पनि नेतृत्व पुस्तान्तरण हुन सकेन। केन्द्रीय कमिटीमा करिब ४० प्रतिशत युवा थपिए। वैचारिक रूपमा विवादित रहे पनि वैकल्पिक राजनीतिक दल विवेकशील साझामा पनि बौद्धिक युवाको आकर्षण छ। सबैतिरको आकर्षणले माओवादी केन्द्रलगायत दलमा पनि पुस्तान्तरण र युवाको सहभागितामा व्यापक बहस सिर्जना भएको छ।

राजनीतिक दललाई महाधिवेशनको संवैधानिक बाध्यात्मक व्यवस्था लागू भयो। यस्तैगरी सबै पार्टीमा नेतृत्व हस्तान्तरण समयावधी र युवाको प्रतिनिधित्व तोक्नैपर्ने अवस्था सिर्जना भएको छ। समयानुकूल पुस्तान्तरणका लागि यस्ता उपाय लागू गर्नेपर्ने देखिन्छ। मुलुकमा बहुदलीय व्यवस्था पछिको संक्रमणकालीन राजनीतिले समयानुकूल पुस्तान्तरण चाहेको छ। तर त्यसो नहुँदा राजनीतिमा अझै पनि धेरै सक्षम युवा जिम्मेवारविहीन छन्। मुलुक अहिले संघीय संरचनासहितको सहभागितामूलक र समावेशी आधुनिक लोकतन्त्रमा छ। तर, नेपाली राजनीति युवाको जनसंख्या अनुरूप सहभागी गराउन सकिरहेको छैन। यसले समावेशी लोकतन्त्रको मर्मलाई नै कमजोर बनाउँदै लगेको छ। तसर्थ, अब युवालाई राजनीतिमा पर्याप्त भूमिका दिन सक्ने माहोल बनाउन जरुरी छ।

युवालाई विकास र नीति निर्माण साथै राजनीतिमा प्रवेश आकर्षण गर्न पार्टीले नै प्रभावकारी कार्ययोजना प्रस्तुत गरुन् भन्ने आमअपेक्षा छ। राजनीतिमा नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न सक्षम युवा पुस्ताले अग्रसरता लिन जरुरी छ। युवाले समयको माग अनुसारको चुनौती सामना गर्न सक्नुपर्छ। अहिले पार्टीमा भएका युवा मुख्य नेतृत्वमा हस्तक्षेप गर्ने वा आफ्नो एजेन्डामा नेतृत्वलाई हिँडाउन सक्ने सशक्त भूमिकाको आमजनताले अपेक्षा गरेका छन्। यसर्थ, राजनीतिमा एकाईसौं शताब्दी अनुकूल नयाँ अध्याय सुरुआत गर्ने हो भने भावी दिनमा नेतृत्वमा हस्तक्षेप गरी सक्षम युवा आउनुको विकल्प छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.