लापसे गरेर सवारीसाधन चलाउने १० चालक पक्राउ
विराटनगर : लागुपदार्थ सेवन (लापसे) गरेर सवारीसाधन चलाउने चालकविरुद्ध मोरङ प्रहरीले विशेष अभियान सञ्चालन गर्दै १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये नौ जना सिटी सफारी चालक र एक जना मोटरसाइकल चालक रहेका छन् ।
मंगलबार अपरान्ह ४ बजेदेखि ५ बजेसम्म विराटनगर महानगरपालिका–१६ को हुलास चोकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विशेष चेकजाँच गरेको थियो । चिकित्सकको उपस्थितिमा लापसे परीक्षण किट प्रयोग गरी गरिएको परीक्षणमा १० जना चालकको रिपोर्ट पोजिटिभ आएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
पक्राउ परेका सबै चालकलाई सम्बन्धित सवारीसाधनसहित इलाका प्रहरी कार्यालय रानीमा राखेर इन्सपेक्टर प्रवीण घिमिरेको नेतृत्वमा अनुसन्धान सुरु गरिएको छ । उनले पछिल्लो समय लापसे तथा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विशेष चेकजाँचलाई निरन्तरता दिइएको बताए ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले मापसे वा लापसे गरेर सवारीसाधन चलाउने जोसुकैलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन् । उनले यस्ता गतिविधिका बारेमा जानकारी भएमा नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा तत्काल सूचना दिन सर्वसाधारणलाई आग्रह गरेका छन् । दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई प्रभावकारी बनाउन चालक लक्षित चेकजाँच अभियान नियमित रूपमा सञ्चालन गरिने जानकारी एसपी कटवालले दिए ।
प्रतिक्रिया दिनुहोस !