आजबाटै मृगौलाको हेरचाह

आजबाटै मृगौलाको हेरचाह
सुन्नुहोस्

सामान्य अवस्थामा शरीरका दुवै मृगौला ढाडको बीचमा मेरुदण्डको दुवैतिर मुठीजत्रो सिमीको गेडाको आकारमा रहेको १५० ग्रामको नभइ नहुने उत्र्सजक अंग हो। दुईमध्ये एउटाले मात्र काम गर्दा पनि मानिस स्वस्थ रहन सक्छ। एउटा मृगौलामा करिब १३ लाख नेफ्रोन हुन्छन् जसले पिसाब बनाउने क्षमता राख्छ। ४० वर्ष नाघेपछि नेफ्रोनको संख्यामा वार्षिक १ प्रतिशतका दरले ह्रास हुन्छ तर अन्य नेफ्रोनले कार्य वृद्धि गरी जीउबाट निकाल्नुपर्ने पानी, लवण र फोहोर त्यही मात्रामा र त्यही दरमा निकालिरहन्छन्। मानिसको उमेर बढ्दै जाँदा मृगौलाको कार्य क्षमता पनि घट्दै गई स्वस्थ मानिस ९० वर्ष पुग्दा मृगौलाले क्षमताको ५० प्रतिशत जति मात्र काम गरे पनि स्वस्थ नै मानिन्छ।

मृगौलाको काम हामीले खाएको खानेकुराबाट शरीरले चाहिएको कुरा अवशोषित गरी बाँकी रहेका अनावश्यक पदार्थ रगतमा रहन्छन्। उक्त रगतलाई छानेर रगत सफा गर्ने र तिनलाई पिसाबको रूपमा मुत्रथैलीमा पठाई पिसाबमार्फत बाहिर फ्याँक्ने प्रमुख काम मृगौलाको हो। शरीरमा अनावश्यक नुन, पानी, पोटासियम, क्याल्सियम र अन्य आयनलाई थुप्रन नदिई सन्तुलनमा राख्छ। अम्ल र क्षारको मात्रा नियन्त्रण गर्छ। प्रोटिनबाट बन्ने सल्फ्युरिक र फोस्फोरिक एसिड निस्कासन गर्ने अंग एकमात्र मृगौला हो। रगतको रातो रक्तकोष बनाउने हर्मोन एरिथ्रोपोइटीन ९० प्रतिशत मृगौला र १० प्रतिशत कलेजोले बनाउँछ। मृगौलाले भिटामिन डी को सक्रिय रूप क्याल्सीट्रोल बनाउँछ र क्याल्सियम तथा फोस्फेटको नियन्त्रण गर्छ। आन्द्रामा क्याल्सियम संयोजन प्रोटिन बनाई क्याल्सियमको अवशोषण वा खपत बढाउँछ। लामो उपवासमा बसेको बेला एमिनोएसिडबाट चिनी बनाउने, रक्तचाप सन्तुलित राख्ने पनि गर्छ।

किन बिग्रन्छ ?

मृगौलाको कार्यक्षमता ५० प्रतिशतभन्दा बढी घट्न थालेपछि मात्र स्वास्थ्य समस्या पैदा हुन थाल्छ। जन्मँदै मृगौलामा पानीका फोका भएको तथा उक्त फोकाहरूको संख्या र आकार बढ्दै गए खराबी सुरु भएको वयस्क अवस्थामा नै थाहा हुन सक्छ। अन्य कारणमा वंशानुगत, मोटोपना, धुम्रपान, पचास वर्ष नाघेका व्यक्ति तथा संक्रमण पर्छन्।

विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार विश्वमा हरेक १० जनामा एकजनामा मृगौलासम्बन्धी कुनै न कुनै समस्या देखा पर्ने गरेको छ। नेपालमा हाल पीडित हुनेको संख्या वार्षिक २५००–३००० का दरले बढ्दैछ। हाल करिब २९ लाख व्यक्ति कुनै न कुनै रूपका मृगौला रोगबाट पीडित छन्। तीमध्ये हरेक वर्ष २५ हजारको समस्या गम्भीर हुँदै जाने र २५०० को मृगौला विफल हुने गरेको अनुमान छ।

लक्षण

सामान्यतया मृगौला खराब हुँदा खानामा रुची घट्दै जाने, चाँडै थकाइ लाग्ने, राति बढी (दुईपटक भन्दा बढी) पिसाब हुने, पिसाब गर्दा पोल्ने, रातो, गाढा वा फिँजयुक्त हुने, पिसाबको मात्रा घट्दै जाने, वाकवाक लाग्ने, जिउ चिलाउने, बिहान उठ्दा मुख फुल्ने र सुन्निँदै जाने, गोरो मानिस कालो हुँदै जाने लक्षण देखा पर्छन्। यस्ता लक्षण अन्य रोगमा पनि देखिने भएकाले यकिन गर्न रगत परीक्षण गरी युरिया र क्रेटिनाइन बढे नबढेको हेर्नुपर्छ। शरीरमा रोग बढाउने रोगका उपनामले चिनिने मृगौला रोगहरूबाट मृगौलाको क्षति अन्तिम अवस्थामा पुग्दा उपचार नभए मुटुमा र हड्डीमा भिटामिन डी र क्याल्सियमको कमीले हड्डी दुख्ने, सुन्निने र नरम हुन्छ। करङ, कम्मर र अन्य स्थानका हड्डी भाँच्चिने सम्भावना रहन्छ। तर हाम्रो बिडम्बना मृगौला असफल भएको मृगौलाको कार्य क्षमता ७० प्रतिशतभन्दा बढी नष्ट हुँदा पनि थाहा पाउन र अनुभव गर्न सकिँदैन। रोगको लक्षण नदेखिँदै उपचार खोज्ने कुरा पनि भएन जसका लागि नियमित जाँच नै आवश्यक छ।

मृगौलाको कार्यक्षमता ५० प्रतिशतबाट घटेर १० प्रतिशतसम्म झरेको अवस्थालाई क्रमश: प्रारम्भिक, मध्यम र अन्तिम चरणको खराबीको रूपमा लिइन्छ। सामान्य व्यक्तिभन्दा मृगौला रोगीमा मधुमेह उच्चरक्तचाप र मुटु तथा रक्तनलीसम्बन्धी समस्या गाँसिएमा मृत्यु हुने सम्भावना १० गुणा बढी हुन्छ।  त्यसैले मृगौला बेकम्मा हुनुभन्दा पहिले नै हृदयाघातबाट व्यक्तिको मृत्यु हुने सम्भावना रहन्छ। मृगौला बेकम्मा हुनेमा ४४ प्रतिशत मधुमेह र २८ प्रतिशत उच्चरक्तचापको कारणले देखिएको छ।

व्यवस्थापन

मृगौलाले २०–३० प्रतिशतसम्म मात्र काम गरिरहेको बेला लक्षणहरू देखिन्छन्। तथापि त्यसबेला थप बिग्रन नदिन उपचार मात्र गर्न सकिन्छ, रोग निको भने पार्न सकिँदैन। यदि मृगौलाको कार्यक्षमता १० प्रतिशतभन्दा पनि कम हुन्छ भने नियमित रूपमा रगत सफा गर्ने हेमोडायलाइसीस, हेमोफिल्ट्रेसन र पेरीटोनियल डाइलाइसीस वा स्वस्थ मृगौला राख्ने ‘प्रत्यारोपण’ जस्ता सघन र ठूला उपचारको आवश्यकता पर्छ।

प्रत्यारोपण कि डायलाइसिस ?

मृगौला प्रत्यारोपण गर्नु भनेको आफन्तको स्वस्थ मृगौला झिकेर बिरामीको शरीरमा राख्नु हो। प्रत्यारोपण गरिएको व्यक्तिको स्वास्थ्य र जीवनयापनको गुणस्तर डायलाइसीसको भरमा बाँच्नेको भन्दा राम्रो हुन्छ। डायलाइसीस उपचार बाँचुन्जेल गराइरहनु पर्ने, धेरै खर्च लाग्ने र सबै स्थानमा सेवा उपलव्ध नहुनाले प्रत्यारोपणलाई नै सजिलो र भरपर्दो मानिन्छ। हप्तामा २–३ पटकसम्म डायलाइसीस गर्नु उपयुक्त हुन्छ।

मृगौला प्रत्यारोपण तुलनात्मक सबैभन्दा बढी गुणस्तरीय जीवन प्रदान गर्ने, सस्तो लोकप्रिय र उत्तम उपचारको विधि भएको छ। प्रत्यारोपण गर्न आवश्यक मृगौलाको कमी अहिले विश्वले भोगिरहेको छ। मृगौलाको आंशिक समस्या पूर्ति गर्न मृतव्यक्तिको मृगौला प्रत्यारोपण सबैजसो देशले अपनाएका छन्। नयाँ उपलव्धीनुसार म्याच नखाएको मृगौलाको पनि विशेष उपचार (एन्टीबडी हटाउने, हल्का रेडिएसन दिने, नयाँ मोनोक्लोनल एन्टीबडी थप्ने) गरी अस्वीकार गर्ने दर ५ प्रतिशत भन्दा कम बनाइन्छ।

बुढाथोकी नेपाल चिकित्सक संघका उपाध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.