हिमाली भेगमा गहुँ काट्ने चटारो
गोरखा : यतिबेला हिमाली भेगका किसानहरूलाई गहुँ भित्र्याउन भ्याइनभ्याइ छ। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. १ देखि ७ सम्मका गाउँबस्तीको प्रमुख बालीका रूपमा रहेको गहुँ भित्र्याउने सिजन सुरु भएको स्थानीय किसानहरूको भनाइ छ।
एक वर्षअघिको असोजमा लगाएको गहुँ अहिले भित्र्याउने बेला भएको चुमनुब्री गाउँपालिका— ७ छेकम गाउँका दोर्जे लामाले बताए। मंगलबारबाट मात्र गहुँ काट्न सुरु गरिएको उनले जानकारी दिए। ‘यहाँको वडाध्यक्ष, लामा गुरुहरू र स्थानीय अगुवाहरूले दिन जुराएर गत मंगलबारबाट गहुँ काट्न थालेको हो’, उनले भने, ‘सुरुमा प्रमुख लामाले दिन हेराउँछन्। साइत जुरेको दिनमा पानी नपार्नलाई प्रकृतिको पूजा गर्छन्। बल्ल गहुँ काट्न सुरु हुन्छ।’
अहिले केही दिनदेखि छेकम्पारको छेकम गाउँदेखि गहुँ काट्न सुरु भएको छ। केही दिनभित्रमा त्यहाँको गहुँ भित्र्याएपछि ङाक्यु र लेरु गाउँको किसानहरूको गहुँ काटिन्छ। केही दिन ङाक्यु र लेरुको काटिसकेपछि अर्को हप्तामा लामागाउँको फाँटमा काटिन्छ। त्यसपछि बुर्जी, लार, फुर्पे, पाङदुनको काटिन्छ।’ जिल्लाको तिब्बत सीमा नजिक रहेको अन्तिम गाउँ छुले र निलेको सबैभन्दा पछि काटिने स्थानीय दोर्जे लामाको भनाइ छ।
यो साउन महिनाभित्र हिमाली भेगका सबै गाउँलेले मुख्य बाली गहुँ भित्र्याइसक्ने चुम गुम्बाका प्रमुख लामा पासाङ फुञ्जोले जानकारी दिए। उनका अनुसार जुनसुकै फाँटमा गहुँ काट्न थाल्नुअघि त्यो ठाउँको प्रमुख गुम्बाको नाममा रहेको जग्गाको गहुँ काटिन्छ।
चुमनुब्री गाउँपालिका— ७ छेकम्पार तिब्बतको सीमा क्षेत्रमा अवस्थित गाउँ हो। ३३ सयदेखि ३५ सय मिटर उचाइमा अवस्थित यहाँ गहुँ पाक्न ११ महिना लाग्ने गर्दछ। ‘गत असोजमा रोपेको गहुँ यतिबेला भित्र्याउन पाइन्छ’, लामा पासाङले भने, ‘अब खालि बसेको जग्गामा फेरि असोजतिर गहुँ लगाइन्छ। यहाँ गहुँ, फापर र आलु मात्र खेती गर्ने गरिन्छ।’ बालीचक्रअनुसार आलोपालो गरी गहुँ, फापर र आलु लगाइने उनको भनाइ छ।
एक खेतीमात्र लाग्ने चुमभ्यालीमा ११ महिना लगाएर फलेको गहुँले वर्षभरि खान भने पुग्छ। यहाँ उत्पादित गहुँ, फापर उच्च गुणस्तरको हुने भएकाले काठमाडौं तथा विदेशमा बस्ने लामा गुरुहरूले पनि झिकाएर खाने गरेको लामा पासाङको भनाइ छ।
हिमाली भेगमा पनि विगत एक दशकयता खेती प्रणालीमा मेसिनको प्रयोग गर्ने क्रम बढेको छ।
चुमभ्यालीवासीले तिब्बतबाट मेसिन ल्याएर काट्ने तथा थ्रेसरले कुट्ने, झाँट्न गर्दछन्। त्यहाँका घरघरमा गहुँ काट्ने र कुट्ने मेसिन छ। ‘१० जना मान्छेले गर्ने जति काम एउटा मेसिनले एकैछिनमा गर्न सक्दो रहेछ। धेरै सजिलो भएको छ’, लामा पासाङ फुञ्जोले भने। प्रमुख बाली गहुँ मुख्यगरी ढिँडो खान प्रयोग हुन्छ। पिठोको चम्पा, रोटी, जाँड, रक्सी बनाउन र याक, चौंरीलाई खुवाउन प्रयोग गर्ने गरिन्छ।
परम्परा जोगाउन मौलिक रोपाइँ

विकाश रौनियार
धादिङ :धादिङको गजुरी गाउँपालिका–१ अन्तर्गत अर्चलेस्थित गलौदी खोलाको खेतमा परम्परागत शैलीमा धान रोपाइँ गरिएको छ। किसान निरोज चेपाङले खेती गर्दै आएको उक्त खेतमा आयोजित रोपाइँले नेपाली कृषि संस्कृति, सामूहिक श्रम र गाउँघरको मौलिक परम्परालाई जीवन्त बनाएको हो।
गजुरी गाउँपालिका–१ का वडाध्यक्ष तारानाथ भण्डारीको समन्वयमा आयोजित कार्यक्रममा हलगोरु प्रयोग गरी परम्परागत शैलीमा धान रोपाइँ गरिएको थियो। खेतभरि असारे गीतका भाका गुञ्जिँदा स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीहरू एकसाथ रोपाइँमा सहभागी बने। आधुनिक कृषि प्रविधिको प्रयोग बढ्दै जाँदा हराउँदै गएको परम्परागत रोपाइँ संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशी, लेखा अधिकृत अमृत पौडेल, स्वास्थ्य शाखा प्रमुख तथा गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरूको सहभागिता थियो। सहभागीहरूले खेतमै उत्रिएर रोपाइँ गर्दै श्रमको सम्मान र कृषिप्रतिको अपनत्व प्रकट गरेका थिए।
धान रोपाइँ नेपाली ग्रामीण जीवनको कृषि कार्यमात्र होइन, सामाजिक सद्भाव, सहकार्य र सांस्कृतिक पहिचानसँग गाँसिएको परम्परा पनि हो। रोपाइँका बेला गाइने असारे गीत, सामूहिक श्रमदान र खेतमै हुने रमाइलोले गाउँघरमा विशेष उत्साह थप्ने गर्छ। पछिल्ला वर्षहरूमा यान्त्रिकीकरण र आधुुनिक खेती प्रणालीको विस्तारसँगै यस्ता परम्परागत अभ्यास क्रमशः घट्दै गएका छन्। यस्तो अवस्थामा गजुरीमा आयोजित यस कार्यक्रमले स्थानीय संस्कृति जोगाउनुका साथै नयाँ पुस्तामा कृषिप्रतिको आकर्षण बढाउने विश्वास गरिएको छ। धादिङको पहाडी क्षेत्रमा यूएस–३१२, मनभोग, राजभोग, कालोकाठे, सावित्री, मसिनालगायतका रैथाने धानका जात अझै पनि खोलाको पानी लाग्ने तथा सिँचाइ सुविधा भएका खेतमा खेती हुँदै आएका छन्।
स्वाद, सुगन्ध र स्थानीय हावापानी अनुकूल हुने भएकाले यी जात किसानको रोजाइमा परेका छन्। यद्यपि पछिल्ला वर्षहरूमा बढी उत्पादन दिने हाइब्रिड धानप्रति किसानको आकर्षण बढ्दो छ। उत्पादन वृद्धिका लागि हाइब्रिड खेती विस्तार भइरहेका बेला रैथाने धानका जातको संरक्षण र प्रवद्र्धन पनि उत्तिकै आवश्यक मानिएको छ। परम्परागत रोपाइँजस्ता कार्यक्रमले स्थानीय बीउबिजन, कृषि संस्कृति र सामुदायिक एकताको संरक्षणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस !