अभिषेक गिरीको सञ्जालमा प्रहरीको अर्को प्रहार, विराटनगरका मुकेश कार्की पक्राउ
विराटनगर : आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि मोरङ प्रहरीले विराटनगरका मुकेश कार्कीलाई पक्राउ गरेको छ । गिरीमाथि विभिन्न आपराधिक मुद्दामा अनुसन्धान भइरहेका बेला उनीसँग जोडिएका व्यक्तिहरूलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याइएको छ ।
विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान करिब ७ः३० बजेतिर उनकै घरबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । कार्की पक्राउ पर्नुलाई ‘गुन्डा नाइके’ गिरीको सञ्जालमा प्रहरीले गरेको अर्को प्रहारका रुपमा लिइएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कार्की लामो समयदेखि गिरीसँग सम्पर्क र सम्बन्धमा रहेको खुलेपछि नियन्त्रणमा लिइएको हो । कार्कीमाथि गिरीसँगको सम्बन्ध, आर्थिक गतिविधि, पृष्ठभूमि तथा सम्भावित आपराधिक संलग्नताका बारेमा विस्तृत अनुसन्धान भइरहेको उनले बताए । प्रहरीका अनुसार कार्कीले गिरीको आर्थिक हिसाबकिताब मिलाउने, आवश्यक व्यवस्थापन गर्ने तथा विभिन्न गतिविधिमा सहयोग गर्ने भूमिका निर्वाह गर्दै आएको पाइएको छ ।
उनी गिरीको समूहसँग आबद्ध भएर विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको हुन सक्ने आधारमा सबै पक्षबाट अनुसन्धान अघि बढाइएको मिश्रले बताए । प्रहरीका अनुसार कार्की लामो समयदेखि निगरानीमा थिए । यसअघि पनि पक्राउ गर्न प्रहरी टोली घर पुगेको भए पनि सफल भएको थिएन । शनिबार बिहान उनलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो । कार्कीले विराटनगरमा सुधार केन्द्र सञ्चालन गर्दै आएको जानकारी पनि प्रहरीसँग छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल गिरीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिहरूमाथि पनि प्रहरीले निगरानी बढाइरहेको बताउँछन् । गिरीको प्रभावमा रहेर असुली, मिटरब्याज, ठेक्कापट्टामा दबाब सिर्जना गर्ने, धाकधम्की दिने तथा समाजमा आतंक फैलाउने गतिविधिमा संलग्न रहेको आशंका गरिएका केही व्यक्ति अहिले फरार रहेको प्रहरीको भनाइ छ । केही व्यक्तिमाथि अनुसन्धान जारी छ । फरार नभएकामध्ये केहीलाई निगरानीमा राखिएको र आवश्यकताअनुसार कानुनी कारबाही अघि बढाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार गिरीसँग विभिन्न राजनीतिक दलका केही नेता तथा कार्यकर्ताको समेत लामो समयदेखि सम्पर्क देखिएको छ । आर्थिक कारोबारदेखि अन्य गतिविधिसम्मको सम्बन्धका बारेमा पनि अनुसन्धान जारी रहेको एसपी कटवालले बताए । विशेष गरेर विभिन्न दलका नेता–कार्यकर्ताले गिरीसँग जोडिएर आर्थिक गतिविधि सञ्चालन गर्ने गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।
गिरीलाई मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रम पारिश्रमिक संकलन गरेर आर्थिक शोषण गरेको आरोपमा असार १३ गते विराटनगर–८ स्थित निवासबाट पक्राउ गरिएको थियो । असार १२ गते कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ६० हजार रुपैयाँ निकटका व्यक्तिमार्फत पुनः संकलन गरी गिरीले आफ्नो नियन्त्रणमा लिएको खुलेपछि उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा मोरङ प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
असार १७ गते उच्च अदालत विराटनगरले गिरीको पक्षमा परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै पाँच दिनभित्र अनुसन्धान टुंग्याउन वा हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसपछि मोरङ प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा म्याद थपका लागि असार २२ गते जिल्ला अदालत मोरङमा उपस्थित गराए पनि अदालतले म्याद थप अस्वीकार गर्दै हाजिरी जमानीमा छाडेर अनुसन्धान गर्न आदेश दिएको थियो।
यद्यपि, गिरी रिहा हुन पाएनन् । उनीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी र आपराधिक विश्वासघात मुद्दामा पहिले नै पक्राउ पुर्जी जारी गरिसकेकाले अदालतबाट छुटे लगत्तै मोरङ प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं पठाएर सीआईबीको जिम्मा लगाएको थियो । । हाल उनीमाथि सीआईबीले ठगी र आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान गरिरहेको छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्ष कैद सजाय भोगेर २०७९ चैत ५ गते रिहा भएका गिरीमाथि कारागारभित्र चौकीदारको भूमिकामा रहँदा कैदीबन्दीमाथि आर्थिक शोषण गर्ने, रासन तथा लत्ताकपडाको भत्ता हडप्ने र बाहिर आफ्नो समूह परिचालन गरेर मिटरब्याजको कारोबार सञ्चालन गर्ने गरेको आरोप लाग्दै आएको थियो । प्रहरीको अनुसन्धानले जेलबाट छुटेपछि पनि गिरीले कारागारभित्रका आर्थिक गतिविधि, मेस आपूर्ति र कैदीबन्दीको श्रम आम्दानीमा प्रभाव कायम राखिरहेको देखाएको छ । उनको घरमा गरिएको खानतलासीका क्रममा पैसा गन्ने मेसिन समेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !