बेकामे सीसीटीभी क्यामेरा, अपराध अनुसन्धानमा समस्या

बेकामे सीसीटीभी क्यामेरा, अपराध अनुसन्धानमा समस्या

घटना १

गत मंसिर १२ गते बिहान पौने तीन बजे टेकुको कनक पेट्रोल पम्पअगाडि महेन्द्रनगरका १८ वर्षीय जीवनबहादुर सिंहलाई ठक्कर दिएर एउटा भ्यान फरार भयो। महानगरीय प्रहरी परिसरबाट केही सय मिटरको दूरीमा रहेको पम्पअगाडि त्यही दिन काठमाडौँ आएका सिंहलाई ठक्कर दिएर भागेको भ्यान पत्ता लगाउन घटनास्थलनजिकैको सीसीटीभी क्यामेराको फुटेज हेरियो।

महानगरीय प्रहरी परिसरको टोलीले सीसीटीभी फुटेज हेर्दा नम्बर प्लेट त परको कुरा, ठक्कर दिने भ्यानको रङ चिन्न पनि मुस्किल पर्‍यो। सीसीटीभी फुटेजबाट नम्बर प्लेट यकिन नभएपछि प्रहरीले सवारीसाधनको आकारका आधारमा एक सातापछि ठक्कर दिएर भागेको भ्यान र चालक ३६ वर्षीय कुमार श्रेष्ठलाई बनेपाबाट पक्राउ गर्न सफल भयो।

घटना २

पुस ३ गते राति ललितपुरको दकमल चोकबाट अस्पताल जाने बहानामा बा१ज ६१५७ नम्बरको ट्याक्सीमा दुई युवा चढे। शंखमूल जाने भनेर चढेका उनीहरूले बालकुमारीको झोलुंगे पुलनजिक पुगेपछि ट्याक्सी चालकमाथि छुरा हाने।

यो घटनाको अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखा र ललितपुर प्रहरीले दमकल चोक आसपासका सबै सीसीटीभी फुटेज हेर्दा पनि ट्याक्सी चालकमाथि छुरा हान्नेको पहिचान गर्न सकेनन्। दमकल चोकमा उनीहरूका गतिविधि त देखियो। तर नाइटभिजन सीसीटीभी क्यामेरा नहुँदा प्रहरीले दुवै अभियुक्तको पहिचान गर्नै सकेन।

घटना ३

गत कात्तिक २४ गते राति साढे १० बजे ललितपुरको ग्वार्को चोकबाट चढेका तीन जना लुटेराले ३८ वर्षीय ट्याक्सी चालक भरत मल्लमाथि पेप्सीकोला पुगेपछि पछाडिबाट छुरा हाने।

छुरा हानिँदा चालक मल्लको टाउको र हातमा गम्भीर चोट लाग्यो। तत्कालै घटनास्थल पुगेको प्रहरीले उनलाई अस्पताल पुर्‍यो। घटनामा संलगनको पहिचान गर्न महानगरीय प्रहरी अपराध महाशाखाले ग्वार्कोदेखि पेप्सीकोलासम्मको सीसीटीभी फुटेज हेर्‍यो। तर ट्याक्सी सवार ती तीनै जना अभियुक्तलाई कुनै पनि चोकका सीसीटीभीले चिन्ने गरी भिडियो कैद गर्नै सकेनन्।

काठमाडौँ उपत्यकामा जोडिएका क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेराले रातिको समयमा काम नगरेको यी घटना उदाहरण मात्रै हुन्। सीसीटीभी क्यामेराले दिउँसै राम्ररी दृश्य कैद गर्न नसक्दा अपराध अनुसन्धानमा समस्या भएको अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह बताउँछन्।

