नाचमै जमेका जोगेन्द्र

नाचमै जमेका जोगेन्द्र

सबैले नाचेर खान्छ भनेको जोगेन्द्र युवा भएपछि पनि नाच्न छोडेनन्, बरु आफूमात्र होइन, अरूलाई पनि नचाउन थाले।

सानैदेखि खुबै नाच्थे। कसैले उनलाई नाच भन्न पर्दैनथ्यो, न त नाच्न नै सिकाउनु पर्‍यो। नाच्न पाएपछि उनी भोक, प्यास सबै बिर्सन्थे। संगीतको तालमा चाल मिलाउँदा हेर्नेहरू सबै उनका फिदा हुन्थे, अनि भन्थे यसले त नाचेरै खान्छ।

सबैले नाचेर खान्छ भनेको जोगेन्द्र केसी युवा भएपछि पनि नाच्न छोडेनन्, बरु आफूमात्र होइन, अरूलाई पनि नचाउन थाले। करिब दुई दशक भयो उनले नृत्य निर्देशकका रूपमा काम गर्न थालेको। यो बीचमा उनले नेपाली मौलिक नृत्यको खोज, अनुसन्धान र निरन्तर साधना गरे। आफूले सिकेको नृत्यको सीपलाई कयौं माझ साझा गरे। सयौंको संख्यामा उनले नृत्यका विद्यार्थीलाई पोख्त बनाए। राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चहरूमा कोरियोग्राफीमार्फत नेपाली मौलिक नृत्यको प्रवद्र्धन गरे। यो क्रम जारी छ।

हुन त हामी सबै हरेक समयमा नृत्य गरिरहेका हुन्छौं। हाम्रा हात, खुट्टाका प्रत्येक चालहरूमा नृत्यका कुनै न कुनै ‘स्टेप’हरू झल्किएको हुन्छ। पलभरमै मुद्राहरू फेरिरहेका हुन्छौं। हातका मुद्रा, आँखा र मुखका मुद्रा, शरीरको दायाँबायाँ फर्किने मुद्रा आदि इत्यादि। नृत्यनिर्देशकले त्यसैलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने काम गर्छन्। तर, नृत्य निर्देशकका रूपमा जोगेन्द्रले भने शरीरका मुद्राहरूलाई मात्र व्यवस्थित गरेनन्, नेपाली मौलिक नृत्यका विभिन्न आयामको अध्ययन गरे, लोक तथा पौराणिक नृत्यहरूको खोज गरे। अनि तिनलाई व्यवहारमा मात्र उतारेनन्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि प्रस्तुत गरे।

सांंस्कृतिक विविधताले भरिएको नेपालमा थुप्रै लोकनृत्य छन्, जोगेन्द्रले ती नृत्यका माध्यमबाट नेपाललाई चिनाउने काम गरे। त्यसैले त आज सिंगो नृत्य क्षेत्र उनको नाम लिँदा गर्वले पुलकित हुने गर्छ। सफल नृत्यनिर्देशकसम्मको यात्रा तय गर्न उनले धेरै मेहनत गरेका छन्। उनी नेपालका विभिन्न स्थानमा पुगेरै लोकनृत्यको अध्ययन गरेका छन्। कति नृत्यहरू हेरेरै अध्ययन गर्नुपर्छ भने कति नृत्यहरू अग्रजहरूसँग सिकेरै, अझ पौराणिक कथा जोडिएका नृत्यहरूमा गलत गर्ने छुट हुँदैन।

नेपालमा थुप्रै नृत्य धर्म र संस्कृतिसँग मात्र होइन, स्थानीयहरूको भावनासँग जोडिएका छन्। जसलाई जस्ताको तस्तै उतार्नु पर्छ नृत्य निर्देशकले। जोगेन्द्र यसलाई प्रस्ट्याउँदै भन्छन्– ‘झ्याउरे लोकनाच पनि धेरै किसिमका हुन्छन्, लिम्बू समुदायका व्यक्तिले नाच्दा अर्कै हुन्छ भने ब्राह्मण वा गुरुङ समुदायका व्यक्तिले नाच्दा अर्कै हुन्छ। जात वा समुदायअनुसारका फरकफरक भावभंगीमा हुन्छन्। नृत्य निर्देशकले तिनै भावभंगीहरूलाई बटुलेर मूल मर्म मर्न नदिइकन अवस्था अनुरूप नृत्यको संरचना गर्न सक्नुपर्छ।

