अस्थिरता देखेर जनता वाक्क भइसके

अस्थिरता देखेर जनता वाक्क भइसके
सुन्नुहोस्

समानुपातिक सुन्दर प्रणाली हो। तर, यो प्रणालीको दुरुपयोग भयो। नेताहरूले आफ्नो नातेदार, इष्टमित्रलाई संसद्मा ल्याउने माध्यम बनाए।

राजनीतिक दल र शीर्ष नेताप्रति आमजनतामा निराशा छ। नेताहरूले केही पनि गर्न सकेनन् भन्ने भाष्य निर्माण भएको छ। पछिल्लो समय गाउँगाउँमा घुम्दा मैले जनतामा यस्तो भावना देखेँ। नेताहरूप्रति रोष छ। 

राजनीतिक अस्थिरतालाई  जनताले पटक्कै रुचाएका छैनन्। केन्द्रदेखि प्रदेश सरकारमा गठबन्धन बन्ने, भत्कने क्रम जारी छ। गठबन्धनकै कारण सरकार बन्ने, भत्कने भइरहेको हो भन्ने भित्री कारण सर्वसाधारण जनतालाई थाहा छैन। उनीहरू राजनीतिक अस्थिरता र सरकार परिवर्तनप्रति दिक्क छन्।

चुनावी मैदानमा रहेका बेला उम्मेदवारहरूले मतदातासामु हुने, नहुने सबै प्रतिबद्धता व्यक्त गरेका हुन्छन्। घोषणापत्रमार्फत व्यक्त गरिएका वाचा तथा प्रतिबद्धताको कार्यान्वयनलाई लिएर जनताले प्रश्न गर्छन्। चुनावअघि गरेको अधुरो प्रतिबद्धता, चुनावी घोषणापत्र, राजनीतिक अस्थिरता, सरकार फेरिने कार्यले जनतामा वितृष्णा बढाएको छ। यस खालको जनताको वितृष्णा वर्तमान शासन पद्धति एवं राजनीतिक प्रणालीको लागि शुभसंकेत होइन।

मुलुकको संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ। यस खालको प्रणालीमा कुनै एउटा दलले बहुमत हासिल गर्न कठिन हुन्छ। यसको अर्थ हो, मिलेर अघि बढ्नुपर्ने संस्कार र संस्कृतिको विकास गर्नुपर्छ। तर, हामीकहाँ ठीक उल्टो भयो। मिलेर जाने संस्कार नै भएन।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुन नसक्ने उपेक्षित एवं कमजोर वर्गको प्रतिनिधित्वका लागि समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिएको हो। समानुपातिक सुन्दर प्रणाली हो। तर, यो प्रणालीको दुरुपयोग भयो। नेताहरूले आफ्नो नातेदार, इष्टमित्रलाई संसद्मा ल्याउने माध्यम बनाए। निर्वाचन प्रणालीलाई नेताहरूले विकृति बनाए। नेताहरूमा अवसरवाद बढ्यो।  नेताहरूले गर्दा खेरि नै जनतामा वितृष्णा बढेको हो। 

जनतामा अहिले देखिएको निराशा बढाउने काम गर्नु हुँदैन। संविधान कार्यान्वयनका क्रममा देखिएका कठिनाइ तथा जटिलताहरू केलाउनुपर्ने आवश्यकता देखिएको छ। संविधान एवं केही कानुनहरू संशोधन गर्नुपर्ने हुन सक्छ। संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गरी अघि बढ्नुपर्ने अवस्था देखिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा गम्भीर हुनुपर्छ। 

(पूर्वमन्त्री त्रिपाठी, जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हुन् )


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.