युवा चिकित्सकको प्रदर्शन आज पनि जारी, चरम श्रम शोषण भएको गुनासो
काठमाडौं : बिभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरुले श्रम शोषण भएको भन्दै निरन्तर विरोध प्रदर्शन गरेका छन् । आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समिति बनाएर उनीहरुले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाइएको गुनासो गरेका छन् । उनीहरुले हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइनुपर्ने माग गरेका छन् ।
त्यस्तै नेपाल सरकारले बजेट भाषणमार्फत बढाएको तलब र विगतको सहमति अनुरूप आवासीय चिकित्सकहरूलाई अधिकृत आठौं तह सरहको बढेको तलब कार्यान्वयन गरिनुपर्ने, एमबीबीएस र बीडीएस पूरा गरेपछि एमडी-एमएस-एमडीएस अध्ययनका लागि राखिएको १ वर्षको अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गरिनुपर्ने लगायतका माग उनीहरुको छ । इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरुले हरेक शनिबार प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !