ओस्कारमा ओपेनहाइमरले जित्यो ७ अवार्ड

ओस्कारमा ओपेनहाइमरले जित्यो ७ अवार्ड
सुन्नुहोस्

लस एन्जलस (एजेन्सी) : सर्वाधिक लोकप्रिय चलचित्र ओपेनहाइमरले ओस्कार २०२४ मा आफ्नो वर्चश्व कायम गर्दै सात विधामा अवार्ड जितेको छ। अमेरिकाको लस एन्जलसको हलिउडस्थित डल्बी थियटरमा सम्पन्न ९६औं ओस्कार अवार्डमा ओपेनहाइमरले सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट अभिनेता, सर्वोत्कृष्ट सहायक अभिनेता, उत्कृष्ट सम्पादन, मौलिक स्कोर र छायांकन गरी सात विधामा अवार्ड हात पारेको हो।

चलचित्र १३ विधामा मनोनयनमा परेको थियो। चलचित्रका नायक सिलियन मर्फीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। ओस्कारमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड जित्ने उनी पहिलो आयरिश व्यक्ति बनेका छन्। क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशक र रोबर्ट डाउनी जुनियरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड जितेका हुन्।

सर्वोत्कृष्ट अभिनेताको अवार्ड थाप्न पाउँदा निकै हर्षित भएको बताउँदै मर्फीले भने, ‘यस समारोहमा उभिन पाउँदा  धेरै गर्व अनुभूत गरेको छु।’ उनले सबैभन्दा जंगली, सबैभन्दा रमाइलो, सबैभन्दा रचनात्मक र सन्तोषजनक यात्रामा आफूलाई सँगै लगेको भन्दै निर्देशक नोलन र निर्माता एम्मा थोमसलाई धन्यवादसमेत दिए। हाल आफूहरू ओपेनहाइमरको संसारमा बाँचिरहेको बताउँदै उनले विश्वभर रहेका शान्तिका संवाहकहरूप्रति पुरस्कार समर्पित गरे। चलचित्र आणविक बमका आविष्कारक भौतिकशास्त्री जे  रोबर्ट ओपेनहाइमरको जीवनीमा आधारित चलचित्र हो। ओपेनहाइमर ‘फादर अफ एटोमिक बम’का रूपमा पनि परिचित छन्। 

अवार्ड समारोहमा चलचित्र पोर थिङ्स र द जोन अफ इन्ट्रेस्टले क्रमशः चार र दुई वटा पुरस्कार पोल्टामा हाले। चलचित्र पोर थिङ्सका लागि नायिका एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्। द जोन अफ इन्ट्रेस्टले उत्कृष्ट साउन्ड अवार्ड जित्यो। त्यसैगरी उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर जित्ने पनि यो पहिलो बेलायती चलचित्र बन्यो। 

जापानी काल्पनिक चलचित्र द ब्वाय एन्ड द हेरोन सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म घोषित भयो। 

अमेरिकी च्याट शोका प्रस्तोता जिमी किमेलले चौथो पटक समारोह सञ्चालन गरेका थिए। पुरस्कार समारोह स्थल नजिकै गाजामा इजरायलको युद्धविरुद्ध भएका विरोध प्रदर्शनले त्यहाँको ट्राफिक अवरुद्ध बनाएको थियो। समारोहमा पनि राजनीति नै चर्चाको विषय बन्यो। पुरस्कार थाप्नेमध्येका धेरैले आफ्ना भाषणमा गाजा र युक्रेनमा शान्तिको लागि आह्वान गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.