जयपृथ्वीको मावली होइन तारुका

जयपृथ्वीको मावली होइन तारुका

नुवाकोट जिल्लाको तारुकामा लाग्ने माघे संक्रान्ति मेलामा गोरु जुधाउने चलन छ। पछिल्लो समय तारुकाले गोरु जुधाइलाई आफ्नो परिचय बनाएको छ। तारुकामा गोरु जुधाउने परम्पराले प्रतियोगिता र महोत्सवका रूपमा धारण गरेको छ। प्रतियोगितालाई व्यवस्थित एवं प्रवद्र्धन गर्ने उद्देश्यले ‘माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्था’ नै बनेको छ। प्रतियोगिता प्रवद्र्धनमा नेपाल पर्यटन बोर्डले समेत सघाउँदै आएको छ।

सरकारका मन्त्रीहरूकै उपस्थित रहन थालेपछि गोरु जुधाइ प्रतियोगिता–महोत्सवले सञ्चारमाध्यम, सर्वसाधारण सबैको ध्यान खिचेको छ। मेला हेर्न काठमाडौं, धादिङ, रसुवा, गोरखा, चितवनसम्मका दर्शक तारुका पुग्ने गरेका छन्। गोरु जुधाइ महोत्सवले आन्तरिक तथा बाह्य पयर्टन प्रवद्र्धन गरेको छ। सभ्य समाजमा पशुलाई भिडाएर रमिता हेर्नु नहुने आवाज पनि सँगसँगै उठ्दै आएको छ।

तारुकाको गोरु जुधाइ महोत्सवले चर्चा बटुल्न थालेपछि उक्त प्रचलन कहिलेबाट सुरु भयो भन्ने कुरा खोजीको विषय बनेको छ। गोरु जुधाइ प्रचलनको सुरुवातबारे सञ्चारमाध्यममा विभिन्न टीकाटिप्पणी आउने गरेका छन्। बझांगी राजा जयपृथ्वीबहादुर सिंह आफ्नो मावली तारुका आउँदा स्थानीय जनताले उनको सम्मानमा गोरु जुधाएर मनोरञ्जन दिलाएसँगै उक्त चलन चलेको भनाइ स्थानीय बूढापाकाको छ। सञ्चारमाध्यमले पनि स्थानीयकै भनाइका आधारमा समाचार बनाउने गरेका छन्। तर जंगबहादुरका छोरीपट्टिका नाति जयपृथ्वीको मावली कसरी तारुका हुन पुग्यो जानकार भने चकित छन् !

 जयपृथ्वीको मावली

जयपृथ्वीबहादुर सिंहको मावली नुवाकोटको तारुका नभई तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको काठमाडौंको थापाथली दरबार हो। जंगबहादुर राणाका छोरीपट्टिका नाति हुन्, जयपृथ्वीबहादुर सिंह। बझांगी राजा विक्रमबहादुर सिंहकी चारओटी रानीमध्ये जेठी रुद्रकुमारी र माहिली मेघकुमारी जंगबहादुरका छोरी थिए। साहिली त्रैलोक्यकुमारी अस्कोटे पाल र कान्छी पार्वतीदेवी बमकी छोरी थिइन्। विक्रमबहादुर सिंहका जेठी रानी रुद्रकुमारीका जेठा छोरा जयपृथ्वीबहादुर सिंह हुन्। इतिहासकार पुरुषोत्तमशमशेर जबराका अनुसार जंगबहादुरका ४२ रानीमध्ये अन्तरी महारानी हेमकुमारीदेवीबाटकी छोरी रुद्रकुमारीदेवीका छोरा थिए जयपृथ्वीबहादुर सिंह (जबरा, २०६२ः १६७)। जंगबहादुरका नाति भएकै कारण जयपृथ्वीले आठ वर्षको उमेरमा काठमाडौं आएर दरबार स्कुलमा पढ्न पाएका थिए। जयपृथ्वीकी आफ्नी आमापट्टिका अरू दुई भाइ वीरजंगबहादुर सिंह र प्रभुजंगबहादुर सिंह। जयपृथ्वीकी माहिली सौतनी आमा मेघकुमारीबाटका भाइहरू ललितजंगबहादुर सिंह र देवीजंगबहादुर सिंह थिए।

अहिंसामा विश्वास राख्ने मानवतावादी जयपृथ्वीबहादुर सिंहको आस्था, भद्र व्यक्तित्व र पदीय आचरण हेर्दा उनी गोरु जुधाइमा रमाए होलान् भन्नेमा विश्वास गर्ने ठाउँ देखिन्न। 

