सदस्यको ‘साथी’ बनेका इलामका सहकारी
इलाम : सूर्योदय नगरपालिका–१ कमिरे टोलकी रीता राईको अरू बैंकमा बैंक खाता छैन। उनको एउटामात्रै खाता आफैं सेयर सदस्य रहेको स्थानीय एन्जेलिया महिला कृषि सहकारी संस्था लिमिटेडमा मात्रै छ। त्यो खातामा मासिक एक हजारको हाराहारीमा बचत गर्छिन्। त्यहीबाट कर्जा लिएर अर्गानिक तरकारी खेती गरिरहेकी छन्। सहकारीसँगको सहकार्यले उनको जीवन सहज बनेको छ।
इलाम नगरपालिका–७ की अमृता राईको दैनिकी सात वर्षअघिसम्म सामान्य घरायसी काममै सीमित थियो। तर, आज उनी एक सफल व्यवसायी बन्ने यात्रामा छन्। उनको ‘निक्छु कस्मेटिक एन्ड भेराइटी पसल’ को चमकले केवल उनको घरको आर्थिक अवस्थामात्र फेरेको छैन, बरु इलामको सहकारी अभियानले कसरी एक सामान्य नागरिकको जीवनमा ‘कायापलट’ गर्न सक्छ भन्ने उदाहरण पनि बनेको छ।
अमृता भन्छिन्, ‘सात वर्षअघि सुनगाभा बचत तथा ऋण सहकारीबाट लिएको सानो कर्जा र थोरै पुँजी जोडेर दुई लाखबाट सुरु गरेको व्यवसाय आज ४० लाख रुपैयाँभन्दा माथि पुगेको छ। अहिले दैनिक २५ हजारको कारोबार हुन्छ, घरपरिवार चलाउन निकै सहज भएको छ।‘ रीता र अमृता त केवल एक प्रतिनिधि पात्रमात्र हुन्। इलाम नगरपालिका सहकारीले यस्ता हजारौं ‘रीता र अमृता’हरूको आर्थिक भविष्य कोरिरहेका छन्।
इलामका सहकारीहरू केवल बचत र ऋणको कारोबार गर्ने संस्थामात्र रहेका छैनन्, यिनीहरू स्थानीय अर्थतन्त्रको मेरुदण्ड बनेका छन्। इलाम नगरपालिका ८४ सहकारीमा हाल १३ हजार ८ सय ९२ महिला र १० हजार ४ सय ४३ पुरुष गरी २४ हजार ३ सय ३५ जना सेयर सदस्य आबद्ध छन्। यी सहकारीले प्रत्यक्ष रूपमा १ सय १० जनालाई रोजगारी दिएका छन् भने अप्रत्यक्ष रूपमा हजारौंलाई स्वरोजगार बनाएका छन्।
नगरपालिकाका सहकारी शाखा प्रमुख मदनकुमार गुरुङका अनुसार, नगरका सहकारीहरूले सेयर सदस्यको जीवनस्तर उकास्न रचनात्मक काम गरिरहेका छन्। उनले भने, ‘सबैले निकै राम्रो प्रयास गरेका छन्, यसले नगरको समग्र समृद्धिमा गतिलो टेवा पुर्याएको छ।’
सूर्योदय नगरपालिकामा १ सय २४ सूर्योदय नगरपालिकाले नै नियमन गर्ने सहकारी छन् भने अन्य २२ वटा प्रदेशले नियमन गर्ने सहकारीहरू कार्यरत छन्। सूर्योदयमा एनएमसीलगायतका पाँचवटा सहकारीले सेवा कार्यालय खोलेर काम गरिरहेका छन्। ती सहकारीहरू नगरमा सूचीकृत भएर कार्यरत छन्।
सूर्योदय नगरपालिकाको सहकारी तथा गैरसहकारी संस्था क्षेत्र समन्वय शाखा अधिकृत नवीन ढकालका अनुसार नगरका सहकारीले सदस्यहरूको हितमा प्रशस्तै रचनात्मक काम गरिरहेका छन्।
सूर्योदयमा ११ हजार ८९ जना सहकारीमा आबद्ध छन्। नगरका सहकारीमा सदस्यकोे ९ करोड ३३ लाखभन्दा माथि सेयर पुँजी रहेको अधिकृत ढकालले बताए। सूर्योदयका सहकारीमा ३२ करोड १० लाख ५० हजार बचत जम्मा भएको छ। सूर्योदयका सहकारीले सदस्यलाई ६२ करोड १६ लाख ४७ हजार ऋण लगानी गरेको नगरको तथ्यांकमा उल्लेख छ।
सशक्तीकरणमा महिला सहकारी
सूर्योदय नगरपालिका— १ मा २०६७ सालमा स्थापना भएको एन्जेलिया महिला कृषि सहकारी संस्था लिमिटेडमा अहिले सूर्योदय नगरपालिका–१ का १ सय ८१ भन्दा बढी महिला आबद्ध छन्। सुरुका दिनमा केही महिलाले थोरै रकम बचत गर्दै आत्मनिर्भर बन्ने सपना देखेका थिए। त्यही सानो प्रयास आज आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्ने सशक्त संस्थाका रूपमा विकसित भएको छ।
सहकारीले नियमित बचत संकलन गर्ने मात्र होइन, सदस्यहरूको आवश्यकताअनुसार सरल र सहज कर्जा उपलब्ध गराउँदै आएको छ। यही कर्जाको सहायताले धेरै महिलाले तरकारीखेती, पशुपालन, साना व्यापार तथा अन्य आयआर्जनका काम सुरु गरेका छन्। यसले परिवारको आम्दानी बढाउनुका साथै महिलाहरूको आत्मविश्वास र निर्णय क्षमतामा समेत उल्लेखनीय परिवर्तन ल्याएको छ।
संस्थाकी अध्यक्ष कमला खड्काका अनुसार सहकारीको उद्देश्य आर्थिक कारोबारमा मात्र सीमित छैन। ‘हामी महिलालाई बचत गर्न सिकाउनेमात्रै होइन, व्यवसाय गर्न सक्ने, नेतृत्व गर्न सक्ने र आफ्ना निर्णय आफैं लिन सक्ने बनाउन चाहन्छौं,’ उनी भन्छिन्।
उनका अनुसार सहकारीले टेवा काठमाडौं तथा स्थानीय सरकारसँग सहकार्य गर्दै विभिन्न सीपमूलक तालिम, उद्यमशीलता विकास, नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले ग्रामीण महिलालाई नयाँ अवसरसँग जोड्नुका साथै आत्मनिर्भर बन्ने आधार तयार गरेको छ।
संस्थाकी व्यवस्थापक इन्दिरा (खतिवडा) भट्टराई भन्छिन्, ‘सदस्यहरूको क्षमता विकासलाई प्राथमिकतामा राखेर विभिन्न दातृ निकाय र सरोकारवालासँग सहकार्य गरिरहेका छौं। महिलाले सीप सिकेपछि त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सकून् भन्ने हाम्रो प्रयास हो।’
हाल सहकारीले ५० भन्दा बढी महिलालाई प्रांगारिक (जैविक) खेतीतर्फ आकर्षित गर्न तालिम, प्राविधिक परामर्श तथा आवश्यक सामग्री वितरण गरिरहेको छ। यसबाट महिलाहरूले सुरक्षित कृषि उत्पादन, स्वास्थ्यकर खाद्यवस्तु उत्पादन र अतिरिक्त आम्दानीको अवसर पाएका छन्।
सहव्यवस्थापक मञ्जु लिम्बूका अनुसार सहकारीको लक्ष्य महिलालाई आर्थिक रूपमा मात्र होइन, सामाजिक रूपमा पनि सशक्त बनाउनु हो। ‘महिलाले आफ्ना कुरा निर्धक्कसँग राख्न, समूहमा नेतृत्व गर्न र आफ्ना अधिकारबारे सचेत हुन थालेका छन्। यही परिवर्तन हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,’ उनी बताउँछिन्।
आज एन्जेलिया महिला कृषि सहकारी एउटा वित्तीय संस्थामात्र होइन, ग्रामीण महिलाको सपना, आत्मविश्वास र परिवर्तनको साझा चौतारी बनेको छ। बचतको सानो बानीबाट सुरु भएको यात्रा अहिले उद्यमशीलता, नेतृत्व र आत्मनिर्भरताको अभियानमा रूपान्तरण भएको छ।
सहकारीले विपत्मा पनि सारथिको काम गर्ने गरेको छ। गत वर्ष इलाममा भएको बाढीपहिरोका पीडितलाई टेवा काठमाडौंसँगको सहकार्यमा अति प्रभावित २५ घरपरिवारलाई १८ हजारका दरले राहत वितरण गरेको अध्यक्ष खड्काले बताइन्। टेवाले संस्थाको दिगो विकासको लागिसमेत भरथेग गरिरहेको उनले बताइन्।
गोर्खेका धेरै महिलाका लागि यो सहकारी केवल रकम जम्मा गर्ने ठाउँ होइन, आफ्नो भविष्य निर्माण गर्ने भरोसाको संस्था बनेको छ। ग्रामीण महिलाको सशक्तीकरणमा यस्तो पहलले स्थानीय विकासलाई नयाँ गति दिएको छ भने महिलाको आत्मनिर्भर यात्रालाई अझ बलियो बनाइरहेको छ। सूर्योदयमा महिला पशुपतिनगर कृषि बहुउद्देश्यीय सहकारी, महिला सिर्जना, महिला मनकामनालगायतका सहकारीले महिलाको आर्थिक र सामाजिक क्षेत्रमा नेतृत्व क्षमता वृद्धि गर्ने लक्ष्यसहित काम गरिरहेका शाखा अधिकृत ढकालले बताए। चिया दुग्ध, कृषिसहितका विषयगत क्षेत्रमा खुलेका सहकारीले किसानको आर्थिक विकासमा सहयोग गरेको ढकालको भनाइ छ।
स्वास्थ्य र सुविधामा सहकारी अभ्यास
सहकारीहरूले स्वास्थ्य सेवा र सुलभ सेवामा गरेको लगानी इलामका लागि नौलो र प्रभावकारी अभ्यास बनेको छ। आदर्श बहुउद्देश्यीय सहकारी संस्था यसको ज्वलन्त उदाहरण हो। संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदीप श्रेष्ठ भन्छन्, ‘सहकारी सेयर सदस्यको सहारा बन्न सक्नुपर्छ भन्ने मान्यताका साथ अघि बढ्दामात्र सहकारी र सदस्यको प्रगति एकसाथ हुन्छ।’
आदर्श बहुउद्देश्यीयले स्वास्थ्य सेवामा गरेको कार्य सम्भवतः इलाममै पहिलो हो। संस्थाले सञ्चालन गरेको पोलिक्लिनिकमार्फत सेयर सदस्यमात्र होइन, आम नगरवासीले २४ घण्टा सेवा पाइरहेका छन्। एमबीबीएस डाक्टरद्वारा प्रदान गरिने जनरल फिजिसियन सेवाले स्थानीयस्तरमै स्वास्थ्य उपचारलाई सुलभ बनाएको छ।
यतिमात्र होइन, सहकारीहरूले सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै जोड दिएका छन्। नेपाल पत्रकार महासंघ इलाम शाखासँगको सहकार्यमा पत्रकार र उनका परिवारलाई ल्याब र भिडियो एक्स—रेमा १० प्रतिशत छुट दिने व्यवस्थाले सहकारीको सामाजिक भूमिका प्रस्ट पारेको छ। महासंघका अध्यक्ष भीम चापागाईं भन्छन्, ‘संकटको समयमा अग्रपंक्तिमा खटिने सञ्चारकर्मीका लागि सहकारीले गरेको यो सहयोग सराह्रनीय छ।’
सहकारीले अन्य सुविधाहरूमा पनि हात हालेको छ। हवाई सेवाः आन्तरिक उडानमा पाँच सय र अन्तर्राष्ट्रिय उडानमा दुई हजार रुपैयाँसम्मको छुटको प्रबन्धसमेत गरेको श्रेष्ठले बताए। अस्पताल सहकार्यः झापाको ओमसाई अस्पताललगायतका स्वास्थ्य संस्थासँगको सहकार्यमा २० प्रतिशतसम्म छुटको प्रबन्ध गरेको छ। डिजिटल पहुँचका लागि सहकारीले ‘एक घर एक ल्यापटप’ योजनामार्फत प्रविधिमा पहुँच विस्तारको प्रयास गरेको छ।
सहकारीले आफ्ना सदस्यको चाहनाअनुसार सुविधाका योजना ल्याएका छन्। सुनगाभा बचत तथा ऋण सहकारीले मार्ट सञ्चालनमा ल्याएको छ। अन्य सहकारीले पनि सहकारी पसलदेखि उद्योग प्रवद्र्धनसम्म सहयोग गरेको शाखा प्रमुख गुरुङ बताउँछन्। कतिपयले जन्मँदादेखि मृत्युसम्मका सेवा प्याकेज चलाएका छन्। यसले सहकारीप्रति सदस्यको आकर्षणसमेत बढाएको सेयर सदस्यहरू बताउँछन्।
सरकारी नीतिको चेपुवामा सहकारी
सहकारीले अर्थतन्त्रमा पारेको सकारात्मक प्रभाव एकातिर छ भने अर्कोतिर नीतिगत अस्पष्टता र झमेलाहरूले सहकारी क्षेत्रलाई थप चिन्तित बनाएको छ। सुनगाभा बचत तथा ऋण सहकारीका अध्यक्ष गोपाल पौडेल भन्छन्, ‘सहकारीले सरकारको राजस्वमा पनि दह्रो भरथेग गरेको छ, तर सरकारी नीतिले सहकारीलाई निचोर्ने काम गरिरहेको छ।’
उनको बुझाइमा, पटक–पटक परिवर्तन हुने र कक्र्याउने प्रकृतिका सरकारी नीतिले गर्दा कतिपय सहकारी संकटमा परेका छन्। सहकारी ऐन, नियम र अनुगमनका क्रममा अपनाइने कठोर प्रशासनिक शैलीले सहकारीको गतिशीलतामा बाधा पुर्याएको सञ्चालकहरूको गुनासो छ।
नेपालको संविधानले सहकारीलाई सार्वजनिक र निजी क्षेत्रसँगै राष्ट्रिय अर्थतन्त्रको तेस्रो खम्बाका रूपमा संवैधानिक मान्यता दिएको छ। विशेषगरी वित्तीय पहुँच नपुगेका सीमान्तकृत समुदायलाई आर्थिक मूलप्रवाहमा ल्याउन र उद्यमशीलताको विकास गर्न सहकारी अभियानले विगत दशकहरूमा उल्लेख्य भूमिका निर्वाह गरेको छ। सहकारीको मुख्य शक्ति यसको ‘सामुदायिक संरचना’ हो।
नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी महासंघका तथ्यांकअनुसार, सहकारीले दुर्गम भेगमा समेत बचत तथा ऋणको सञ्जाल विस्तार गरी वित्तीय पहुँच बढाएका छन्। यसले परम्परागत साहु–महाजनको चंगुलबाट सर्वसाधारणलाई मुक्त गर्न सघाएको छ।
सरकारी अध्ययन समितिहरूको निष्कर्ष छ ‘स्थानीयस्तरमा संकलित स–साना बचतलाई सोही क्षेत्रको कृषि, साना तथा मझौला उद्योगमा लगानी गर्ने अभ्यासले स्थानीय पुँजी निर्माणमा योगदान पुर्याएको छ।’
स्वास्थ्य, शिक्षा र सरसफाइमा सहकारीको लगानीले ग्रामीण क्षेत्रमा सामाजिक सुरक्षाको आधार खडा गरेको छ। साथै, महिला सहभागिताले सहकारीलाई समावेशी बनाएको सरकारी तथ्यांकले देखाउँछ। यद्यपि, सहकारी क्षेत्रको तीव्र विस्तारसँगै यसमा देखा परेका विकृति र सुशासनको अभावले सिंगो अभियान नै संकटमा परेको छ।
‘सहकारी छानबिन विशेष समिति’ र विभिन्न अध्ययन प्रतिवेदनले सहकारीमा वित्तीय अपचलन, व्यावसायिक सुशासनको अभाव र घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा अस्वस्थ लगानी भएको देखाएका छन्। विशेषगरी बचतकर्ताको रकम हिनामिना र ऋण असुलीमा देखिएको अक्षमताले विश्वासको संकट गहिरिएको छ।
संघीय संरचनामा सहकारीको नियमन र अनुगमन गर्ने संयन्त्र कमजोर छ। तीनै तहका सरकारबीच समन्वयको अभाव र अनुगमन गर्ने दक्ष जनशक्तिको कमीले समस्याग्रस्त सहकारीलाई समयमै सुधार गर्न नसकिएको विज्ञहरूको निष्कर्ष छ।
सहकारीका सञ्चालकहरूमा राजनीतिक दलको प्रत्यक्ष संलग्नता वा संरक्षण रहने प्रवृत्तिले गर्दा गलत कार्य गर्नेलाई कानुनी कारबाही गर्न जटिलता थपिएको छ। राजनीतिक पहुँचका आधारमा ऋण प्रवाह हुने र त्यसको असुली नहुने समस्याले सहकारीहरू ‘तरलता संकट’ को चपेटामा परेका छन्।
‘सहकारी ऐन, २०७४’ को कार्यान्वयनमा अस्पष्टता र स्थानीय तथा प्रदेश सरकारको नियमन क्षमतामा कमीले सहकारीलाई व्यावसायिक र पारदर्शी बनाउन बाधा पुर्याएको छ।
अवसर र भविष्यको बाटो
इलाममा सहकारीका लागि अझै पनि कृषि प्रशोधन, पर्यटन पूर्वाधार र डिजिटल अर्थतन्त्रमा ठूलो अवसर छ। यदि सरकारले सहकारीमैत्री नीति ल्याउने, अनुगमनलाई सहजीकरण गर्ने र व्यावसायिक तालिमहरू प्रदान गर्ने हो भने सहकारी क्षेत्रले इलामको आर्थिक विकासमा ‘गेम चेन्जर’ को भूमिका निर्वाह गर्न सक्छ।
प्रतिक्रिया दिनुहोस !