सूर्यदर्शन सहकारीबाट लामिछानेले लिए १ करोड, पीडित झनै पीडित

सूर्यदर्शन सहकारीबाट लामिछानेले लिए १ करोड, पीडित झनै पीडित

पोखरा : सूर्यदर्शन सहकारी संस्थामा सदस्य नै नरहेका रवि लामिछानेले यो सहकारीबाट १ करोड रुपैयाँ लिएको पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदनले देखाएको छ। सहकारीको सदस्य नै नभएको व्यक्तिले ऋण लिन मिल्दैन। तर लामिछानेले ऋण लिएका छन्। तिरेको भनेर देखाइए पनि सहकारीमा पैसा दाखिला भएको छैन। पैसा लिएर पनि कृत्रिम खाता खडा गरी तिरेको समेत देखाएर छल गरिएको छ। 

सूर्यदर्शन त्यो सहकारी हो जसको अध्यक्ष जीबी राई थिए। जीबी तिनै व्यक्ति हुन् जोसँग रवि लामिछानेको साझेदारी थियो। अर्थात् जीबी राईले ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि रविसँग साझेदारी गरेका थिए। अहिले बन्द भइसकेको उक्त टेलिभिजनको सञ्चालक कम्पनी चाहिँ गोरखा मिडिया प्रालि हो। यही मिडियाका लागि पनि पोखराको सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ ऋण लिइएको छ।

राईले पटकपटक गरी सूर्यदर्शनबाट पैसा लगेको प्रतिवेदनले औंल्याएको छ। ऋण तिरेको पनि देखाउने, तर सहकारीमा पैसा जम्मा नहुने गरेको अध्ययनमा संलग्नहरू बताउँछन्। सूर्यदर्शन सहकारीका बारे धेरै गुनासो र उजुरी परेपछि पोखरा महानगरपालिकाले गत वर्ष असारमा अध्ययन समिति बनाएको थियो। वित्तीय अवस्था बुझ्न समितिमा अडिटर अनिल लामिछाने पनि सदस्य थिए। उनका अनुसार रवि लामिछानेको नाममा कर्जा गएको र त्यसलाई फस्र्योट भएको पनि देखाइएको छ। ११६–४४५६ नम्बरको कर्जा लिइएको प्रतिवेदनले औंल्याएको छ। कर्जाको शीर्षक पुलेसो भन्ने छ। रविले भने सार्वजनिक रूपमा आफूले कर्जा नलिएको दाबी गर्दै आएका छन्। 

सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ सहकारीको विषयमा रवि गृहमन्त्री भइसकेपछि पनि ज्ञापनपत्र बुझाएको तर कुनै वास्ता नभएको बताउँछन्। ‘उहाँ पोखरा आउँदा पनि पटकपटक भेटेर ज्ञापनपत्र बुझाएका हौं,’ उनले भने। 

महानगरपालिकाको प्रतिवेदन आइसकेपछि कास्की प्रहरीमा सहकारीका सञ्चालकहरू र पूर्वअध्यक्ष जीबी राईविरुद्ध उजुरी परेको थियो। उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी जारी गरेकामध्ये पाँच जना पक्राउ परी कास्की अदालतको आदेशमा पुर्पक्षका लागि कारागार छन्। राई फरार छन्। रविका विरुद्ध पनि पछिल्लो समय उजुरी परेको थियो। तर त्यसमाथि कास्की प्रहरीले थप कारबाही अगाडि बढाएको छैन। रवि गृहमन्त्री हुनुअघि अघि नै उजुरी परेको थियो।  

सूर्यदर्शन सहकारीमा झन्डै १९ हजार जना बचतकर्ता थिए। सहकारीमा १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको महानगरपालिकाको अध्ययन प्रतिवेदनमा छ। null