राजा विक्रमबहादुर सिंहको राणाहरूसँग खटपटपछि उनी जीवित छँदै छोरा जयपृथ्वीबहादुर सिंहलाई बझाङको राजा बनाइएको थियो। जयपृथ्वीबहादुर सिंहको चन्द्रशमशेरकी जेठी छोरी खगेश्वरीदेवीसँग विवाह भएको थियो। काठमाडौंमा राणा र शाहहरूले मामाचेली फुपुचेला बिहे चलाए पनि पश्चिमका ठकुरीहरूले चलाएका थिएनन्। पछि जंगबहादुरका छोरीपट्टिका नाति जयपृथ्वीको जंगबहादुरकै भाइ धिरशमशेरकी नातिनी तथा चन्द्रशमशेरकी जेठी छोरी खगेश्वरीदेवीसँग विवाह भएको थियो। बझांगी राजा विक्रमबहादुर सिंहका जंगबहादुर राणाका दुई छोरीपट्टिका सन्तानहरूले जंग खलकका छोरीहरूका दरसन्तान हौं भन्ने चिनारी दिन नामका पछाडि ‘जंगबहादुर’ लेख्ने गरेका छन्, ‘शमशेर’ र ‘जंग’ खलकको मेलपछि राणाहरूले ‘शमशेर जबरा’ लेखे झैं। तर राजा विक्रमबहादुरका अरू रानीतर्फका सन्तानले नामका पछाडि जंगबहादुर नलेखी ‘बहादुर’ मात्रै लेख्ने गरेका छन्।

बझाङ–तारुका साइनो

तारुकासँग सुदूरपश्चिमको बझाङको पुरानो ऐतिहासिक सम्बन्ध छ। सुन्दा अचम्म लाग्ला, तर इतिहासको कुनै कालखण्डलमा तारुकाबाट उठ्ने राजस्व बझाङ पुग्ने गथ्र्याे। खासमा नेपाल एकीकरणअघि वर्तमान सेती–महाकाली बाईसी राज्यमा विभाजित थियो। वर्तमान सुदूरपश्चिममा डोटी, बझाङ, अछाम, थलारा, बाजुरा, दर्ना, धुलिकोट र बिमकोट राज्य थिए। बहादुर शाहका पालामा जुम्ला, अछाम र डोटी, बझाङ, थलारा, दर्ना, बाजुरा, धुलिकोट, विमकोट नेपालमा समाहित भएका थिए। बडाकाजी अमरसिंह थापाको फौज सुदूरपश्चिम पुग्दा डोटी र अछामले लडाइँ लडेका थिए। तर, बझांगी, बाजुरेली, दर्नाली र थलारी राजाहरूले नेपालसँग रहने प्रतिबद्धतासहित वार्षिकरूपमा सिर्तो तिर्ने गरी राज्य थामेका थिए। डोटेली राजा दीप शाही धनगढीपारि सिँगाही गएर बसेका थिए। अछामी राजाले दुईपटक विद्रोह गरेका थिए। जाजरकोटे राजा गजेन्द्र शाहले अछामको विद्रोह दमन गरेका थिए (सुवेदी, २०५६ः २४३)।

विस १८४७ मा नेपालमा समाहित बझाङमा राजा समुद्र सिंह थिए। समुद्र सिंहले पछि नेपाल एकीकरणको पश्चिमी मोर्चालाई सघाएका थिए। कुमाउ–गढवालमा फौज र रसदपानी पठाएका थिए। राजा समुद्र सिंहपछि रघुनाथ सिंह बझाङको राजा भएका थिए। रघुनाथ सिंहले पनि किल्ला काँगडा अभियानलाई साथ दिएका थिए। बझांगी राजा रामजंगबहादुर सिंहका अनुसार राजा रघुनाथ सिंह स्वयं गोरखाकै धावामा सामेल भई काँगडासम्म पुगेका थिए। त्यसपछि रघुनाथ सिंहका छोरा युवराज इन्द्र सिंह काठमाडौंस्थित कान्तिपुर दरबारमा १४ वर्ष बसेका थिए। सुगौली सन्धिअघि अंग्रेजले कर्णाली नदीसम्म दाबी गरेपछि बझांगी राजा इन्द्र सिंहले पश्चिमी ठकुरीहरूको सम्मेलन बोलाई महाकालीसम्मको भूभागमा अडान राखेका थिए (रामजंगबहादुर सिंह, बज्रंग राज्यको इतिहास, २०१२ः २)। यिनै कारण कान्तिपुर दरबार बझाङसँग खुसी थियो। त्यसपछि बझांगी राजा इन्द्र सिंहका छोरा गजराज सिंहसँग राजा गीर्वाणयुद्धविक्रम शाहले आफ्नी छोरी सरस्वतीकुमारीको बिहे गरिदिएका थिए। सरस्वतीकुमारीले दाइजोस्वरूप काभ्रेको बनेपा, तत्कालीन धादिङ (हाल नुवाकोट) को बट्टार र तारुका पाएकी थिइन्। त्यसैकारण बनेपा, बट्टार र तारुकाको राजस्व बझाङ जाने गथ्र्यो। पछि बनेपा, बट्टार र तारुका बझाङकै सिउदरा (हाल केदार सिउ गाउँपालिका) बाट उठ्ने राजस्वसँग साटिएको थियो। त्यसपछि बनेपा, बट्टार र तारुकाको राजस्व बझाङ जानबाट रोकिएको थियो।

तारुका जयपृथ्वीबहादुर सिंहकी हजुरआमा सरस्वतीकुमारीले दाइँजो विर्ता थियो। यसैकारण तारुकासँग बझाङको सम्बन्ध गाँसिएको थियो। खासमा राजा विक्रमबहादुर सिंहका चार रानीबाट चौध भाइ छोरामध्ये जेठी रुद्रकुमारीपट्टिका जयपृथ्वीबहादुर सिंह ब्याङलोर बसाइ सर्न पुगे भने वीरजंगबहादुर सिंह र प्रभुजंगबहादुर सिंह क्रमशः बझाङकै देउरा र बगडगाउँमा बसे। रानी मेघकुमारीबाटका भाइ ललितजंगबहादुर सिंह तारुकामा आएर बसे। राजा जयपृथ्वीले राजकाज त्याग्ने बेला माहिला भाइ ललितजंगबहादुर सिंहको निधन भइसकेका कारण साहिला भाइ देवीजंगबहादुर सिंहलाई राजकाज सुम्पेका थिए।

रानी त्रैलोक्यकुमारीबाटका भाइहरू अम्मरबहादुर सिंह र ध्रुवबहादुर सिंह क्रमशः बझाङको बुंगल र झोता तथा बबरबहादुर सिंह, नवराजबहादुर सिंह काठमाडौंमा बसेका थिए। नवराजबहादुर सिंहले प्रधानमन्त्री पद्मशमशेरकी छोरी र राजा देवीजंगबहादुर सिंहले बहादुरशमशेरकी छोरी बिहे गरेका थिए। कान्छी रानीबाट मिनबहादुर सिंह, वीरभञ्जन सिंह, महेन्द्रबहादुर सिंह र डम्बरबहादुर सिंह भने सबै बझाङकै भाटगाउँ, तमैल र सिमखेतमै बसे। देवीजंगबहादुर सिंह पछि उनका छोरा रामजंगबहादुर सिंह बझाङको राजा बने। राजा रामजंगका एक्ला छोरा ओमजंग थिए। ओमजंगले बझाङ राज्य खारेजीविरुद्धको विद्रोह गर्दा २०१९ असोजमा उनको सैन्य कारबाहीमा मृत्यु भएको थियो। त्यसपछि रामजंगका भाइ ईश्वरीजंगबहादुर सिंह बझाङको राजा भएका थिए। ईश्वरीजंगका छोरा कुमार दीपकजंगबहादुर सिंह (राजा महेन्द्रका छोरीज्वाइँ) हुन्।

अन्त्यमा

बझांगी राजा जयपृथ्वीबहादुर सिंहको मावली तारुका नभई काठमाडौंको थापाथली दरबार रहेको तथ्य घामझैं छर्लंग छ। तारुका जयपृथ्वीबहादुर सिंहका भाइ ललितजंगबहादुर सिंह बसाइँ सरेको ठाउँ हो, जहाँ ललितजंगका शाखासन्तानको बसोवास अहिले पनि कायमै छ। जहाँसम्म जयपृथ्वीबहादुर सिंहको आगमनको कुरा छ, उनी काठमाडौं बसाइका क्रममा आफ्ना भाइ ललितजंगको तारुकास्थित घरमा अवश्य पुगे होलान्। तर, तारुका पुगेका जयपृथ्वीको स्वागतमा स्थानीयले गोरु जुघाएका थिए भने पनि उनले स्वीकारे होलान् भन्ने लाग्दै। अहिंसामा विश्वास राख्ने मानवतावादी जयपृथ्वीबहादुर सिंहको आस्था, भद्र व्यक्तित्व र पदीय आचरण हेर्दा उनी गोरु जुधाइमा रमाए होलान् भन्नेमा विश्वास गर्ने ठाउँ देखिन्न। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.