मौलिक नृत्यमा निर्देशकलाई कलात्मक बनाउने छुट हुन्छ तर ‘ओरिजिनालिटी’लाई परिवर्तन गर्न पाइँदैन। त्यसैले लोकनृत्यको मञ्चन सबैभन्दा कठिन कार्य मानिन्छ। नृत्य गर्दा दर्शकलाई बाँधेर राख्न कमसेकम एक मिनेटभित्र चार÷पाँचवटा मुद्राहरू फेरिसक्नुपर्ने बताइन्छ। तर, सोरठी, मारुनी तथा धिमाल र राजवंशी समुदायलगायतका केही नाच त्यस्तो नहुने उनी बताउँछन्। यस्ता नृत्यहरू एकसुरमा चलिराख्ने भएकाले लामो समय दर्शकलाई बाँधिराख्न नृत्य निर्देशकले कला मिसाउने गर्छन्।जोगेन्द्र प्रत्येक मौलिक नृत्यमा फरक फरक विशेषता हुने बताउँछन्। त्यही विविधताले नै नेपाली लोकनृत्य संसारकै सुन्दर भएको उनको जिकिर छ। उनी थप्छन्– 

‘घाटु नाच नाच्दा आँखा खोल्नलाई 

नै डेढ मिनेट लाग्छ। उभिन पाँच मिनेट लाग्छ। तर चण्डी नाच, राई लिम्बूको धान नाच उफ्रेर नाचिन्छ। त्यसैले फरकफरक नृत्यमा छुट्टै सौन्दर्य र मिठास पाइन्छ। जोगेन्द्रको यही नृत्यकला यसपटक फेरि अन्तर्राष्ट्रिय मञ्चमा मञ्चन भएको छ। उनले १२औं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलामा दुई दर्जनभन्दा बढी मौलिक नृत्यको निर्देशन गरेका छन्।

नेपालको राजधानी काठमाडौंसहित पोखरा र दाङमा भएको मेलामा उनको नृत्य निर्देशनमा दुई सयभन्दा बढी नेपाली कलाकारले मौलिक नृत्य प्रस्तुत गरेका छन्। १० दिनसम्म चलेको मेलामा १० देशका ३५० विदेशी र दुई सयभन्दा बढी नेपाली कलाकारले प्रस्तुति दिएका थिए। जहाँ उनले सालैजो, मगौटा, मञ्जुश्री, धिमे, कौडा, चण्डी, सेलो, मारुनी, झ्याउरे, झिझियालगायतका मौलिक नृत्यको ‘कम्पोज’ गरेका थिए।

प्रत्येक नृत्यमा ३० देखि ४० जनाको समूहले प्रस्तुति दिएका थिए। एउटै समयमा एकनासको चाल अनि उही भावभंगी र मुद्रा। उनको कम्पोजमा मिलेको संगीतको ताल र नृत्यको चाल हेर्दा यस्तो लाग्थ्यो– वसन्त ऋतुमा मालकचरीको बथान आकाशमा उडिरहेको छ। सायद उनले कम्पोज गरेका नृत्यहरू हेर्दा मौलिक नृत्यप्रति गर्व नगर्ने नेपाली सायदै भए। अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलामा हरेकपटक नृत्यको विशेष प्रस्तुति रहने गरे पनि यसपटक जोगेन्द्रले उल्कै गरेको मेला आयोजक संस्था इभरेस्ट कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला बताउँछन्।

विदेशीसमेत नेपाली नृत्यमा फिदा भएका थिए त्यसबेला। विदेशीले समेत नेपाली नृत्य सिक्न चाहेपछि तालिकामा तय नभए पनि समापन समारोहमा जोगेन्द्रले लाइभ कोरियोग्राफीमार्फत् विदेशीलाई सालैजो नृत्य गराउनु परेको थियो। भाषा नबुझे पनि नृत्यको चालले विदेशीलाई पनि छपक्कै छोएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.