पोखरा महानगरपालिकाले वित्तीय स्थितिका विषयमा गरेको अध्ययन प्रतिवेदन ।

पोखराको बगालेटोलमा कार्यालय रहेको सहकारी अहिले बन्द छ। बन्द भएकाले ऋण तिर्नुपर्नेहरूले पनि तिर्न नपाउँदा बचतकर्ताको बचत फिर्ताका लागि बाटो नभएको संघर्ष समिति संयोजक श्रेष्ठ बताउँछन्। बरु महानगरपालिकासमेतको सहकार्यमा पूरक प्रतिवेदनका लागि अध्ययन समिति बनेको छ। त्यसमा अडिटर, सहकारी विज्ञसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधि पनि राखिएका छैनन्। त्यही पूरक प्रतिवेदन दुई महिनामा ल्याउने भनिएकोमा चार महिना पुगिसक्दा पनि नल्याएकोमा श्रेष्ठ शंका गर्छन्।

सूर्यदर्शन सहकारीबाट जथाभावी पैसा निकालेर सञ्चालकहरूले चलाउँदा बचतकर्ताको बिचल्ली भएको श्रेष्ठले सुनाए। ‘औषधि किन्ने पैसा पनि नभएको अवस्थामा बचतकर्ता छन्,’ श्रेष्ठले भने। 

null

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट लामिछानेले पुलेसो कर्जामा १ करोड लिएको अध्ययन प्रतिवेदनको निश्कर्ष ।  

त्यसो त सूर्यदर्शन सहकारीले बचत फिर्ता नगर्दा एकजना बचतकर्ताले ज्यानैसमेत गुमाएका छन्। पोखरा घारीपाटन बस्ने वीरबहादुर आलेले उक्त सहकारीमा २२ लाख रुपैयाँ जम्मा गरेका थिए। तर फिर्ता पाएनन्। घरखर्च चल्ने बाटो बन्द भयो। पीरैपीरले उनी थलिए। हृदयाघात भयो। पुस १३ गते उनको निधन भयो। वीरबहादुरकी श्रीमती भगवतीका अनुसार ट्याक्सी चलाएर कमाएको आम्दानी सहकारीमा बचत थियो। त्यसको ब्याज आम्दानीबाट घर खर्च चलाएका थिए। वीरबहादुरको निधनपछि श्रीमतीलाई भने किरिया खर्चका लागि पनि ऋण लिनुपर्ने बाध्यता आइलागेको थियो। 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्यहरू शिवबहादुर गुरुङ, भगीश्वर अर्याल र प्रमोद भट्टराई पक्राउ परी कास्की जिल्ला कारागारमा छन्। अरु १८ जनाविरुद्ध पक्राउ पुर्जी छ। पूर्वअध्यक्ष जीबी राईविरुद्ध प्रहरीले डिफ्युजन नोटिस पनि जारी गरेको छ। 

२०७९ को मध्यतिरैबाट सूर्यदर्शन सहकारीको संकट बचतकर्ताले महसुस गर्न थालेका थिए। पैसा फिर्ता माग्न चेक लिएर जाँदा नसाटिने समस्या त्यतिखेरबाट सुरु भएको थियो। बचतकर्ताहरूले अध्यक्षलगायत पदाधिकारी र स्वयं जीबी राईलाई पनि भेटी फिर्ताका लागि पहल गरेका थिए। उनीहरूले बचत फिर्ताको प्रतिबद्धता पनि जनाएका थिए। तर त्यो पूरा गर्न सकेका थिएनन्। चेक पनि नसाटिने र पदाधिकारीले प्रतिबद्धता पनि पूरा नगर्ने भएपछि बचतकर्ताहरूले पोखरा महानगरपालिकाको सहकारी समितिमा उजुरी गरेका थिए।

त्यसपछि भएको अध्ययनले नै १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको र त्यसमध्ये रवि लामिछानेको पनि संलग्नता पुष्टि गरेको हो।  महानगरपालिकाको प्रतिवेदनलाई नै आधार बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शनका पदाधिकारीविरुद्ध गएको असोजमा ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर गर्दा एक हजारभन्दा बढी उजुरीकर्ताको आधार लिइएको छ। अभियुक्तहरूबाट १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी बिगो भराउनुपर्ने माग मुद्दामा छ। ८ देखि १० वर्षको कैद सजाय पनि माग गरिएको छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.