‘गत कात्तिकमा सिफलबाट मोटरसाइकलमा हिँडेका ओरेक संस्थाका अकाउन्टेन्टको ग्वार्को चोकनजिकै पुगेपछि घाँटी काटियो। यो घटना अनुसन्धान गर्दा चंगाको मोटो धागोले काटेको पुष्टि भयो’, एसएसपी सिंहले भने, ‘घटनापछि हामीले सिफलदेखि गौशाला, एयरपोर्ट, तीनकुने, कोटेश्वर, बालकुमारी र ग्वार्कोसम्मका सीसीटीभी फुटेज हेर्दा एयरपोर्टको मात्रै क्यामेरामा यो मोटरसाइकल र चालक कैद भएको पाइयो। राजधानीका धेरै सीसीटीभी क्यामेराले दिउँसै काम नगरेको तथ्य यो घटनाले उजागर गरिदियो।’

प्रहरीले राजधानीका मुख्य चोक र नाकामा दुई किसिमका नघुम्ने स्थिर क्यामेरा र घुम्न सक्ने ‘पीटीजेड’ क्यामेरा जडान गरेको छ। केही स्थानमा नाइटभिजन र उच्च क्षमताका क्यामेरा छन्। तर धेरै स्थानमा टू मेगापिक्सेलका मात्रै राखिएको छ।

‘सीसीटीभी क्यामेराले हामीलाई अपराध अनुसन्धानमा बिरलै सहयोग भएको छ, अपराधको दर दिउँसोभन्दा राति दोब्बर भन्दा धेरै हुन्छ। तर राति नै सीसीटीभी क्यामेराले काम गरेको पाइएन’, परिसरका प्रवक्ता डीएसपी होवीन्द्र बोगटी भन्छन्, ‘सीसीटीभीको सहयोगमा अपराधीसम्म नपुगेको तीन महिनाभन्दा धेरै भइसक्यो, उपत्यकामा जोडिएका अधिकांश सीसीटीभी क्यामेराको क्षमता बढाउनु जरुरी छ।’

कति छन् सीसीटीभी क्यामेरा

महानगरीय प्रहरी कार्यालयले उपत्यकाका विभिन्न चोक र राजधानी छिर्ने नाकामा सीसीटीभी क्यामेरा जडान गरेको दुई वर्षभन्दा बढी भइसकेको छ। प्रहरीले उपत्यकाका सार्वजनिक स्थलमा ४ सय ७७ वटा सीसीटीभी क्यामेरा जोडेर त्यसको नियन्त्र कक्ष महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा राखेको छ। यीमध्ये करिब ४० वटा सीसीटीभी क्यामेरा प्रहरीले ठुल्ठूला भीडसहितका कार्यक्रम हुँदा कार्यक्रमस्थल आसपासमा आवश्यकताअनुसार प्रयोग गर्ने गरेको छ।

‘उपत्यकाका नाकादेखि मुख्य चोकसम्म सीसीटीभी क्यामेरा जोडेका छौँ, मुख्य चोकमा राति पनि काम गर्न सक्ने क्षमताका छन्’, महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा भन्छन्, ‘तर धेरै ठाउँमा बिजुलीको समस्या हुँदा सीसीटीभीले काम गर्दैनन्, सडक बनाउँदा पनि समन्वय नगरी तार छिनाइदिने समस्या छ।’

डीआईजी थापाले सबै ठाउँमा नियमित बिजुजी नहुने तथा ब्याकअपको पनि व्यवस्था नभएकाले सार्वजनिक स्थानलाई निरन्तर अनुगमन गर्न असहज भएको बताए। ‘धेरै ठाउँको सीसीटीभीमा पावर ब्याकअप नै छैन, सीसीटीभीमा बिजुली नभएको अवस्थामा अपराध या दुर्घटना भएमा प्रमाण नै हुँदैन’, थापाले भने, ‘सबै सीसीटीभी क्यामेरलाई नियमित पावर ब्याकअप चाहिएको छ।’

