पोखरा अडिसनमा उत्साह

पोखरा अडिसनमा उत्साह
सुन्नुहोस्

पोखरा : चर्चित गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करणको अडिसन मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा सुरु भएको छ। अडिसनका लागि नेपाल आइडलको करिब ७० जनाको टोली सोमबारै पोखरा आइपुगिसकेको छ। नेपाल आइडलको पाँचौं संस्करणको अडिसन पुस २१ गतेदेखि  झापाको बिर्तामोडबाट सुरु भएको थियो। त्यसपछि महोत्तरीको बर्दिबास, हेटौंडाको मकवानपुर, धनगढीको अत्तरिया, सुर्खेतको वीरेन्द्रनगर, दाङको घोराहीमा प्रि—अडिसन सकेर आइडल टिम गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको हो। टोलीले पोखराको अडिसनपछि काठमाडौंमा अडिसन आयोजना गर्ने बताइएको छ।

कास्कीको पोखरा—१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको प्रांगणमा दुई दिनसम्म अडिसन सञ्चालन हुनेछ। पहिलो दिन गण्डकी प्रदेश तथा अन्य स्थानका विभिन्न जिल्लाबाट अडिसनमा सहभागी हुन प्रतिभाहरू पोखरा आइसकेका छन्। पोखरा अडिसनमा गायन प्रतिभा भएका युवायुवतीहरूको उत्साहजन सहभागिता रहेको कार्यक्रम निर्देशक सुरेश पौडेलले जानकारी दिए। निर्देशक पौडेलका अनुसार पहिलो दिन दुई चरणमा अलग÷अलग रूपमा प्रि–जर्जहरूबाट अडिसनमा प्रतिस्पर्धी छनोट गरिनेछ।

युवाहरू विदेश पलायन हुने क्रम तीव्र रूपमा भइरहँदा पनि नेपाल आइडलको क्रेज पहिलेजस्तै उत्साहजन रहेको निर्देशक पौडेलले बताए। ‘यस पटक अडिसन कस्तो हुन्छ भनेर हामीलाई सुरुदेखि नै चिन्ता लागेको थियो। तर, हामीले सोचेभन्दा बढी प्रतिभाहरूको सहभागिताले उत्साहित बनाएको छ’, निर्देशक पौडेलले भने, ‘हामी जहाँ–जहाँ गयौं, त्यहाँ युवाको जनसागर नै उर्लिएको पायौं। पोखरा त आइडल जन्माएकै ठाउँ हो।’ 

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका सहायक प्रमुख रामजी पौडेलले नेपाल आइडलको अडिसन आफ्नो क्याम्पसमा आयोजना हुनु गौरवको बिषय भएको बताए। उनले भने, ‘अडिसनले क्याम्पसको गरिमा र इज्जतलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरेका छौं।’

नेपाल आइडल सिजन वानको विजेता पोखराका बुद्ध लामा बनेका थिए। पोखरा पर्यटकीय दृष्टिकोणले मात्र नभई संगीत क्षेत्रमा रुचि राख्ने प्रतिभाहरूका कारण पनि पोखरा अडिसन महत्वपूर्ण मानिन्छ। मंगलबार प्रि—अडिसनमा सहभागी भएकी भरतपुर–१० चितवनकी २४ वर्षीया अमोध पौडेल निकै खुसी देखिन्थिन्।  नेपाल आइडलमा सहभागी हुन श्रीमान्सँगै आएकी पौडेलले दुई वर्षकी छोरी सासुससुराको जिम्मा लगाएर अडिसनमा सहभागी हुन आएको बताइन्। दन्त चिकित्सक अध्ययनरत उनी बाल्यकालदेखि नै गीत संगीतमा रुचि भएकाले अडिसनमा आएको बताइन्। ‘विवाह गर्नुअघि पढाइमै ब्यस्त भएकाले यसअघिका अडिसनमा सहभागी हुन पाइनँ’, उनले भनिन्, यसपटकको अडिसनमा समय अनुकूल भएकाले त्यो धोको पूरा गर्ने रहन पलाएको हो।’

पोखरा–१५ रामबजारकी सुस्मिमा पुन अडिसनमा सहभागी हुन लामो लाइनमा  बसेकी थिइन्। रामबजारस्थित बालविकास केन्द्रकी शिक्षिकासमेत रहेकी पुन निकै धैर्य र उत्साहित हुँदै अडिसनमा सहभागी हुन लाइन बसेकी थिइन्। बाल्यकालदेखि गीत गाउने सौखले आफ्नो प्रतिभा उजागर गर्न आएको उनले बताइन्। ‘परीक्षा हो। सफल, असफल जे पनि हुन्छ। त्यो मलाई स्वीकार्य पनि छ’, उनले भनिन्, ‘एक चोटी कोसिस गरेर हेर्‍यौं भन्ने लाग्यो, त्यसैले अडिसनमा आएँ।’  

नेपाल आइडलको पाँचौं संस्करणमा न्हयु बज्राचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायकको भूमिकामा छन्। कार्यक्रम सञ्चालन रीमा विश्वकर्मा र आशिफ शाहले गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.