आशा जगाऔं, जीवन बचाऔं

आशा जगाऔं, जीवन बचाऔं

वर्षकी किशोरीले मानसिक रोग विशेषज्ञसँगको भेटमा जीवनप्रति निरासा व्यक्त गरिन्। अभिभावकले  वास्ता  नगर्ने र कलेजका साथीहरूले  सहयोग नगर्दा उनी खिन्न देखिन्थिन्। 

केही वर्षअघि मधेस प्रदेशका एक जना युवा एमबीबीएस परीक्षामा छात्रवृत्तिमा नाम ननिस्किँदा निराश भए। आत्महत्याको बाटो रोजे। केही समयअघि एक व्यक्तिले आफ्नी श्रीमतीसहित ३ जना छोराछोरीलाई विष सेवन गराई सामूहिक आत्महत्या नै गरे। श्रीमान् विदेशमा गएको बेला दैलेखकी एक गर्भवतीले आत्महत्या गरिन्। अघिल्लो वर्ष सिरहाका एकजना प्रतिष्ठित व्यवसायीले व्यापारमा घाटा बढ्दै गएपछि आत्महत्या गरेको घटना धेरैले बिर्सेका छैनन्।

जीवनप्रतिको वितृष्णा र त्यसले निम्त्याएको दुष्परिणामका यी केही प्रतिनिधिमूलक घटना मात्र हुन्। व्यक्तिमा किन आत्महत्याको सोचले बढावा पाउँछ ? के कारणले  आत्महत्याको बाटो रोज्छन् ? यो अहिलेको  गम्भीर प्रश्न बनेको छ।  आत्महत्याको पूर्वसंकेतहरू कसरी पहिचान गर्ने र निराश व्यक्तिमा कसरी जीवनप्रतिको मोह जगाउन सकिन्छ ? यसबारेमा छलफल गर्नुपर्ने जरुरी भइसकेको छ। आत्महत्याको रोकथाममा किन सर्वपक्षीय सहकार्य हुन सकेको छैन ? 

आत्महत्याको रोकथाममा घरपरिवार, साथीसँगी, विशेषज्ञ, सरकारी संयन्त्रसहित सबैको सहयोग लिएर कसरी योगदान पु¥याउन सकिन्छ ? भन्ने  विषयमा संवेदनशील हुनुपर्ने  बेला आइसकेको छ। 

मर्ने उद्देश्यले आफैंले आफैंलाई हानी गरेर ज्यान गुमाउनु वा मृत्युवरण गरेको अवस्थालाई आत्महत्या भनिन्छ। आफ्नो जीवन अन्त्य गर्ने उद्देश्यले गरेको प्रयासलाई आत्महत्याको प्रयास भनेर बुझिन्छ। सहनै नसक्ने गरी पीडा बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ। पीडाबाट मुक्ति आत्महत्या गरेपछि मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि व्यक्तिले आत्महत्याको बाटो रोज्छन्। विश्व स्वास्थ्य संगठनको पछिल्लो आकडाअनुसार विश्वभरमा एक वर्षमा लगभग ७ लाख मानिसहरूले आत्महत्या गर्छन्। नेपाल प्रहरीको आर्थिक वर्ष  २०७९/८० को तथ्यांकअनुसार ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेको पाइएको छ। हरेक दिन झन्डै १९ जनाले आत्महत्या गरिरहेको घटना दु:खदायी छ।  

तनावयुक्त वैवाहिक जीवन, सम्बन्धविच्छेद गरेर एकल जीवन बाँचिरहेका, घरेलु तथा यौनजन्य हिंसा पीडित, लाञ्छना खपिरहेका, प्रेममा असफल, ठूलो आर्थिक क्षति बेहोरिरहेका र जीवनदेखि हरेस खाएका व्यक्तिहरू आत्महत्याको बढी जोखिममा हुन्छन्।  आत्मविश्वास गुमाएका यस्ता व्यक्तिहरूले विगतमा आत्महत्याको प्रयास गरेका पनि हुन सक्छन्। पछिल्लो समय प्रेम विवाह गरेका युवायुवतीमा पनि आत्महत्याको जोखिम बढ्दो छ। 

आत्महत्याको सोच आउने विभिन्न कारणहरूमध्ये डिप्रेसन पनि प्रमुख हो। डिप्रेसनका कारण मनमा धेरै पीडा हुन्छ, बाँच्ने इच्छा र चाहना घट्दै जान्छ। पीडाबाट मुक्ति आत्महत्या गरे मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि आत्महत्या गर्छन्। डिप्रेसनका बिरामीको मद्यपान वा लागूपदार्थ सेवन गर्छन् भने आत्महत्या गर्ने खतरा अझ बढ्छ। मानसिक समस्या, क्षारेरोग, मदिरा, दुव्र्यसनको लत, दीर्घ खालको  पीडादायी शारीरिक रोगका कारणले पनि आत्महत्याको सोच ल्याउन सक्छ।

मानसिक तथा शारीरिक पीडालाई कतिपयले व्यवस्थापन गर्न सक्दैनन्। आत्महत्याको बाटो रोज्नेतर्फ जानिनजानी परिवारिक सदस्य तथा अन्य कसैले बाध्य बनाइरहेको हुनसक्छ। पीडालाई उनीहरूले घुमाउरो पाराले परिवारजन तथा साथीभाइलाई भनेका पनि हुन्छन्। यस्तो जिन्दगीको के सार, फेरि भेट हुन्छ कि हुँदैन, मर्न पाए हुन्थ्यो जस्ता सुशुप्त खालका इच्छा व्यक्त गर्छन्् भन्ने शंका गर्नुपर्छ। यस्तो कुरा किन गरेको ? भनेर सोध्नुपर्छ। यतिखेर सहयोगको आवश्यकता छ भन्ने महसुस गर्नुपर्छ। तुरुन्त मानसिक रोग विशेषज्ञ वा तालिम प्राप्त मनोपरामर्श कर्ताकहाँ लैजानुपर्छ। ११६६ नम्बरको राष्ट्रिय हेल्पलाइनमा फोन गरेर पनि यस्तो अवस्थामा सहयोग लिन सकिन्छ।   

आत्महत्या रोकथाममा सरकारी संयन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत केही पहल भए पनि त्यो पर्याप्त छैन। राज्यका संरचना, सहयोगी संघ–संस्थाहरू, सेवा प्रदायक, घर परिवारका सदस्यहरूबीच एकआपस समन्वय र सहकार्य नहुँदा आत्महत्या रोकथाममा सोचेअनुसार उपलब्धि हासिल हुन सकेको छैन। मानसिक स्वास्थ्यको प्रवर्धन गर्दै मानसिक स्वास्थ्य समस्याको रोकथाम र आत्महत्याको प्रयास तथा सोच भएका व्यक्तिहरूलाई आवश्यक मनोपरामर्श सेवा र उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरू, मनोविद्हरू तथा विशेषज्ञहरू मार्फत सेवाको पहुँच पु¥याउनु आवश्यक छ।  संघीय, प्रदेश र स्थानीय सरकारले जनस्वास्थ्य ऐन २०७५, राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति र कार्ययोजना २०७७  र मानसिक स्वास्थ्यसम्बन्धी प्रादेशिक रणनीतिले निर्देशित गरेअनुसार मानसिक स्वास्थ्यको प्रवर्धन, मानसिक रोगको रोकथाम र मानसिक स्वास्थ्य सेवाको विस्तार र निरन्तरतामा जोड दिनुपर्छ। 

महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत सबै खालका प्राथमिकताका वर्ग तथा क्षेत्रहरूमा मानसिक स्वास्थ्यलाई पनि एकीकृत गर्दै कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन आवश्यक छ। स्थानीय सामुदायिक संघसंस्था, गैरसरकारी संस्था, जोडी समूहहरू र मानसिक स्वास्थ्य स्वावलम्बन समूहहरूमार्फत मानसिक स्वास्थ्यको प्रवर्धन गर्न र आत्महत्याको सोचाई राखेका व्यक्तिहरूमा आशाको सञ्चार गराई जीवन जोगाउन उल्लेख्य पहल गर्न सकिन्छ। अभिमुखीकरण, तालिममार्फत आत्महत्याको रोकथाममा उल्लेख्य सहयोग गर्न सकिन्छ। विशेष गरेर स्थानीय निकायहरूले संस्थाहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्दै आफ्नो कार्यक्षेत्रमा प्रभावकारी तवरले कार्यक्रम लैजानुपर्ने आवश्यकता छ। हरेक स्थानीय तहले आफ्नो भौगोलिक क्षेत्र र जनसंख्याको आधारमा केही मनोसामाजिक कार्यकर्ताहरू नियुक्ति गरी विज्ञ संस्थाहरूसँग समन्वय गरि आत्महत्या रोकथाम, रेफरल र मानसिक स्वास्थ्य प्रवर्धन लगायतका विषयमा तालिम प्रदान गरि वडावडा र घरघरमा परिचालन गर्दा आत्महत्याको पूर्वसकेत पहिचान गर्न सकिन्छ।

प्रारम्भिक मनोसामाजिक सहयोग प्रदान गर्न र आवश्यक सेवाका लागि मनोसामाजिक परामर्शकर्ता वा मानसिक रोग विशेषज्ञसमक्ष रेफर गर्न सक्छन्। यसको साथै हरेक स्थानीय तहमा हालको प्राथमिक स्वास्थ्य सेवाको संरचना वा अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति, स्रोत र साधनसहितको कम्तीमा पनि एउटा मनोसामाजिक परामर्श केन्द्र स्थापना गरी मनोसामाजिक परामर्श सेवा प्रदान गर्न सकियो भने धेरैलाई जोगाउन सकिन्छ। साथै चिन्ताजन्य, डिप्रेसन र अन्य तनावजन्य समस्या व्यक्तिलाई पनि मनोसामाजिक परामर्श सेवा प्रदान गरि मनोसामाजिक स्वास्थ्य प्रवर्धन गर्ने काममा उल्लेख्य योगदान पु¥याउन सकिन्छ। समयमा उपचार पाए भने मनको पीडा घट्दै जान्छ र निको हुन्छ भन्ने आशा पलाएपछि आत्महत्याको  सोचाइ आउने सम्भावना कम हुन्छ। आत्महत्याको रोकथाममा परिवार, समाज, साथीसंगीहरूको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। स्नेहपूर्ण व्यवहार गर्ने, मनको कुरा सुनिदिने, भविष्य प्रतिआशा जोगाउने, हौसला दिने, काममा सहयोग गर्ने र आत्महत्याको लक्षण वा पूर्वसंकेत देखिएमा उपचार प्रक्रियामा सहयोग गर्नुपर्छ।

सबै पक्षसँग समन्वय, सहयोगका लागि सहकार्य गर्दै आत्महत्याको जोखिममा रहेका व्यक्ति, वर्ग र समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्न सकेमा आत्महत्याको रोकथाममा उपलब्धि हासिल गर्न सकिन्छ। आत्महत्याको जोखिममा रहेका व्यक्तिहरूमा भविष्य प्रतिको आशा जगाई जीवन बचाउने शुभ कार्यमा सरोकारवालाहरू लाग्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.