१० वर्षअघि छाउगोठमुक्त घोषणा भएको जाल्पादेवीमा फेरि छाउगोठ भत्काइँदै
अछाम : १० वर्षअघि छाउगोठमुक्त घोषणा गरिएको साँफेबगर नगरपालिका–२ जाल्पादेवीमा फेरि केही स्थानमा छिटफुट रूपमा छाउगोठ भेटिएपछि स्थानीय समुदाय आफैं अग्रसर भएर ती गोठ भत्काउन थालेका छन्।
जनप्रतिनिधि, स्थानीयवासी, शिक्षक, महिला सञ्जाल र युवाको संयुक्त सहभागितामा सुरु भएको यो अभियानले कुप्रथाविरुद्ध नयाँ सन्देश दिएको छ। वडा कार्यालयको आयोजना तथा सम विकास नेपालको समन्वयमा सरोकारवालाको संयुक्त टोलीले वागभिडी र झकाले टोलमा रहेका छाउगोठ भत्काएको हो।
वर्षौंदेखि परम्पराको नाममा महिलामाथि हुँदै आएको विभेद अन्त्य गर्न स्थानीय समुदाय नै एकजुट बनेको छ। अभियानका क्रममा कतिपय परिवारले महिनावारी भएका छोरी–बुहारीलाई घरमै सुरक्षित रूपमा राख्ने बताए भने केहीले आफ्नै हातले छाउगोठ भत्काएका छन्।
वडा स्तरीय महिला सञ्जालकी कोषाध्यक्ष महेश्वरी राईले जाल्पादेवीलाई दशकअघि छाउगोठमुक्त घोषणा गरिए पनि पछिल्लो समय छिटफुट रूपमा गोठ निर्माण भएको पाइएकाले पुनः अभियान सञ्चालन गरिएको बताइन्। अभियन्ता पशुपति कुँवरले छाउगोठमा बस्दा महिलाले सर्पदंश, जंगली जनावरको आक्रमण, चिसो तथा अन्य विभिन्न जोखिम सामना गर्नुपर्ने भएकाले यस्तो अमानवीय प्रथा पूर्ण रूपमा अन्त्य हुनुपर्ने बताइन्।
अभियानमा वडाध्यक्ष सेतबहादुर कुँवर स्वयं अग्रपङ्क्तिमा उत्रिएर छाउगोठ भत्काए। स्थानीयसँग संवाद गर्दै उनले महिनावारी महिलाको प्राकृतिक प्रक्रिया भएकाले यसलाई अन्धविश्वास र अपवित्रतासँग जोड्न नहुने बताए। वडाध्यक्षको नेतृत्वपछि स्थानीय युवा पनि सब्बल र अन्य औजार बोकेर अभियानमा उत्साहका साथ सहभागी बने।
जाल्पादेवीमा पुनः सुरु भएको यो अभियानले छाउप्रथाविरुद्ध समुदायको दृढ प्रतिबद्धता झल्काएको छ। महिलाको सम्मान, सुरक्षा र समान अधिकार सुनिश्चित गर्न साँफेबगर नगरपालिकाका अन्य वडाले पनि यस्तै अभियान सञ्चालन गरी छाउगोठको अन्त्यतर्फ अग्रसर हुन आवश्यक देखिन्छ।
प्रतिक्रिया दिनुहोस !