मार्क्सवादको रुकुम सम्बन्ध

मार्क्सवादको रुकुम सम्बन्ध

राजनीतिशास्त्रीहरूले युरोपको पुनर्जागरणलाई उदार सांस्कृतिक क्रान्तिका रूपमा उल्लेख गर्ने गर्छन्। सत्रौं शताब्दीमा युरोपमा आएको जागरणले युरोपको मध्ययुगीन समाजलाई आधुनिक समाजमा रुपान्तरण गरिदियो। युरोप पुनर्जागरणले युरोपियन समाजलाई आधुनिकी समाजमा रुपान्तरण मात्र गरेन, औद्योगिक क्षेत्रमा समेत अभतपूर्व परिवर्तन ल्यायो। सामाजिक संरचनामा बदलाब ल्यायो, मानवीय र धार्मिक चिन्तनमा परिवर्तन ल्यायो। औद्योगिक क्रान्तिले एकातिर आधुनिकताको विकास गर्न सफल भयो भने अर्कातिर श्रमिकहरू उच्च शोषणमा पर्न थाले। औद्योगिक क्रान्तिपश्चात्को करिब १५० वर्षमा श्रमिकहरूमाथिको आर्थिक शोषणले समाजमा परेको वर्गीय प्रभाव मूल्यांकनपश्चात् उन्नाईसौं शताब्दीको मध्यतिर यही भूमिबाट मार्क्सवादी विचारको विकास भयो।

युरोपेली र अमेरिकी राष्ट्रहरू प्रजातन्त्रको उच्चतम प्रयोगले सामाजिक विकासको उच्चतम विन्दु हासिल गर्न सफल भए। पश्चिमा देशहरूको तुलनामा करिब दुई सय वर्षपछि दक्षिण एसियामा ठिमाहा प्रजातन्त्रले प्रवेश पायो। भारतको परिवर्तित राजनीति र नेतृत्वले अंग्रेजहरूको गुलामीबाट मुक्त हुनुलाई प्रजातन्त्र ठान्यो भने नेपालले राणाहरूको निरंकुशताबाट मुक्त हुनुलाई प्रजातन्त्र ठान्यो। त्यसैको प्रभावले यस क्षेत्रको राजनीति फेरियो तर चिन्तन फेरिएन। व्यवस्था फेरियो सामाजिक चिन्तन र व्यवहार फेरिएन।

नेपालमा स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिको संघर्ष सँगसँगै अगाडि बढ्यो। तत्कालीन राजनीतिक पार्टीहरूलाई राणाकालीन शासकले हेर्ने दृष्टिकोण विजातीय थियो। राजनीतिक आन्दोलनको प्रारम्भिक चरणमा नेपाली कांग्रेसले सतही जनताका सवाल उठाएको थियो। जनताका पक्षमा वकालत गर्दा कांगे्रसलाई विजातीय सामाजिक तत्वका रूपमा चित्रित गरियो। पञ्चायतकाल र प्रजातन्त्रको पुनस्र्थापनापश्चात् सामाजिक विजातीय तत्वको उपमा न्याय र समानताका मुद्दामा केन्द्रित कम्युनिस्टहरूमा सर्‍यो।

समाज वर्ग प्रधान नभई जाति प्रधान हुन्छ भन्ने धार्मिक मनोविज्ञानले नेपाली शासक र समाज चिन्तनमा परिवर्तन ल्याउन नसकेको प्रजातन्त्र हामीले विकास गरेका थियौं। माओवादी संघर्षले भने नेपाली समाजमा विद्यमान पुरातन सामाजिक चिन्तन र जातीय संरचनामाथि निर्मम प्रहार गर्दै शासकीय चिन्तन र सामाजिक व्यवहारलाई वर्गीय चिन्तन र वर्गीय संघर्षमा रूपान्तरण गरिदियो। वर्ग संघर्षको यस समयसम्ममा माओवादी पार्टी निम्नवर्ग र उत्पीडित समुदायको राजनीतिक शक्तिका रूपमा विकास भएर आयो। माओवादी संघर्षको प्रारम्भिक समयमा माओवादीप्रतिको सामाजिक सोचाइ माओवादी भनेको दलितको र महिलाको जत्था हो भन्ने विकृत सोचाइ हाम्रै समाजमा विद्यमान थियो।

नेपाली मार्क्सवाद सबै वर्ग, जाति, धर्म, क्षेत्र, लिंग आदिको बन्न सक्छ कि सक्दैन अहिलेको आवश्यकता हो।