सीसीटीभी क्यामेराको भिडियो गुणस्तर बढाउन कम खर्चमै एपको प्रयोग गर्न लागिएको डीआईजी थापाले बताए। ‘सबै ठाउँमा नाइटभिजन सीसीटीभी तत्कालै राख्न सकिने अवस्था छैन, हामीले यसका लागि एपको प्रयोग गरेर भिडियोको रिजोलुसन बढाउने तयारी गरेका छौँ’, थापाले भने, ‘त्यसले काम गरेमा रातिको पनि प्रष्ट दृश्य सुरक्षित हुन सक्ला, यो प्रभावकारी नठहरिए नाइटभिजन सीसीटीभीका लागि पहल थाल्छौँ।’

प्रहरीले यो वर्ष पनि उपत्यकामा सीसीटीभी जडानका लागि टेन्डर प्रक्रिया अघि बढाएको छ। ‘यो पटक पहिलेको तुलनामा उच्च क्षमताका सीसीटीभी भिडियो जोड्न सम्बन्धित विभागमा भनेका छौँ’, थापाले भने, ‘प्राविधिकको सिफारिसअनुसार हामी यसमा सुधार गर्छौं, बिजुलीको समस्या हल गर्ने उपाय खोज्दै छौँ।’

नम्बर नचिन्ने सीसीटीभी क्यामेरा

अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले अधिकांश सीसीटीभी क्यामेरा डे भिजन मात्रै हुँदा राति अपराध गर्नेहरू सजिलै उम्कने गरेको बताउँछन्। राजधानीका नयाँ बानेश्वर, सिंहदरबार, केशर महलसहितका मुख्य केही ठाउँमा नाइटभिजन सीसीटीभी क्यामेरा राखिएको छ। तर अधिकांश ठाउँमा भने डे भिजन मात्रै जोडिएको छ।

टेकुमा भ्यानले हानेर ज्यान लिएको प्रकरणमा सीसीटीभीले कामै नगरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी बोगटी बताउँछन्। ‘सीसीटीभीको फुटेज प्रस्ट भएको भए ठक्कर दिने बा १८ च ३२९३ नम्बरको भ्यान र चालक पक्रन एक साता दौडधुप गर्नुपर्दैनथ्यो’, उनले भने, ‘ठक्कर दिएपछि भागेको भ्यान समात्न कालिमाटीमा तरकारी ल्याउने अन्य कैयौँ भ्यानलाई पनि समात्नुपर्‍यो। त्यहाँ नाइट भिजन सीसीटीभी या बत्तीको राम्रो उज्यालो थियो भने सजिलै अपराधीसम्म पुग्थ्यौँ।’

मध्यरातसम्म व्यस्त रहने राजधानीको दरबारमार्ग क्षेत्रका सीसीटीभी क्यामेराले रातमा कामै नगर्ने गरेको महाशाखाका प्रमुख एसएसपी सिंह बताउँछन्।

बिजुलीको समस्या उस्तै

सार्वजनिक स्थलको निगरानी र अपराध नियन्त्रणका लागि जोडिएका सीसीटीभी क्यामेराका लागि नियमित ब्याकपको व्यवस्था पनि छैन। पावर ब्याकअप नहुँदा दैनिक सबै सीसीटीभीले कामै गर्दैनन्।

‘बत्ती आउनेजाने समस्याले सीसीटीभी क्यामेराले नियमित दृश्य कैद गर्न सकेका छैनन्, यसका लागि छट्टै पावर ब्याकअपको व्यवस्था गरिनु जरुरी छ’, डीआईजी थापा भन्छन्, ‘नाइट भिजन नभए पनि सीसीटीभी क्यामेरा वरिपरि उच्च क्षमताको बत्ती जडान गर्न सकेमा दृश्य कैद गर्न सजिलो हुन्छ।’

राजधानीका सार्वजनिक स्थलमा सर्वसाधारणका गतिविधि निगरानी र अपराध नियन्त्रणका लागि राखिएको रातिको समयमा कामै नगरेको पाइएको छ। बिजुली नियमित नहुँदा रेकर्डिङ गर्न समस्या र अँध्यारोमा खिचेको दृश्यमा केही नदेखिने जस्ता समस्या रहेको प्रहरीको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.