पाकिस्तानदेखि पणेनासम्म

पाकिस्तानदेखि पणेनासम्म

पाकिस्तानमा जन्मिएका पाणिनीले अर्घाखाँचीको पणेनामा तपस्या गरे । उनले विश्वकै सर्वोत्कृष्ट व्याकरण ‘अष्टाध्यायी’ लेखे।


दक्षिण एसियाली क्षेत्रको प्राचीन शास्त्रीय भाषा संस्कृत इन्डो–युरोपेली भाषाहरूको इन्डो–आर्य धारसँग सम्बन्धित छ। संस्कृत भाषाको व्याकरण अर्घाखाँची जिल्लाको पाणिनी तपोभूमिमा जन्म भएको मानिन्छ। संस्कृत प्राचीन समयमा नेपाल, बंगलादेश, भारत, पाकिस्तान, अफगानिस्तानलगायत बृहत्तर दक्षिण एसियाली क्षेत्रको बोलचालको भाषा थियो। दक्षिण एसियाली भाषा जस्तै नेपाली, उर्दू, कश्मिरी, उडिया, बाङ्ला, मराठी, सिन्धी, पञ्जाबी आदि संस्कृतबाट उत्पन्न भएको भाषाशास्त्रीहरूले लेखेका छन्। भाषाहरूको विश्व इतिहासमै प्रभावशाली पात्र पाणिनीले रचेको संस्कृत व्याकरणलाई संसारकै पहिलो व्यवस्थित भाषा–प्रणाली मानिन्छ। पाणिनीकोे संस्कृत व्याकरणको जन्म अर्घाखाँची जिल्लाको पणेनामा भएकाले यो ठाउँको ऐतिहासिक महत्त्व छ।

संस्कृत व्याकरणका रचयिता पाणिनीको जन्म–मिति र जीवनीका बारेमा लिखित अभिलेख नभए पनि उनी ईसापूर्व चौथोदेखि छैठौं शताब्दीसम्म सिन्धु नदी छेउको सलतुला भन्ने ठाउँं (हाल पाकिस्तान)मा जन्मिएको इतिहासकारहरूले लेखेका छन्। लुम्बिनीको अशोक स्तम्भमा आधारित शिलालेख पत्ता लगाएका र बुद्धको ऐतिहासिक जन्मस्थल प्रमाणित गर्न महत्त्वपूर्ण भूमिका खेलेका सातौं शताब्दीका प्रसिद्ध चिनियाँ बौद्ध भिक्षु हुआन साङले पनि पाणिनीको जन्मस्थल सलतुलाका सन्दर्भहरू उल्लेख गरका छन्। प्राचीन गान्धरा क्षेत्रमा र अहिलेको उत्तर–पश्चिम पाकिस्तानमा अवस्थित सलतुला पाकिस्तानको लाहौर सहरनजिकै सिन्धु र काबुल नदीहरूको संगम भएको सहर हो। प्राचीन समयका पूर्वीय दर्शनका चिन्तकहरू र वैज्ञानिकहरूले खोजबाहेक आफ्नो जीवनी र व्यक्तिगत विवरणमा खासै ध्यान नदिने हुनाले उनीहरूका आत्मकथाहरू भेटिँदैनन्। तिनैमध्ये एक थिए, पाणिनी। त्यसैकारण उनको जन्म र उनले अर्घाखाँचीमा भाषालाई वैज्ञानिक र व्यवस्थित बनाइ संस्कृत व्याकरण सिर्जना गरेको मात्र पाइन्छ।

व्याकरणको क्षेत्रमा पाणिनीको देन खगोल विज्ञान र गणितमा आर्यभट्टको बराबर हो। अर्घाखाँचीको पणेनालाई पाणिनीको तपोभूमि मानिन्छ। जहाँ रहँदा उनले संस्कृतको व्याकरणलाई जन्म दिए।

पाकिस्तानमा जन्मिएका पाणिनीले अर्घाखाँचीको पणेनामा तपस्या गरे । उनले विश्वकै सर्वोत्कृष्ट व्याकरण ‘अष्टाध्यायी’ लेखे। पाणिनीको रचना अष्टध्यायी शास्त्रीय संस्कृत व्याकरणको सबैभन्दा पुरानो कृति हो। संस्कृतको उदय वैदिक संस्कृतको  रूपमा ईसापूर्व १७००–२१०० ताका सुरु भएको थियो। पाणिनीको अष्टध्यायी लगायत संस्कृत भाषाको व्याकरणका नियम र परिभाषाका आधारभूत संकलनहरूले आधुनिक भाषाविज्ञानमा धेरै प्रभाव पारेको कुरा जर्मनीका प्रख्यात भाषाविद् फ्रान्ज बपले पत्ता लगाए। त्यसपछि यूरोपमा पाणिनीको संस्कृतमा योगदानबारे पश्चिममा उनको कामलाई महत्त्वका साथ हेर्न थालियो।

इन्डो– यूरोपेली भाषाको उत्पत्तिका विषयमा १९औं शताब्दीमा यूरोपमा अध्ययन–अनुसन्धान हुन थालेपछि पाणिनीका बारेमा पश्चिमका बपबाहेक अन्य भाषाविद्ले पनि चासो दिन थालेका थिए। अहिले मुख्यतया धार्मिक प्रयोजनका लागि मात्र प्रयोग गरिए पनि दक्षिण एसियामै संस्कृत हजारौं वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो। पाली भाषामा रचना गरिएका बौद्ध धर्मका ग्रन्थहरू पनि पाली भाषाबाट संस्कृतमा अनुवाद गरिए। भाषाशास्त्र बाहेक संस्कृत व्याकरणको महत्त्व विज्ञानको क्षेत्रमा र समग्र पूर्वीय दर्शन र दृष्टिकोणमा पनि उत्तिकै छ भनेर विश्व प्रख्यात भाषाविद् तथा राजनीतिक विश्लेषक नोम चोम्स्कीले लेखेका छन्।

संस्कृत भाषाका पिता पनि भन्ने गरिएका पाकिस्तानमा जन्मिएका पाणिनीले अर्घाखाँचीको पणेनामा आएर संस्कृतको व्याकरण रचेको सम्मानमा नेपालले  हुलाक टिकट पनि जारी गरेको छ। पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल पनि मानिन्छ। पाणिनीले संस्कृतलाई व्याकरणमार्फत अभिव्यक्तिको एक उच्च विकसित र शक्तिशाली वाहन बनाए। फलस्वरूप तर्कसंगत र वैज्ञानिक विचारहरू सटिक र स्पष्टताका साथ व्यक्त गर्न सकिन्छ। खासमा उनले संस्कृतलाई बृहत दक्षिण एसियाली क्षेत्रमा एक समान बनाउन योगदान गरेका थिए, ताकि उत्तर, दक्षिण, पूर्व र पश्चिमबाट विद्वानहरू एकअर्कालाई बुझ्न सकून्।

स्वीट्जरल्यान्डका प्रख्यात भाषाविद् र दार्शनिक फर्डिनान्ड डे सौसुरेले पाणिनीको व्याकरणका विषय दसकौंसम्म अध्ययन अनुसन्धान गरेर यूरोपेली भाषाविज्ञानको  क्षेत्रमा महत्त्वपूर्ण आधारहरू खडा गरेका थिए। सौसुरेले पत्ता लगाएका ऐतिहासिक तथ्य र प्रमाणहरूका आधारमा नै यूरोपेली भाषा संरचनामा पाणिनीको व्याकरणको प्रभाव र संस्कृतलाई यूरोपेली भाषाहरूको मातृभाषाका रूपमा मान्यता दिन थालिएको हो। भाषिक दृष्टिले संस्कृतलाई ‘धार्मिक आयाम’ र मन्त्र–जपहरूबाट मात्र हेरिने गरिएको भएता पनि के बिर्सिनु हुँदैन भने पूर्वीय सभ्यताको प्राचीन समयमा दर्शन, कानुन, विज्ञान, साहित्यलगायत फराकिलो आयामहरूमा संस्कृत व्याकरणको प्रमुख देन थियो।

आजको दिनमा निःसन्देह हामी विज्ञान र प्रविधिको क्षेत्रमा पश्चिमी देशभन्दा पछाडि छौं। तर पूर्वीय दर्शन र सभ्यताले जन्माएका यो क्षेत्रका वैज्ञानिकहरूको निष्कर्ष र अन्वेषणहरूमा आधारित थिए। वास्तवमा पूर्वीय सभ्यतालाई कुनै बेला स्वर्णिम युगमा धकेल्ने संस्कृतभाषी तिनै वैज्ञानिक र स्वतन्त्र विचारकहरू थिए। जसले विभिन्न विषयमा प्रश्न सोध्ने र उत्तर खोज्ने काम गरे। मानव सभ्यतालाई उकास्न पनि मद्दत गरेका थिए। पश्चिमको एक भगिनी भाषाको रूपमा संस्कृतको खोज र अन्वेषण हुन थाल्यो। त्यसपछि र यूरोपली भाषाहरूको उत्पत्ति र प्रारम्भिक चरणहरूलाई बुझ्ने क्रममा यूरोपका भाषाशास्त्रीहरूले संस्कृतलाई आफ्नै भाषाको रूपमा अध्ययन गर्न थाले। यस कारण पनि हाम्रो तुलनामा संस्कृत अध्ययनका लागि पश्चिममा संस्कृतप्रति बढ्दो चाख र चासो देखिन थालेको छ।

जम्मा ४००० भन्दा कम सूत्रहरू र सूत्रको रूपमा व्यक्त नियमहरूको आधारमा पाणिनीले संस्कृत भाषाको सम्पूर्ण संरचना बनाएका थिए, जसको सामान्य ‘आकार’ पनि अर्को दुई हजार वर्षसम्म अपरिवर्तनीय रह्यो। पाणिनीको संस्कृतको भाषिक दायरालाई फराकिलो बनाउने प्रयासले अप्रत्यक्ष रूपमा वैज्ञानिक र गणितीय भाषाका चरित्र पनि समयक्रमसँगै स्पष्ट हुँदै गएको मानिन्छ। व्याकरणको क्षेत्रमा पाणिनीको देन खगोल विज्ञान र गणितमा आर्यभट्टको बराबर हो। अर्घाखाँचीको पणेनालाई पाणिनीको तपोभूमि मानिन्छ। जहाँ रहँदा उनले संस्कृतको व्याकरणलाई जन्म दिए, यो ठाउँंबाहेक उनीसँग सम्बन्धित अर्को महत्त्वपूर्ण स्थान भारतको काशी क्षेत्रमा अवस्थित पाणिनी स्मारक मन्दिर छ।

पाणिनीको जन्मस्थान पाकिस्तानको सलतुलाबाट ल्याइएको माटो प्रयोग गरी उनको स्मारक निर्माण गरिएको छ। हुन त आजका दिनमा पनि भारतको कर्नाटक र मध्य प्रदेशका केही ग्रामीण भेग मातृभाषाका रूपमा प्रयोग हुँदै आएको  संस्कृतका बारेमा विश्व प्रतिष्ठित शिक्षालयहरू र खासगरी संस्कृतको बढ्दो लोकप्रियताका समाचार पढ्न पाइन्छन्। अर्घाखाँचीको महाभारत पर्वत शृंखलामा अवस्थित सुन्दर पहाडी भेगमा रचिएको पाणिनीको संस्कृतले भारत, दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया, तिब्बत, चीन, कोरिया र जापानसम्मका भाषा–साहित्यहरूमा लगभग ३० करोड पाण्डुलिपी अस्तित्त्वमा रहेको विश्व प्रतिष्ठित हार्वर्ड  विश्वविद्यालयका प्राध्यापक तथा हार्वर्ड विश्वविद्यालयको संस्कृत पुस्तकालयका  संस्थापक तथा अध्यक्ष डा. पिटर स्कार्फको अनुसन्धानमा छ।

पूर्वीय परम्पराहरूमा आधारित मन्त्र र वैदिक अनुष्ठानको वैज्ञानिक अन्वेषण र गहिरो अध्ययन गरेका क्यालिफोर्निया विश्वविद्यालय, बर्कले विश्वविद्यालयका प्रतिष्ठित एमेरिटस प्रोफेसर फ्रिट्स स्टालले पाणिनीलाई पूर्वीय सभ्यताको युक्लिड भनेर लेखेका छन्। प्राचीन ग्रीसका ऐतिहासिक पात्र युक्लिडलाई ‘ज्यामितिका पिता’ भनेर पनि चिनिन्छ। आर्यभट्टको रचनाहरूलाई अंग्रेजीमा अनुवाद गरेका  हार्वर्ड विश्वविद्यालयमा संस्कृतका प्राध्यापक वाल्टर युजिन क्लार्कले पाणिनीको व्याकरण संसारको सबैभन्दा पुरानो वैज्ञानिक व्याकरण र सबैभन्दा उत्कृष्ट  मध्येको एक हो भनेर लेखेका छन्।

अर्का भाषाविद्, संस्कृतशास्त्री तथा संस्कृतको व्याकरण परम्पराका बारेमा सर्वाधिक ज्ञान भएकामध्ये एक पश्चिमी विद्वान् अमेरिकी जर्ज कार्डोनाका यी हरफबाट पाणिनीको योगदानबारे स्पष्ट हुन्छ। उनी भन्छन्, ‘मानव इतिहासमा पाणिनीको व्याकरणलाई मूल्यांकन गर्नुपर्दा मानव बुद्धिमत्ताको महान् स्मारक उनले निर्माण गरेका छन्।’ कार्डोनाका यी दाबीयोग्य कथन अर्घाखाँचीको पणेनामा जन्म भएको थियो। यो भनाइले जुनसुकै नेपालीलाई गर्वित तुल्याउँछ। पाणिनीले यसरी आफ्नो व्याकरणमार्फत विश्व समुदायलाई एकै ठाउँमा ल्याउन, मानव संवादलाई सहज तुल्याउन र एकअर्कालाई बुझ्न अभुतपूर्व देन दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.