माओवादी आन्दोलनले वर्ग संघर्षको बहसलाई पेचिलो बनायो। महिला, दलित, जनजाति, मधेसी समुदायले भोगेको विभेदका विभिन्न रूपलाई कमजोर बनाएर अगाडि बढ्यो। ग्रामीण समाजमा जातीयताका नाममा विद्यमान विभेदी चिन्तन परास्तजस्तै भए। गाउँमा जातीयताका नाममा हुने छुवाछूतमा ठूलो सफलता हासिल भएको थियोे। माओवादी संघर्षले दलित जनसमुदायको मनोभावनाभित्र रहेको शदीयौंको लघुताभाष हटाइदिएको थियो। दलितलाई मन्दिर प्रवेश गर्ने आँट, गैरदलित समुदायकोे आँगनसम्म खुट्टा टेक्ने साहस माओवादी जनयुद्धले प्रदान गरेको सबैभन्दा ठूलो उपलब्धि हो। जनयुद्धका क्रममा हजारौं युवायुवतीले अन्तरजातीय विवाह गरेर सामाजिक अन्तर्घुलनको नयाँ प्रकृया सुरु गरे। जात व्यवस्थाले निर्मित नेपाली समाजमा पछिल्लो पुस्ताको नवराज विश्वकर्मामा अन्तर्जातीय विवाह गर्ने आँट मार्क्सवादी आन्दोलन मुख्यतः माओवादी आन्दोलनले विकास गरिदिएको साहस हो।

विश्वका श्रमिक एक हौं भनेर परिभाषित गरेको मार्क्सवादको नारालाई लेलिनले विश्वका श्रमिक र उत्पीडितहरू एक हौं भनेर कम्युनिस्ट विचारधारालाई अन्तर्राष्ट्रियकरण गरेसँगै मार्क्सवादको घेरा फराकिलो बन्यो। कम्युनिस्ट अन्तर्राष्ट्रिय नाराले, विश्वका श्रमिकहरू सँगसँगै समाजमा विद्यमान सबै उत्पीडित समुदायमा मार्क्सवादको विश्वव्यापी बहस सुरु भएर आयो। दक्षिण एसियाली समाजमा जातीयताका कारण बहिस्करण र उत्पीडनमा परेको समुदायमा मार्क्सवादी राजनीतिक दृष्टिकोणमा भरोसा बढेर आयो। जातीय विभेद र सामाजिक उत्पीडनले प्रताडित दक्षिण एसियाली भूगोलका दलित समुदायमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक विभेद उन्मूलनको मार्ग मार्क्सवाद हुनेमा विश्वास बढ्दै गयो। भारतीय दलित आन्दोलनका नेता अम्बेडकरले दलित समस्या समाधानको वैकल्पिक राजनीतिक विधिका रूपमा मार्क्सवादको अध्ययन र प्रयोग गर्न खोज्नुले यस तथ्यको सान्दर्भिकता अझ स्पष्ट हुन्छ।

हिन्दु समाजभित्र विद्यमान छुवाछूत र सामाजिक विभेद नेपाली राजनीतिमा शदीयौंदेखि कचल्टिएर बसेको जटिल सामाजिक समस्या हो। जातीय उत्पीडनको वैज्ञानिक समाधानको बाटो मार्क्सवादलाई देखेर दलित समुदायको ठूलो हिस्सा यस आन्दोलनमा निरन्तर आबद्ध रहेको भए पनि शताब्दीयौं लामो नेपाली मार्क्सवादी आन्दोलनले दलित सबाललाई केन्द्रमा राखेर बहस गर्न सकेको छैन। नेपाली मार्क्सवादी राजनीतिमा नेपाली कांग्रेसको विस्थापन कम्युनिस्ट शासन हो भन्ने गलत राजनीतिक ज्ञानले नेपाली मार्क्सवादप्रति प्रश्न उब्जिन थालेको देखिन्छ। नेपालमा कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गरेको अढाई वर्षमा पञ्चायत र हिजोको मर्मत भएको प्रजातन्त्रको भन्दा अगाडि बढेर केही गर्न सकेको देखिँदैन भने दलित समस्याको वैज्ञानिक राजनीतिक दृष्टिकोण स्पष्ट पार्न सकेको छैन।

दलित समुदायप्रतिको राजनीतिक दृष्टिकोणमा परिवर्तन, सामाजिक व्यवहारमा परिवर्तन, राज्यको व्यवहारमा परिवर्तन, आर्थिक अवस्थामा महसुस हुने खालको परिवर्तन ल्याउनुमा मार्क्सवाद निर्विकल्प मुक्तिमार्ग भन्ने नारा नेपाली मार्क्सवादको थियो। समाजमा विद्यमान सामाजिक विभेदविरुद्धको राजनीतिक दृष्टिकोण र रणनीति मार्क्सवादी विचार र लेलिनवादी संगठनात्मक संरचनाभन्दा बाहिर विकास हुन सक्दैन भन्ने बुझाइ दलित आन्दोलनको थियो। परिवर्तित राजनीतिले राज्य र समाजलाई प्रगतिशील होइन संकीर्ण बन्दै गएको देखिँदै छ।

