यो सरकार मुर्दावाद होइन, जिन्दावाद हो : सांसद रचना खतिवडा
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले कुनै पनि पार्टी एकै पटक परिपक्व हुन नसक्ने बताएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सा.सद खतिवडाले जनताको विश्वास र भरोसाले मात्रै पार्टी बलियो भन्दै जाने बताइन् । उनले विडम्बना यो सरकारलाई बलियो बनाउने होइन, कसरी गिराउने भन्नेतिर लागिरहेको देखिएको बताएकी छन् ।
उनले देशको गृहमन्त्री, शहीद र घाइतेहरुलाई न्याय दिलाउँछु, देशका जनताको हितमा काम गर्छु भनेर आउँदै गर्दा सदनमै धरधरी रुने पारिएको बताइन्। जेनजी शहीद रसिक खतिवडाकी आमा समेत रहेकी सांसद खतिवडाले एउटा लाशमाथि राजनीति गरेर कराउने गरिएको समेत बताइन् । उनले ४२ जना निर्दोष बच्चाहरुलाई गोली हानेर मार्ने आदेश दिँदा विपक्षी दलका सांसदहरुको बोली कहाँ कड्किएको थियो भन्दै प्रश्न समेत गरिन ।
उनले जेनजी आन्दोलनका घाइतेहरु दिनमा चार–पाँच वटा पेनकिलर खाँदा पनि पीडा सहन नसकेर सुसाइड गर्ने अवस्थामा पुगेको बताइन् । उनले प्रश्न गरिन्, ‘त्यो बेला यिनका बोली किन बन्द भएको छ ? ३५ वर्षदेखिएको भ्रष्टाचारको जालो निकाल्न भनेर जनताले पठाएका गृहमन्त्री रुन किन वाध्य बनाइन्छ ?’ उनले सरकारविरुद्ध संसदमै मुर्दावादको नारा लगाइने गरेको बताउँदै भनिन्, ‘यो सरकार मुर्दावाद होइन, जिन्दावाद हो ।’
प्रतिक्रिया दिनुहोस !