रुकुम घटनाका सवालमा सत्तासीन नेकपाको स्पष्ट सार्वजनिक धारणा अहिलेको मितिसम्म आउन सकेको छैन। नेकपाको स्थायी कमिटी बैठकको एजेन्डा बनेको रुकुम घटना नेकपाको आन्तरिक शक्ति संघर्षको मियोमा बिलोप भएको छ। नेकपा एकताको कोर्सले पूर्णता नपाउँदै विकास भएको नेतृत्व संकीर्णता, टकराव, गुटगत स्वार्थ र अन्तरस्वार्थले दिशा पक्रिन नपाउँदै विघटनको दिशामा अघि बढिरहेको छ। सरकारको नेतृत्व र सरकारका कामकारबाहीसँग जोडिएर सृजना भएको नेकपाभित्रको आन्तरिक कलहले नागरिकको जनजीवनमा मात्र प्रभाव पारेको छैन, छिमेक सम्बन्ध बिग्रिएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर बनेको छ। उत्पीडितहरूका सवाल कमजोर बनेका छन्। सरकार आफैं सत्ता रक्षाको सडक आन्दोलनमा रहेको बेला रुकुम घटना ओझेल परेको छ।

अहिलेको सरकारसँग सामान्य जनताले विश्वास गर्ने अवस्था छैन। सरकार आफ्नै आत्मप्रशंसामा रमाएकोे छ। देशमा भ्रष्टाचार मौलाएको छ। आर्थिक अनुशासन उल्लंघन भएका छन्। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको अपारदर्शिता छर्लंग भएको छ। सामाजिक उत्तरदायित्वबाट पन्छिएका छन्।

गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षता गणतान्त्रिक संविधानको मूल मर्म हो। गणतन्त्रलाई एकल शासन पद्धतिमा चलाउन र स्वेच्छाचारी तरिकाले चलाउन खोज्नु नेपाली उत्पीडित समुदायका लागि विडम्बना हो भने समावेशी राजनीतिका लागि दुर्भाग्य हो, सरकारको यो कर्मले सिंगो उपलब्धिमाथि प्रश्न खडा गरेको छ। कलिलो गणतन्त्र र संविधानमाथि स्वयं राज्यको नेतृत्व जिम्मेवार हुन नसक्दा उत्पीडितहरूको राजनीतिक अधिकार, गणतन्त्र र गणतान्त्रिक संरचनाप्रति गणतान्त्रिक नेतृत्व जिम्मेवार बन्न सकेको छैन।

स्वतन्त्रता र प्रजातन्त्र निरपेक्ष सवाल हुन्। नेपाली मार्क्सवाद सबै वर्ग, जाति, धर्म, क्षेत्र, लिंग आदिको बन्न सक्छ कि सक्दैन अहिलेको आवश्यकता हो। हामीले शासकीय व्यवस्था कस्तो ल्यायौं भन्ने सवाल होइन, शासक कस्तो चुन्यौं भन्ने मुख्य सवाल हो। हामीले प्राप्त गरेको व्यवस्थाले शासकीय ऐयासीमा के परिवर्तन आयो भन्ने सवाल होइन, समाज र निम्न वर्गका जीवनमा के परिवर्तन ल्याउन सक्यौं ? मुख्य सवाल यो हो। नेपाली समाजले प्राप्त गरेको राजनीतिक उपलब्धिको सबलीकरण गर्न नेपालमा सांस्कृतिक पुनर्जागरणको आवश्यकता देखिएको छ। सांस्कृतिक पुनर्जागरणले मात्र नेपाली समाजमा विद्यमान विभेदको अन्त्य गर्न सक्नेछ। सामाजिक सांस्कृतिक विभेदको अन्त्यविना नेपालमा मार्क्सवादको औचित्यतामाथि अब उत्पीडित वर्गले प्रश्न उठाउने निश्चित छ। हिजोका पञ्चहरूभन्दा, कांगे्रसभन्दा, राजाभन्दा कुन अर्थमा नेकपा फरक छ ? रुकुम घटनाले उत्तर पाउन सकेको छैन। मार्क्सवादीहरू पुरस्कारमा होइन, न्यायमा विश्वास गर्छन्। पश्चिम रुकुमले न्याय पाउँछ या पाउँदैन ? दलित समुदायसँग मार्क्सवादको सम्बन्ध त्यही विन्दुमा पुष्टि हुनेछ।

—विश्वकर्मा विभेदविरुद्धका सामाजिक अभियन्ता हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.